नेपाली जनप्रगतिशील मोर्चा साउदी र यूएईद्वारा नेकपा नेता कञ्चनको गिरफ्तारीको निन्दा र भत्र्सना

रिहाइका लागि दबाब दिन माघ १० गते आयोजित नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई हार्दिक अपिल

नेपाली जनप्रगतिशील मोर्चा साउदी र यूएईद्वारा नेकपा नेता कञ्चनको गिरफ्तारीको निन्दा र भत्र्सना

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा साउदी र यूएईले नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीको तीव्र निन्दा एवम् भत्र्सना गर्दै अविलम्ब बिनासर्त रिहाइको माग गरेका छन् । तीनै देशका मोर्चाद्वारा जारी बेग्लाबेग्लै विज्ञप्तिमा नेकपा नेताहरूको रिहाइको माग गर्दै नेकपाद्वारा यही माघ १० गतेका लागि घोषित नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई हार्दिक अपिल गरिएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा साउदीका अध्यक्ष कसम मगर र महासचिव टीकाराम ओली ‘सुरेश’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत ब्युरो सदस्य क. कुमाल, क. विशाललाई पार्टी कामको सिलसिलामा ललितपुरबाट सामाजिक फासिवादी सत्ताको गैरन्यायिक गिरफ्तारीको घोर भत्र्सना गर्दछौँ । दलाल फासिवादी सत्ताको दोधारे कार्यले केवल एकातिर वार्ताको हौवा देखाउनु, अर्काेतिर नेता र कार्यकर्ता गिरफ्तार गर्ने कार्यले हाम्रो गौरवशाली सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा साउदी अत्यन्तै आक्रोशित भएको छ । दलाल राज्यसत्ताको उक्त कार्यको भत्र्सना गर्दै सम्पूर्ण नेता–कार्यकर्ताको यथाशीघ्र रिहाइको जोरदार माग गर्दछौँ । भारतीय सम्राज्यवादको खुलेआम हस्तक्षेप दिनदहाडै बढ्नु, हाम्रो सगरमाथासम्म दाबी गर्नु, एकातिर केपी–बादलको प्रत्यक्ष आदेशमा क्रान्तिकारीहरूलाई बिनाकारण गिरफ्तार गरेर झूट्टा मुद्दा लगाउने दुस्साहसले देशमा लेन्डुपको खतरा भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल राज्यको उक्त कार्यको काउन्टर दिन अति आवश्यक भएको ठहर गर्दै हाम्रो माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीले प्रभावशाली नेतासहितको गिरफ्तारीविरुद्ध चालेका सम्पूर्ण सङ्घर्ष कार्यक्रममा ऐक्यबद्धता जनाउँदै माघ १० गतेको नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनसमुदायलाई पनि हार्दिक अपिल गर्दछौँ ।’

त्यसैगरी नेपाली प्रगतिशील मोर्चा यूएईका अध्यक्ष मनोज काउचा मगर र महासचिव अर्जुन खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश अहिले नितान्तै गम्भीर मोडमा गुज्रिरहेको छ । क्रान्ति र प्रतिक्रान्तिका बीच, नेपाली जनता र दलाल, फासिवादी सरकारका बीचमा आमनेसामनेको सङ्घर्ष चलिरहेको छ । वली सरकारले एकातिर संसद् भङ्ग गरेर एकलौटी अधिनायकवादी चरित्र प्रदर्शन गरिरहेको छ भने अर्काेतिर विश्वसर्वहारा वर्गको अग्रदस्ता नेकपाका नेता–कार्यकर्तालाई धरपकडको सिलसिला सुरु गरिसकेको छ । वली सरकारले ललितपुरको बागमती गाउँपालिकाबाट नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख कमरेड धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहित कमरेड विवेक कुमाल र कमरेड विश्वासलाई गिरफ्तार गरेको घटनाप्रति नेपाली जनप्रगतिशील मोर्चा यूूएईको गम्भीर ध्यानाकर्षण भएको छ । यस कायरतापूर्ण कदमको चौतर्फी विरोध सिर्जना गर्न आमपरिवर्तनशील नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । साथै गिरफ्तारीमा परेका आस्थाका मान्छेहरूलाई बिनासर्त रिहा गर्न वली सरकारसँग नेपाली जनप्रगतिशील मोर्चा यूएई जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :