रातो खबरका निर्देशक अनिल शर्मालाई निरन्तर झूट्टा मुद्दा

मानवअधिकार रक्षाका लागि शर्माले गुहारे नेपाल बार एसोसिएसनलाई

रातो खबरका निर्देशक अनिल शर्मालाई निरन्तर झूट्टा मुद्दा

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय नुवाकोटले रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ लाई पुनः अर्को झूट्टा मुद्दा लगाउँदै बुधबार नुवाकोट जिल्ला अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

घाइते र बिरामी अवस्थामै चितवनमा उपचार गराइरहेको समयमा अस्पतालको शय्याबाटै गिरफ्तार गरिएका नेकपा नेता एवम् रातो खबरका निदेर्शक शर्मालाई बुधबार नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिनासाथ अस्पताल परिसरबाटै पुनः गिरफ्तार गरिएको हो । शर्माले आफ्नो मानवअधिकारको हनन भएको भन्दै मानवअधिकार रक्षाका लागि पहल गरिदिन नेपाल बार एसोसिएसन नुवाकोटलाई चिठी लेखेका छन् ।

नुवाकोट प्रहरीले नेकपा नेता शर्मालाई ‘जरुरी पक्राउ पुर्जी’ थमाउँदै भनेको छ, ‘तपाईंलाई सङ्गठित अपराध, आगो लगाउने र विस्फोटक पदार्थविरुद्धको कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गरी दाखिला गरी दिनू भनी तपाईंको नाउँमा श्री जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट सि.न. ६३५६ सञ्चार प्राप्त हुन आएको हुँदा मुलुकी अपराध कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ९ को उपदफा (६) बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको छ ।’

यता नेकपा नेता शर्माले नुवाकोट बार एसोसिएसनलाई पत्र लेखी आफ्नो मानवअधिकार रक्षाका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उनले लेखेको पत्रको विवरण यसप्रकारको छ :

अध्यक्षज्यू
नेपाल बार एसोसिएसन
नुवाकोट शाखा, विदुर, नुवाकोट

विषय : मानवअधिकारका सम्बन्धमा

महोदय,
उपर्युक्त सम्बन्धमा मलाई २०७७ वैशाख २३ गते अस्पतालको आकस्मिक कक्षबाट गिरफ्तार गरी हालसम्म विभिन्न जिल्लामा झूट्टा मुद्दामा थुनिरहेको छ । नुवाकोटमा त भरतपुर अस्पताल, चितवनको क्याबिन नं. ३०१ ‘A’ मा प्रहरी नियन्त्रणमा उपचार भइरहेको समयको अभियोग लगाएको रहेछ । तसर्थ नेपाल बारले यस्तो मानवअधिकार हननका विरुद्ध आवश्यक सम्भव पहल लेओस् भन्ने अपेक्षा छ । आज नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपछि अस्पताल हाताबाटै पुनः पक्राउ गरेको जानकारी गराउँछु ।

अनिल शर्मा

मिति : २०७७ मङ्सिर २३

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :