नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू – पुष्पलाल श्रेष्ठ, संस्थापक नेता, नेकपा

हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबीचको अन्तरविरोध, पुँजीपति वर्ग र सामन्ती वर्गबीचको अन्तरविरोध, पुँजीपति वर्ग र मजदुर–किसान वर्गबीचको अन्तर्विरोध, धनी किसान र मध्यम वर्गीय किसानबीचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्न खालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् ।

नेपालमा आज देखापरेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा कुनै परिवर्तन ल्याउन सकेन । २००७ सालको क्रान्ति ‘ दिल्ली सम्झौता’ को कारणले गर्दा असफल रह्यो । अतः नेपालको ऐतिहासिक स्थितिलाई हेर्दा आज पनि हाम्रो समाजको मूल अन्तरविरोध १) साम्राज्यवादको साथै भारतीय एकाधिकार पुँजीवाद र नेपाली जनताको बीच तथा २) सामन्तीशाही हुकुमी पञ्चायती व्यवस्था र अन्य तमाम जनवादी क्रान्तिपक्षीय जनसमुदायबीच गौण छ । आज यो मुख्य अन्तरविरोध शत्रुतापूर्ण र अन्य समस्त अन्तर्विरोधहरू गौण अर्थात् सामान्य भएर गएका छन् । प्रत्येक सामान्य अन्तर्विरोधको वर्गस्थितिअनुसार भिन्नभिन्न भूमिका हुनसक्छ । तर एउटै स्थितिमा र एउटै समयमा मुख्य र राणाशाही विरोधी जनसमुदायको अन्तर्विरोध मुख्य थियो र राजतन्त्र तथा जनताबीचको अन्तर्विरोध गौण अर्थात् सामान्य भएर गएको थियो । तर त्यसबेला पनि राजतन्त्रसित सामान्य अन्तर्विरोध थियो र साथै अन्य सामान्य अन्तर्विरोधहरू पनि थिए । २००७ सालको क्रान्तिपछि राजतन्त्र सामन्ती शोषक व्यवस्थाको पृष्ठपोषक राजतन्त्र र जनताबीचको अन्तर्विरोधले आज मुख्य अन्तर्विरोधको रूप लिएको छ । यसले गर्दा पुँजीवादी जनवादी पक्षमा उभिने नेपालको पुँजीपति वर्ग तथा अन्य निम्न पुँजीवादी वर्ग र मजदुर किसानबीचको अन्तर्विरोधहरू आज गौण अर्थात् सामान्य भएर गएका छन् ।

नेपाली जनताको मुख्य दुस्मन सामन्ती शाही हुकुमत र यसले ल्याएको सामन्ती पञ्चायती व्यवस्था, विदेशी एकाधिकार पुँजीवाद, खासगरी भारतीय एकाधिकार पुँजीवाद तथा साम्राज्यवादलाई ध्वंस गरी देशमा नयाँ जनवादी व्यवस्थाको स्थापनाद्वारा नयाँ तथा स्वतन्त्र नेपालको निर्माण गर्न क्रान्तिका मित्रशक्ति र विरोधी शक्तिको लेखाजोखा हुनु आवश्यक हुन्छ । यसका निम्ति मूल अन्तर्विरोध र सामान्य अन्तर्विरोधहरूको फरकको रेखा खिच्नु आवश्यक हुन्छ । यसैको आधारमा क्रान्तिका मित्र र विरोधी वर्गलाई छुट्ट्याउनु पर्दछ । अन्यथा नयाँ जनवादी क्रान्तिलाई नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिलाई खतम गरी नयाँ जनवादी नेपालको निर्माण हुन सक्दैन । हाम्रो समाजमा रहेका सामान्य अन्तर्विरोधहरू र मुख्य अन्तर्विरोधलाई राम्रोसित चिन्न सकेमा मात्र क्रान्तिका मित्र तथा विरोधी शक्तिलाई पनि चिन्न सकिन्छ । अनि क्रान्तिमा ती तमाम मित्र शक्तिहरूलाई सामेल गर्ने कार्यक्रम र कार्यनीति सञ्चालन गर्न सकिनेछ ।

हाम्रो क्रान्ति देशीय सामन्तवाद, साम्राज्यवाद तथा विदेशी पुँजीवादका विरुद्ध हुने भएकाले यो नयाँ किसिमको पुँजीवाद क्रान्तिको एक अङ्ग हुन्छ । यसले गर्दा हाम्रो क्रान्तिलाई समाजवादी राष्ट्रमण्डल र अन्तर्राष्ट्रिय समाजवादी मजदुर आन्दोलनको समर्थन प्राप्त हुनेछ । त्यसका साथै नवजात राष्ट्रहरूको जनवादी आन्दोलन र औपनिवेशिक देशका मुक्ति आन्दोलनहरूको पनि समर्थन प्राप्त हुनेछ ।
अतः नयाँ जनवादी क्रान्तिको सफलताका लागि हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रान्तिका विरोधी तथा मित्र शक्तिको सही विश्लेषण नगरी क्रान्तिलाई सफल गर्न सकिन्न । क्रान्तिको लक्ष्य ठम्याई त्यसअनुरूपको कार्यक्रम प्रस्तुत गरेपछि आजको हाम्रो समाजमा देखा परेको उल्लिखित अन्तर्विरोधहरूको सही समझदारीका आधारमा त्यस कार्यक्रमको पक्ष र विपक्षमा ज्यानको बाजी लगाउने वर्गशक्तिहरूको सही लेखाजोखा हुनु अनिवार्य हुन्छ । यो वर्गविश्लेषण नै सामन्ती शाही हुकुमतको विरोधमा लड्ने व्यापक जनवादी मोर्चाको आधार पनि हुनेछ ।

क) राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी क्रान्तिका विरोधी शक्तिहरू

१ सामन्ती भूमिपति वर्ग ः नयाँ जनजादी क्रान्ति किसानलाई जमिनको मालिक बनाउने क्रान्ति भएको हुँदा जमिनको माध्यमद्वारा किसानको शोषण गर्ने सम्पूर्ण सामन्तहरू वर्गको हैसियतले यस क्रान्तिका मुख्य विरोधी हुनेछन् । नयाँ जनवादी क्रान्ति विरोधीको हातबाट राज्यसत्ता खोस्नका साथै उनीहरू राजनीतिक अधिकारबाट पनि वञ्चित हुँदा उनीहरू यस क्रान्तिका कट्टर दुस्मन हुनु स्वाभाविकै हो । हाम्रो देशमा सामन्ती वर्गको धेरै तह भए पनि यसलाई मुख्य रूपले दुई तहमा बाँड्न सकिन्छ ः एक तह जमिनदेखि टाढा बसी कुनै प्रकारले पनि जमिनको हेरचाह नगरी केवल जमिनको आयस्ताबाट खाने र अर्को गाउँठाउँमा बसी जमिनको पनि हेरचाह गर्दै जमिन र त्यसको भरमा अन्य प्रकारका शोषणसमेत गरी आयस्ता खाने ।

पहिलो खालका सामन्तहरूमा पहिले र अहिलेका भाइभारदार, शाही गुरुपुरोहित, बाइसे तथा चौबिसे राजाका सन्तान आदि मुख्य रूपले आउँछन् । सामन्तको यो तप्का सबभन्दा धनी, पठित र अन्तर्राष्ट्रिय प्रतिक्रियावाद तथा साम्राज्यवादसँग सम्पर्क भएको हुँदा यो तह मुख्य रूपले नयाँ जनवादी क्रान्तिको विरोधमा राजालाई आड दिँदै आएको छ । राजधानीमा बस्ने र किसानको शोषण गर्नमा प्रत्यक्ष रूपले देखा नपर्ने हुँदा सामन्ती वर्गको यस तप्काको वर्गीय चरित्रप्रति राजनीतिकचेतनाको अभावले गर्दा किसान र अन्य जनतामा ठूलो भ्रम छ । क्रान्तिको विजयका लागि यो भ्रमलाई हटाउनु नितान्त आवश्यक छ ।

इ ल ा क ा म ा बसी जमिनको हेरचाह नगरी गरिब किसानको शोषण गर्ने सामन्तहरूले ज िम न क ा े आयस्ता खानुका साथै रुपैयाँपैसा ब्याजमा लगाई बेठबेगारी लिई जालीफट्याइँ काम गरी मुद्दा बोकी किसान जनताको शोषणमा प्रत्यक्ष रूपले हिस्सा लिने हुँदा सामन्ती वर्गको यो तप्का पनि नयाँ जनवादी क्रान्तिको ज्यानी दुस्मन हुनुका साथै शोषकका रूपमा देखालो भइसकेको छ । नयाँ जनवादी कार्यक्रमअनुसार धर्मका नाममा गरिने शोषण खारेज गरिने हुँदा पेसागत धर्माधिकारीहरू, जस्तै ः गुरुपुरोहित, पुजारी भन्ते, सन्त, महन्थ, मुल्ला, मौलबी, पादरी आदि उच्चस्तरीय व्यक्तिहरू सामन्ती व्यवस्थाका दार्शनिक प्रतिनिधिका रूपमा देखा पर्दै आएका हुँदा क्रान्तिका विरोधी हुनेछन् । आजको सामन्ती व्यवस्थामा हिन्दु साम्प्रदायिक तत्वहरूको सबभन्दा बढी बोलवाला भएको हुँदा यसका धर्माधिकारीहरू क्रान्तिका विरुद्ध सबभन्दा अगाडि लाग्नेछन् ।

२) साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीवादपरस्त र जमिनसँग घनिष्ट सम्बन्ध भएका नेपाली पुँजीपतिहरू ः

नेपालमा विदेशी पुँजीको लगानी उद्योगधन्दा, बन्दव्यापार, औद्योगिक कर्पोरेसन, आदिमा भएको हुँदा हाम्रो देशको पुँजीपति वर्गको एक तप्काको स्वार्थ विदेशी पुँजीसँग गाँसिएको छ । हाम्रो क्राान्तिको लक्ष्य सामन्तवादलाई विरोधी र विदेशी पुँजीवादविरोधी भएको हुँदा यो नयाँ जनवादी क्रान्तिको मित्र नभई विरोधी नै हुनेछ । भारतीय पुँजीवादपरस्त एक स्तर धेरै दशकदेखि नेपालमा भएको र पहिले पनि देशमा भारतीय पुँजीको लगानी नै सबभन्दा बढी भएको हुनाले भारतीय एकाधिकार पुँजीपरस्त नेपाली पुँजीपतिको तप्का क्रान्तिको विरोधमा खडा हुनेछ । फेरि नेपालका यी पुँजीपतिहरूको सम्बन्ध सामन्ती भूमि व्यवस्थासँग टुटिसकेको छैन । गत किसान आन्दोलनको दौरानमा भूमिसँग घनिष्ट सम्बन्ध भएका पुँजीपतिहरू विशेष रूपले आन्दोलनको विरुद्ध लाग्दै आएका छन् । अतः नेपालको पुँजीपति वर्गको यो तप्का क्रान्तिको विरुद्ध हुनेछ ।
आज हाम्रो देशको विभिन्न सेवामा काम गर्ने व्यक्तिहरूको सङ्ख्या लगभग एक लाख छ । यसमध्ये कतिपय उच्च ओहोदामा छन् र कतिपय विभिन्न राष्ट्रहरूका मिसनमा काम गर्दैछन् । यस्ता उच्चस्तरीय व्यक्तिहरू अधिकांशतः सामन्ती तथा पुँजीवादी घरानाका हुने हुँदा उनीहरूको दृष्टिकोण प्रतिक्रियावादी हुन्छ । फेरि आज उनीहरूलाई ठूलो सुविधा प्राप्त भएको र भ्रष्टाचारमा लागी प्रशस्त धन कमाउने मौका पनि प्राप्त भएको हँुदा त्यस्ता व्यक्तिहरू पनि क्रान्तिको विरोधमा लाग्नेछन् ।

३– सामाजिक कुवेशनको एक स्तर

देशको सामन्ती शोषणको लामो प्रक्रियाले सहर र गाउँ देहात दुवै ठाउँमा भीषण रूपले बेकारीको समस्या ल्यायो । बेकारमध्ये कतिपय प्रवासमा लागे पनि धेरैजसो देशमा नै रहे । तिनीहरूमध्ये एक स्तरलाई वैध उपायले काममामबाट वञ्चित गरिएको हुनाले तिनीहरू सामाजिक कुवेशनमा लाग्न बाध्य भए । त्यसको परिणामस्वरूप समाजमा चोर, डाँका, ठग, लुच्चा, हुल्याहा, मगन्ते, वेश्या आदि उत्पन्न भए । समाजमा देखिने यो स्तरको उक्त तप्कालाई प्रतिक्रियावादीहरूले सदैव क्रान्तिको विरोधमा प्रयोग गर्दै आएका छन् । आज यस्ता तत्वहरूलाई विशेष रूपले अमेरिकी साम्राज्यवादी सी.आई.ए.का मानिसहरूले क्रान्ति विरोधी कार्यमा सङ्गठित गर्दैछन् । तसर्थ कुवेशनमा लाग्नेमध्येको यस्तो स्तर क्रान्तिको विरोधमा जानसक्ने हुँदा यो स्तर पनि क्रान्तिको विरोधी हुनेछ ।

ख) अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी क्रान्तिका विरोधी शक्तिहरू

१– नयाँ जनवादी क्रान्तिले साम्राज्यवाद तथा विदेशी पुँजीलाई प्रहार गर्ने हुँदा र नेपालमा उनीहरूको सामाजिक आधारलाई समाप्त गर्ने हुँदा साम्राज्यवाद तथा अन्तर्राष्ट्रिय पुँजीवाद हाम्रो क्रान्तिको ज्यानी दुस्मनका रूपमा देखा पर्नेछ । त्यसमध्ये भारतीय एकाधिकार पुँजीवादले नेपालको बन्दव्यापार तथा उद्योगहरूमा सबभन्दा धेरै पुँजी लगानी गरेको छ । २०११ सालसम्ममा खुलेका १३०० औद्योगिक संस्थानहरूमा सबभन्दा धेरै लगानी भारतीय एकाधिकार पुँजीको नै छ । फेरि अचेल उनीहरूले नेपाली साइनबोर्डका आधारमा बन्दव्यापार तथा उद्योगधन्दालाई कब्जा गर्न थालेका छन् । अतः अन्तर्राष्ट्रिय पुँजीवाद विशेषगरी भारतीय एकाधिकार पुँजी नेपाली क्रान्तिको सबभन्दा ठूलो विरोधी हुनेछ ।
२– अमेरिकी साम्राज्यवादले आज आर्थिक र सांस्कृतिक रूपले नेपालमा प्रवेश गरिरहेको छ । यो सक्रिय रूपमा राजनीतिक क्षेत्रमा पनि देखिन थालेको छ । यसले क्रमशः नेपालमा फौजी मिसन भित्र्याई नेपाललाई दक्षिणपूर्वी एसियामा एक महत्वपूर्ण कम्युनिस्टविरोधी अखडामा परिणत गर्ने उद्देश्य राखेको छ । अतः विश्व प्रतिक्रियावादका केन्द्रका रूपमा काम गरिरहेको अमेरिकी साम्राज्यवाद हाम्रो क्रान्तिको ठूलो दुस्मन हुनेछ ।
३– अङ्ग्रेजी साम्राज्यवादको प्रमुख स्वार्थ गोर्खा भर्ती भएको हुँदा र उसको पनि नेपाललाई कम्युनिस्टविरोधी अखडामा परिणत गर्ने नीति भएको हुँदा यो पनि हाम्रो क्रान्तिको विरोधी हुनेछ ।
४– आज मात्र होइन, राणाशाहीको पालादेखि नेपाल हिन्दु राज्य हुनुमा गौरव ठान्ने भारतीय हिन्दु साम्प्रदायिक तत्वहरूले नेपालको जनआन्दोलनको विरोध गर्दै आएका छन् । अहिले पञ्चायती व्यवस्थाका पक्षमा भारतमा जनमत तयार गर्नमा यस तत्वको पनि प्रमुख भूमिका छ । यस तत्वसित राजाको कस्तो सम्बन्ध रहेछ भन्ने कुरा उनीहरूको समारोहमा राजाद्वारा पठाइएको सन्देशले स्पष्ट गर्दछ । अतः भारतीय समाजको यो तप्का पनि हाम्रो क्रान्तिको विरोधमा हुनेछ ।
५– अफ्रो–एसियाली देशका प्रतिक्रियावादी शक्तिहरू पनि हाम्रो क्रान्तिको विरोधमा हुनेछन् ।

(ग) राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी क्रान्तिका शक्तिहरू

१– मजदुर वर्गको नेतृत्वदायी भूमिका :

“द्वितीय योजनाको अन्तिम वर्षमा विभिन्न विकास आयोजनमा काम गर्ने मजदुरको सङ्ख्या ५० हजार रहेको छ । तेस्रो योजनाको अन्त्यमा विकास कार्यका लागि करिब ३ देखि ४ लाख श्रमिक वर्ग चाहिएको अनुमान गरिएको छ ।” तेस्रो योजनाको भनाइअनुसार नेपालमा आधुनिक मजदुर वर्गको सङ्ख्या आज कम भए तापनि बढ्तो रफ्तारमा छ भन्ने कुरा सिद्ध हुन्छ । यसको साथै सहर तथा गाउँ देहातमा ज्यालामा काम गर्ने ज्यामीहरूको सङ्ख्या पनि कम छैन ।

मजदुर वर्गको सम्बन्धमा उन्नत उत्पादन व्यवस्थासँग भएको तर उत्पादनको साधनको मालिक नभएको हुनाले यो वर्गमा अनुशासन र सङ्गठनको भावना कुटकुट भरिएको हुन्छ । किसानको सङ्ख्याको तुलनामा यसको सङ्ख्या कम हुनु, पुँजीवादी देशको मजदुर वर्गको तुलनामा यसको सांस्कृतिक स्तर कम हुनु हाम्रो मजदुर वर्गमा देखा परेका कमजोरीहरू हुन् । नेपालको मजदुर वर्गमा यी कमजोरीहरू भए पनि नेपालको ऐतिहासिक स्थिति अर्थात् अर्धसामन्ती समाजको स्वरूपले गर्दा यस वर्गमा साधारण रूपमा पाइने मजदुर वर्गको गुणको साथै अन्य विशेष गुणहरू निहित छन् ।

नेपालको मजदुर वर्ग सामन्ती पुँजीवादी तथा साम्राज्यवादी शोषणले पीडित भएको हुँदा अन्य सबै वर्गहरूभन्दा यो वर्ग सबभन्दा दृढ र क्रान्तिकारी छ । नेपालमा आधुनिक मजदुर वर्गको प्रादुर्भाव हुनुका साथै उसको पार्टी नेपाल कम्युनिस्ट पार्टीको पनि गठन भयो र यसले पनि नेपालको राजनीतिमा महत्वपूर्ण स्थान प्राप्त भगरिसकेको छ । फेरि हाम्रा मजदुरहरू विशेषगरी सुकुमबासी गरिब किसानबाट आएका हुनाले मजदुर किसान एकतालाई सुगम गर्दछ । तसर्थ यसै वर्गको काँधमा इतिहासले नयाँ जनवादी क्रान्ति गर्ने अभिभारा दिएको छ ।

२. सुकुमबासी गरिब तथा मध्यम किसान हाम्रो क्रान्तिको मुख्य शक्ति र धनी किसान सहायक शक्ति हुन् :

हाम्रो देशमा जनसङ्ख्याको लगभग ९५ प्रतिशत किसान छन् । आजको अर्ध सामन्ती आर्थिक व्यवस्थाको मुख्य जग नै यिनै किसान हुन् । किसान भन्नाले खेती तथा कृषिमा आश्रित व्यक्ति नभइ जनताको त्यो समुदाय हो जसले खेती तथा कृषिको उत्पादनमा प्रत्यक्ष रूपले भाग लिन्छ । आज यस किसान समुदायमा मौलिक स्वरूपले भिन्नताको प्रक्रिया चलिरहेको छ । यसको मापदण्ड उत्पादन व्यवस्थामा उनीहरूको स्थान हो । यसै स्थान अनुसार उनीहरूको चेतनाको विकास हुने हुँदा नयाँ जनवादी क्रान्तिमा उनीहरूको भूमिका एकनासको नभै भिन्नभिन्न हुन्छ । यस अनुसार आज हाम्रो देशको किसान समुदाय सुकुमबासी, गरिब, मध्यम तथा धनी किसानमा विभक्त भएका छन् । किसान भन्नाले विशेषगरी सुकुमबासी, गोठाला, गरिब, तथा मध्यम किसानलाई सम्झनुपर्दछ । हाम्रो देशको एक करोड जनसङ्ख्यामा उनीहरूको सङ्ख्या कूल मिलाउँदा ९५ लाख भन्दा बढी हुन आउँछ । समाजको सम्पूर्ण बोध आज यसै वर्गको काँधमा भएको हुँदा हाम्रो क्रान्तिको मुख्य समस्या यिनीहरूकै समस्या हो ।

अ– गरिब तथा सुकुमबासी किसान मजदुर वर्गको सबभन्दा भरपर्दो स्वाभाविक मित्र शक्ति हो । यो झन्डै २० लाखभन्दा बढी छ । गाउँ देहातको अर्धसर्वहारा वर्ग यही हो । यो वर्ग जनवादी क्रान्तिको मुख्य दस्ता हो र चरित्रको दृष्टिकोणले पनि मजदुर वर्गको सबभन्दा भरपर्दो सहयोगी हो । यसै वर्गमा गोठाला काम गर्ने गोठाला र गाउँ बजारमा काम गर्ने हरूवा–चरुवा तथा गोठालाहरू पनि समावेश हुन्छन् । यस तप्काका किसान अन्य गुणको साथै दुई विशेष प्रकारका गुणहरू विद्यमान छन् । प्रथमतः कबिला समाजबाट आएका हुनाले उनीहरूमा स्वभावतः जनवादी भावना हुन्छ । अर्को विशेषगरी यसै तप्काबाट विदेशमा भर्ती भै देश विदेश खाई शेष भएका हुनाले उनीहरूको दृष्टिकोण सङ्कुचित नभै व्यापक हुन्छ । यी दुवै गुणहरू जनवादी क्रान्तिको निम्ति विशेष रूपले उपयोगी हुन्छन् । यस तप्काका महिला किसानहरूमा सामाजिक बन्धन अति कम हुने हुनाले उनीहरू पनि आन्दोलनमा विशेष रूपले हिस्सा लिन्छन् ।

आ– मध्यम वर्गीय किसान पनि क्रान्तिको भरपर्दो शक्ति ः हाम्रो देशमा मध्यम वर्गीय किसानको सङ्ख्या लगभग २५ लाख छ । यसले सामान्य रूपमा अन्य किसानको शोषण गर्दैन । आफ्नो परिवार तथा पाखुरे बलका आधारमा खेतीपाती गर्दछ । सुखा परेमा उनीहरूको स्थिति खराब हुन्छ । वृष्टि भएमा दिन राम्रैसँग कट्छ । यसो भए तापनि सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवादको शोषण तथा मारले गर्दा यो वर्ग नित्य पीडित नै रहन्छ । आजको पञ्चायती व्यवस्थामा पनि यो वर्गलाई कुनै विशेष सुविधा प्राप्त छैन । आर्थिक तथा राजनीतिक दुवै दृष्टिकोणले यो वर्ग शोषित छ । यो नयाँ जनवादी क्रान्तिको पक्षमा मात्र नभै दुवै दृष्टिकोणले यो वर्ग शोषित छ । यो नयाँ जनवादी क्रान्तिको पक्षमा मात्र नभै समाजवादलाई पनि अङ्गिकार गर्न तयार हुन्छ । अतः यो पनि मजदुर वर्गको भरपर्दो सहयोगी हो ।

इ– दोहोरो चरित्रका बाबजुद धनी किसान जनवादी क्रान्तिको मित्रशक्ति ः हाम्रो देशमा धनी किसानको सङ्ख्या कुल आजादीको ३ प्रतिशत अर्थात् तीन लाखभन्दा केही बढी छ । यो नै कृषिको पुँजीपति हो । यस वर्गमा दोहोरो चरित्र पाइन्छ । उनीहरूमध्ये एकथरी सामान्य किसानसरह नै आफ्नो परिवारमार्फत खेतीपाती गर्दछन् । यस मानेमा उनीहरू किसानसरह नै हुन्छन् । अर्काथरी आफ्नो जमिन लगानमा दिन्छन्, खेतालाको शोषण गर्दछन् र ब्याजमा लगानी पनि गर्दछन् । यस मानेमा उनीहरू अर्धसामन्ती वर्गका रूपमा देखा पर्दछन् । यस्तो किसानको सङ्ख्या पहाडभन्दा तराईमा बढ्ता पाइन्छ ।

आज हाम्रो देशमा राजाले लागु गरिरहेको भूमिसुधारबाट विशेष फाइदा धनी किसान वर्गलाई प्राप्त भएको छ । हाम्रो क्रान्तिको लक्ष्य पुँजीवादी सम्पत्तिलाई समाप्त गर्ने नभएको र नयाँ जनवादी समाजमा पनि धनी किसानको व्यवस्थाको रक्षा गरिने हुनाले साम्राज्यवाद तथा विदेशी पुँजीवाद विरोधी सङ्घर्षमा यो वर्ग सहयोगी हुन र कृषि क्रान्तिमा तटस्थ भएर बस्न सक्छ । हामीले भरसक यो वर्गलाई क्रान्तिको पक्षमा ल्याउने प्रयत्न गर्ने नीति लिनु पर्दछ । त्यसो नभएमा यस वर्गलाई तटस्थ गराउने कोशिस गर्नुपर्दछ । यस वर्गलाई सहुलियत प्रदान गरी आफ्नो पक्षमा तान्न सामन्त वर्गको कोशिस भएको हुँदा यस वर्गप्रति हाम्रो नीति ज्यादै तौलिएको हुनुपर्दछ, अन्यथा हाम्रो जनवादी क्रान्तिलाई ठूलो नोक्सान पुग्नेछ ।

३– सहरबजारका मध्यम तथा न्यून मध्यम वर्ग जनवादी क्रान्तिका मुख्य सहायक शक्तिहरू ः
सहरबजारका मध्यम तथा न्यून मध्यम वर्गका शिक्षित समुदाय, खुद्रा व्यापारी, दस्तकार, कालीगढ, सेवामा लागेका न्यून वैतनिक कर्मचारी तथा कुवेशनमा लाग्न वाध्य भएका व्यक्तिहरू
आउँछन् । हाम्रो सम्पूर्ण सहरबजारको जम्मा ४ लाखको आवादीमा यिनीहरूको सङ्ख्या तीन लाखभन्दा बढी छ ।
यो मध्यम तथा न्यून मध्यम वर्ग सामन्तवाद, पुँजीवाद, साम्राज्यवाद तथा नोकरशाही प्रशासन यन्त्रको जाँतोमा पिसिएको हुनाले प्रतिदिन यसको स्थिति विग्रँदो छ । यो वर्ग विशेषगरी शोषण कार्यमा हिस्सा लाग्दैन । आफ्नो मेहनतमा खडा हुन्छ । यो नयाँ जनवादी क्रान्तिको सहयोगी शक्ति हुनाका साथै मजदुर वर्गको भरपर्दो साथी पनि हुन्छ ।

४– अ– शिक्षित समुदाय विशेषगरी माक्र्सवाद–लेनिनवादप्रति आकर्षित हुन्छन् :
शिक्षित समुदायमा विशेषगरी बुद्धिजीवी तथा विद्यार्थी जमात आउँछ । यो जमात कुनै एक वर्ग अथवा वर्गीय स्तर नभै शिक्षित समुदाय मात्र हो तर उनीहरूको पारिवारिक स्रोत, जीवनको स्थिति र स्वभाविक राजनीतिक दृष्टिकोण न्यून पुँजीवादी वर्गको हुन्छ । उनीहरू कमबेसी मात्रामा पँुजीवादी वैज्ञानिक ज्ञानले युक्त हुने हुँदा उनीहरू अन्धविश्वासी नभै तर्कशील हुन्छन् । माक्र्सवाद–लेनिनवाद सबभन्दा वैज्ञानिक र तर्कशील ज्ञान भएको हुँदा उनीहरू यसप्रति आकर्षित हुन्छन् । राजनीतिक विषयमा उनीहरू अति चाख लिन्छन् । यस समाजमा उनीहरू आफ्ना योग्यताअनुसार उन्नति गर्न पाउँदैनन् । यो वर्ग नातावाद र कृपावादको सबभन्दा बढी सिकार हुन्छ । यी सबै कारणले गर्दा यो समुदाय अक्सर सुरुमा जनवादी क्रान्तिको चेतना फैलाउने सङ्घर्षमा अग्रसर भएको पाइन्छ । तर पछि गएर छोड्न पनि सक्छ । यो कुरा हाम्रो देशमा पनि निर्विवाद रूपले लागू हुन्छ । नेपालको राजनीतिक आन्दोलनको इतिहासले यही कुरा भन्छ ।

जनवादी आन्दोलनको दौरानमा पुँजीवादी नेताहरूको राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय प्रतिक्रियावादीहरूसँग सम्झौतापरस्त नीतिको विरोध गरी यसले माक्र्सवाद–लेनिनवादी शिक्षा ग्रहण गर्दछ र यसको प्रचार गर्दछ । हाम्रो देशको अधिकांश विद्यार्थीहरू माक्र्सवाद–लेनिनवादप्रति आकर्षित छन् । कम्युनिस्टविरोधी भुकाइमा अग्रसर हुने प्रसिद्ध लेखक, शिक्षक तथा कलाकारहरूको सङ्ख्या कमै छ । तसर्थ यो बुद्धिजीवी वर्ग क्रान्तिको सहायक हुन्छ । संस्कृत पढ्ने विद्यार्थीहरू पनि विशेष रूपमा माक्र्सवादप्रति आकर्षित छन् । यहाँसम्म कि सामन्ती वर्गबाट आएका विद्यार्थीहरूको पनि विशेष झुकाव माक्र्सवाद–लेनिनवादप्रति नै देखिन्छ । यसरी यिनीहरूले माक्र्सवादी–लेनिनवादी शिक्षाको प्रचार सहरबजार तथा गाउँ देहातमा पु¥याउन ठूलो मद्दत गरेका छन् । शिक्षित समुदायको एक सुसङ्गठित दस्ताबिना क्रान्तिकारी आन्दोलनको सङ्गठन र सञ्चालन गर्न सकिन्न । यस कुरामा हामीले विशेष रूपले ध्यान दिनु पर्दछ ।

शिक्षित समुदायको एक सुसंगठित दस्ता तयार गर्न उनीहरूमा देखापर्ने सामान्य कमजोरीप्रति हामीले विशेष गरी ध्यान दिनुपर्छ । आन्दोलनको एक विशेष स्तरमा उठेपछि उनीहरूको न्यून पूँजीवादी दृष्टिकोण उम्लेर आउँछ । त्यसले गर्दा उनीहरूमा मनोवादी र व्यक्तिवादी भावनाहरू प्रवल रूपमा देखिन थाल्छन् । अतः सिद्धान्त र व्यवहारमा उनीहरूको बीचमा नित्य जोड नदिएमा उनीहरू क्रान्तिबाट अलग हुने सम्भावना पनि हुन्छ । हाम्रो देशमा शाही हस्तान्तरणपछि विशेष रूपले यही कुरा देखिन आयो ।

आ– न्यून वैतनिक कर्मचारीहरू पनि क्रान्तिका सहायक शक्तिहरू
न्यून वैतनिक कर्मचारी भन्नाले विभागीय सेक्सन अफिसरभन्दा मुनि विभिन्न सरकारी सेवामा लागेका कर्मचारी सम्झनुपर्दछ । उनीहरूको पेशा नौसिन्दागिरी, खरदारी आदि हुन्छ । उनीहरू शोषण कार्यबाट टाढै रहन्छन् । एक त उनीहरूलाई खोसुवा पुर्जीको डर सदैव रहन्छ भने अर्को योग्यता अनुसारको तलब तथा तरक्की दिइन्न । यसले गर्दा उनीहरूको जीवन सदैव यही सङ्कटपूर्ण रूपले गुज्रिरहेको हुन्छ । राणाशाहीको अन्तपछि यस समुदायले पनि आफ्नो हक र हितको निम्ति सङ्घर्षको परिचय दिइसकेको छ । अतः यो पनि हाम्रो क्रान्तिको सहायक शक्ति हो ।

इ– खुद्रा व्यापारी तथा दस्तकार कालिगढहरू पनि क्रान्तिका सहायक शक्ति खुद्रा व्यापारीहरूको स्थिति थोक व्यापारीहरूको शोषण, बजारिया होड र ब्याजले गर्दा नित्य डाँवाडोल रहन्छ । यसले गर्दा यो समुदाय सङ्घर्षशील भएर आएका छन् ।
दस्तकार अर्थात् कालिगढहरू जस्तै सिकर्मी, डकर्मी, कामी, कुमाले, जुलाहा, बाँडा, मुर्तिकार, सार्की आदिका उत्पादनका मध्ययुगीन साधनहरू हतियरहरू हुन्छन् । उनीहरू विशेष रूपले आफ्ना परिवारलाई उत्पादनमा लगाउँछन् ज्यालादारी मजदुरहरू विशेषगरी राख्दैनन् । उनीहरूको स्थिति प्रतिदिन खराब हुँदै जाँदैछ । यो समुदाय पनि सङ्घर्षशील भएर आएको छ । यस न्यून पुँजीवादी वर्गका केही कमजोरी भए तापनि सङ्घर्षशील भावना रहन्छ । यो वर्ग पनि आर्थिक स्थितिले गर्दा मध्यम वर्गीय किसानहरू सरह भएको हुँदा समाजवादसम्म पनि मजदुर वर्गको साथ जान सक्छ । अतः यस वर्गको बीचमा व्यापक क्रान्तिकारी कार्यको आवश्यकता छ ।

ई– कुवेशनमा लाग्न बाध्य भएको एक तप्का पनि जनवादी क्रान्तिको सहायक शक्ति हुनसक्छ
यसको एक तप्कालाई प्रतिक्रियावादीहरूले क्रान्तिको विरुद्ध उपयोग गर्दछन् भने अर्को तप्का स्वाभाविक रूपले क्रान्तिप्रति आकर्षित हुन्छ । सामाजिक अभिशापले गर्दा कुवेशनमा लाग्न वाध्य भएको हुँदा यस समाजप्रति उनीहरूमा घृणाको भावना हुनु स्वाभाविक हुन्छ । यस कारणले गर्दा उनीहरू क्रान्तिको पक्षमा आउँछन् । आन्दोलनको दौरानमा क्रान्तिकारीहरूको सतसङ्गतले गर्दा उनीहरू क्रान्तिकारी वर्गमा लागेका छन् । यही कुरा हाम्रो देशमा पनि भएको छ । अतः उनीहरूप्रति घृणाको दृष्टिकोण नराखी सहानुभूतिपूर्ण दृष्टिकोणले हेरी उनीहरूलाई समाज परिवर्तनको सही बाटोमा ल्याउने प्रयत्न हुनुपर्दछ ।

४– राष्ट्रिय पुँजीपति वर्गको दोहोरो चरित्र

आज हाम्रो देशको पुँजीपति वर्ग राष्ट्रिय उद्योगको अभावले गर्दा व्यापारमा मुख्यतः विदेशी एकाधिकारी पुँजीवादकै मुखोक्षी छ भने राष्ट्रिय क्षेत्रमा सामन्ती भूमि व्यवस्थासँग यसको ठूलो अंगको सम्बन्ध कायम छ । यसरी वर्गीय रूपले यिनीहरूको प्रगतिवादी भूमिका कम देखिएको छ । तर साथै यसमा हाल उद्योग र व्यापारमा बढ्ता निर्भर गर्ने एक स्यानो अंग पनि देखिन थालेको छ । यो अंगले विदेशी पुँजीलाई ठूलो ताकतको रूपमा राष्ट्रिय रूपमा जीवनमा प्रवेश गराउने कुरालाई आफ्नो विकासमा बाधकको रूपमा देख्दछ । राष्ट्रिय जनवादी आन्दोलन जति मात्रामा बढेर जानेछ यो अंग अन्य पुँजीवादी तत्वहरूको पंक्तिबाट अलग भइ राष्ट्रिय आन्दोलनलाई साथ दिन आइ सामन्ती व्यवस्था र विदेशी पुँजीको विरुद्धमा उभिनेछ । यस्तो पुँजीपति राष्ट्रिय पुँजीपति वर्ग कहलाउनेछ । यस्तो वर्गको चरित्र ढुलमूल हुन्छ । जनवादी आन्दोलनले विदेशी पुँजीलाई खतम गर्ने हुँदा यसले आफ्नो हित देख्दछ भने जनवादी क्रान्तिले शोषण नियन्त्रण पनि गर्ने हुँदा यो आन्दोलनमा सरिक हुन पानि डराउँछ । क्रान्तिले शोषण नियन्त्रण पनि गर्ने हुँदा यो आन्दोलनमा सरिक हुन पनि डराउँछ । क्रान्तिको दौरानमा देखा पर्ने पुँजीपति वर्गको यस्तो अंगलाई क्रान्तिको पक्षमा गर्ने हाम्रो प्रयास हुनुपर्छ ।

(घ) अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी क्रा¬िन्तका मित्र शक्तिहरू

अ– विश्व समाजवादी व्यवस्था तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलन
अन्तर्राष्ट्रिय पुँजीवाद आम रुवले तृतीय सङ्कटको अवस्थाबाट गुज्रिरहेको बेलामा, अधिकांश औपनिवेशिक राष्ट्रहरूले स्वतन्त्रता प्राप्त गरिसकेको बेलामा, पुँजीवादी राष्ट्रका मजदुर वर्गले औपनिवेशिक व्यवस्थाको विरुद्ध सङ्घर्ष गरिरहेका बेलामा विश्वको तीन खण्डको एक खण्डमा समाजवाद भैरहेको बेलामा समाजवादी खेमाले संसारका राष्ट्रिय मुक्ति क्रान्ति र जनवादी क्रान्तिलाई समर्थन गरिरहेको बेला र पुँजीवादबाट सामाजवादमा संक्रमण हाम्रो युगको मुख्य सार भएको बेलामा पनि नेपालमा हुने नयाँ जनवादी क्रान्तिले साम्राज्यवाद तथा अन्तर्राष्ट्रिय पुँजीवादलाई ठूलो आघात पु¥याउने हुँदा यो विश्व सर्वहारा समाजवादी क्रान्तिको अभिन्न अंग हुन्छ । तसर्थ यो क्रान्ति विश्व प्रतिक्रियाजादी शक्तिको दुस्मन र यसका मित्र शक्ति विश्व समाजवादी राष्ट्रमण्डल र विश्वव्यापी समाजवाद पक्षीय मजदुर आन्दोलन हुनेछ ।
आ– नवजात राष्ट्रका जनवादी आन्दोलन विशेषगरी भारतीय जनवादी आन्दोलन हाम्रो मित्रश िक्त हुनेछ

नवजात राष्ट्रहरूलाई पुनः दासत्ताको डोरीमा कस्नको निम्ति साम्राज्यवादी शक्ति विशेषगरी अमेरिकी साम्राज्यवादी शक्ति क्रियाशील छ । यसले गर्दा नवजात राष्ट्रहरूको स्वतन्त्रतामा हमेशा नै खतरा परिरहेको छ । अतः अन्तर्राष्ट्रिय साम्राज्यवादको विरोध गरी अमेरिकी साम्राज्यवाद नवजात राष्ट्रहरूको निम्ति साझा दुस्मनको रूपमा देखा पर्न आएको छ । हाम्रो जनवादी क्रान्ति अन्तर्राष्ट्रिय साम्राज्य विरुद्ध पनि हुने भएकोले नवजात राष्ट्रका जनवादी आन्दोलन हाम्रो क्रान्तिको मित्रशक्ति हुनेछन् । त्यसमा पनि विशेष गरी नेपाली जनवादी आन्दोलन र भारतीय जनवादी आन्दोलन एक अर्काका निम्ति विशेष सहयोगी हुनेछन् ।

इ) प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिको सहायक शक्ति :
कुनै पनि देशका प्रवासी जनताले आफ्नो देशको जनवादी आन्दोलनलाई समर्थन गर्दछन् । आफ्नो देशको उन्नतिबिना प्रवासमा नेपालीको स्थान अहिले पनि उठ्न सक्दैन । कैयौं प्रवासी नेपालीहरू बाध्य भएर विदेशमा लागेका छन्, आवतजावत गर्दछन् र बसोबासको प्रबन्ध भएमा मातृभूमिमा फर्केर आउन पनि चाहन्छन् भने कैयौंले विदेशमा कमाएको पुँजीको देशमित्र गई उद्योगभन्दामा लगानी गरी विकास गर्न चाहन्छन् । कयौँ प्रवासी नेपालीहरू प्रवासमा नै बसी आफ्नो इज्जत र सम्मान चाहन्छन् । नयाँ जनवादी सरकारले देशभित्र फर्केका प्रवासीहरूलाई बसोबासको प्रबन्ध र नफर्केकालाई तत्सम्बन्धी सरकारसित सम्बन्ध राखी उनीहरूको सम्मान र इज्जतका लागि कदम चाल्ने भएको र हाल उनीहरूको सम्मान प्रवासमा नभएको हुँदा प्रवासी नेपालीहरू खास गरेर तल्लो स्तरका प्रवासी नेपालीहरू हाम्रो नयाँ जनवादी क्रान्तिका मित्रशक्ति हुन्छन् ।

स्रोत : दस्तावेज संग्रह भाग १ पुष्पलाल स्मृति प्रतिष्ठान

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :