क्यान्सर अस्पतालको भित्री रहस्य

– दिपक ढकाल

क्यान्सर अस्पतालको भित्री रहस्य चितवनमा रहेको एशियाकै दोश्रो ठूलो र नमूना वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल विगत केही वर्ष यताबाट लथालिङ्ग र भद्रगोल अवस्थामा गुज्रिरहेको छ । नेपालको गौरव र चितवनको शानको रुपमा परिचित क्यान्सर अस्पताल आफैंमा क्यान्सर ग्रस्त रुपमा तड्पिराखेको लामो समय भइसक्यो । तर पनि यसको जगेर्ना र सुधारको लागि सरोकारवाला पक्ष, सरकारी पक्ष र चितवनका कुनै पनि राजनैतिक दलले चासो दिएको पाइँदैन । यसलाई केवल दुहुनो गाईको रुपमा उपयोग गरेर आफ्ना महलहरु ठड्याउनै व्यस्त छन् । भित्रका कर्मचारीहरु पनि उस्तै छन् भने अर्कोतिर नेपालमा अवस्थित जति पनि चिनियाँ लगानीमा संचालित सरकारी संस्थाहरु छन् । त्यसलाई ध्वस्त पार्न भारतीय विस्तारवाद र त्यसका दलालहरु हात धोएर लागि परेको देखिन्छ । त्यस्ता उदाहरण धेरै छन् । चितवन कृष्णपुरस्थित क्यान्सर अस्पताललार्ई पनि ध्वस्त पार्ने निजी चलखेल भारतीय दलालहरु निकै सलबलाएको पाइन्छ । जसको ज्वलन्त उदाहरण भक्तपुर क्यान्सरलाई लिन सकिन्छ ।

जहाँ भारतीय लगानी र तिनकै दलालहरुको लगानी देख्न सकिन्छ भने तिनै व्यक्तिहरु वी.पी. मेमोरियल क्यान्सर अस्पतालको प्रमुख पदहरुमा बसेर काम गरिरहेको पाइन्छ । भक्तपुर क्यान्सर अस्पतालका डाइरेक्टर भएका डा. प्रकाशराज न्यौपाने चितवन क्यान्सर अस्पतालका अध्यक्ष भएर चलाएका छन् भने चितवन क्यान्सर अस्पतालमा रेडियोलोजी प्रमुख भएर बसेका डा. अन्जनीकुमार झा पुरै समय भक्तपुरमा बिताउछन् । अनि महिनाको एक पटक तलब लिन चितवन देखा पर्दछन् । अनि कसरी आशा गर्ने यिनीहरुबाट सुधार र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रगती र जनताले पाउने सहज सेवा सुविधाको अपेक्षा । हुन त वर्तमानमा डा. प्रकाश भक्तपुरको डाइरेक्टरबाट बाहिरिएका हुन् भने डा. अन्जनी वी.पी.कोइराला क्यान्सर अस्पतालको रेडियोलोजी प्रमुखबाट हटेका हुन् । तर चितवन क्यान्सर अस्पतालको रेडियोलोजी विभाग उनकै इशारामा चलिरहेको छ ।

पुराना कुनै पनि मेशिन चालु अवस्थामा छैनन् र बनाउने चासो विगतदेखि कसैले गरेको पाइँदैन । किनकी नयाँ खरिदमा कमिशनको ठूलो  हिस्सा कसरी आफ्नो हात पार्न सकिन्छ भन्नेमा नै सबैको ध्यान गएको पाइन्छ ।यसको सुधारको लागि विगत लामो समयदेखि हामीले क्यान्सर अस्पताल बचाउ अभियान चलाइरहेका छौं । तर तत्कालिन कार्यकारी निर्देशक डा. सी.वी. पुन र अध्यक्ष डा. प्रकाशले खासै चासो नदेखिएको र बाहिर बसेर क्यान्सर अस्पताललाई दुहुनु गाई बनाएर मोटाउन पल्केकाहरुको खुट्टा तान्ने प्रवृत्तिका कारण अपेक्षित सुधार हुन सकेको छैन तर हाम्रो खबरदारी जारी छ ।हाल आएर केही महिना अगाडीबाट कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् । विवादितरुपबाट निर्देशक भएका उनी विरुद्ध आदालतमा मुद्धा परेको अवस्था छ । उनी भन्दा धेरै वरिष्ठलाई पाखा लगाएर आफू कार्यकारी बन्नुमा ठूलै आर्थिक चलखेल अनि गुटबन्दी छ भन्ने सुन्न पाइन्छ । जब उनी कार्यकारी बने त्यस पछिका दिनहरुमा आंशिक सुधार भएको पाइन्छ तर जुन कुरामा विशेष सुधारको अपेक्षा छ त्यो हुन सकेको पाइँदैन । उनी कार्यकारी भएपनि डा. अन्जनीको इशारामा चलेको पाइन्छ । जसका कारण सानातिना कुराहरु माथि सुधार गरेको जस्तो देखिए पनि विरामीमा प्रत्यक्ष सरोकार राख्ने रेडियोलोजी २३०० को मेशिन विगारिएकै अवस्थामा छ भने बाँकी थेरापी (भित्री सेकाई गर्ने) मेशिन कोवल्ट मेशिन हालसम्म चालु छैन । भित्री सेकाई गर्ने हाल पनि बिरामीलाई भक्तपुर रिफर गरिन्छ । विगत जस्तै संचालक समितिको बैठक काठमाडौंमा नै गर्ने गरिन्छ । काठमाडौंको रामशाहपथमा क्यान्सरको सम्पर्क कार्यालय खोलिएको र सबै निर्णय त्यहीँ बसेर गर्ने गरेको जनमानसमा व्यापक गुनासो सुन्न पाइन्छ । जबकी सम्पर्क कार्यालय खोल्नु वैधानिक नभएको जानकारहरु बताउँछन् ।

अस्पताल एक राजनीति गर्ने थलोको रुपमा परिणत भएको पाइन्छ । आफ्ना आसेपासे र चम्चेहरुलाई नियम विपरित बढुवा गरिएको र विगत ८–१० वर्षदेखि काम गरिराखेका कर्मचारीलाई स्थायी नगरिएको अवस्था देखिन्छ । रेडियोलोजी र थेरापी विभागमा मात्र लगभग ९५–१००% भत्ता बढाइएको र कर्मचारीबीच विभेद गरिएको पाइन्छ भने प्रशासनिक विभागमा पनि आफ्ना मान्छेहरुको हालीमुहाली चलाइएको पाइन्छ । जनमानसमा प्रत्यक्ष सरोकार राख्ने चिम्नी (इन्सिनेटर मेशिन) हालसम्म बनाइएको छैन । शल्यक्रियाबाट निस्केका मासुका टुक्रा अनि वार्डका फोहोर बाहिर बाँसघारीमा फालेको देख्न सकिन्छ । यसबाट मानव स्वास्थ्यमा पर्न जाने असरको जिम्मेवारी को हुने ? क्यान्सर प्रशासन की हामी जनता ? गम्भिर प्रश्न छ यसमा प्रशासनको व्यापक कमजोरी देख्न सकिन्छ ।नियम अनुसार भरतपुरमा नै बस्नुपर्ने बोर्डको बैठक किन काठमाडौंमा मात्र राखिन्छ ? यसको पारदर्सिता खै ?अर्को कुरा मननयोग्य यो छ कि दुई वर्ष अगाडि नै पूरा गरिसक्नु पर्ने निर्माणाधिन भवन किन बेवारिसे छ र समय समयमा ठेकेदार प्रेम मल्लले रकम थप माग्दै जानु र बोर्डले रकम थप्दै जानुबाट चरम चलखेल भइरहेको शंका गर्ने प्रशस्त ठाउँहरु पाइन्छ । यि हरेक कुराहरुलाई क्यान्सर अस्पताल बचाउ संघर्ष समितिले विगतदेखि वर्तमानसम्म सुधारको लागि दबाव दिँदै आइराखेको छ तर अनेकौं कुरा यो छ कि देशको गौरव अनि चितवनको शान क्यान्सर अस्पताल चुर्लुम्म डुब्न लाग्दासम्म चितवनका कुनै पनि राजनैतिक पार्टीले चासो नराख्नु गम्भिर दुर्भाग्य हो ।

आज कार्यकारी फेरिने वित्तिकै आंशिक सुधारको नाममा जुन अस्पताल सुध्रिएको ढ्वाङ फुकिएको छ यो त केवल नौटंकीबाहेक केही होइन जुन भद्रगोल कमिशनतन्त्र, राजनैतिक अखडाको अन्त्य र सर्वशुलभ सम्पूर्ण यहीबाट सुचारु गरिदैन आफ्ना कुराहरु लागु गरी अस्पताललाई दुहुनु गाईको रुपमा प्रयोग गर्ने भ्रष्टहरुको अन्त्य हुँदैन तबसम्म वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल आफैमा क्यान्सर ग्रस्त भइराख्ने पक्का छ । त्यसकारण यसको दीर्घकालिन संरक्षण, सम्बद्र्धन र निर्वाध रुपबाट स्वच्छ बनाई संचालन गर्न वर्तमान क्यान्सर प्रशासन धेरै कुरामा चनाखो बन्न जरुरी देखिन्छ र चितवनको शान बचाउन देशभक्त, जनप्रेमी र राष्ट्रप्रेमी राजनैतिक दलले चासो राख्नु पर्ने देखिन्छ ताकी क्यान्सर अस्पताललाई भ्रष्टचार, दलाली, कमिशनखोर, दादागिरी र आफ्ना आसेपासेको भर्तीकेन्द्र हुनबाट जोगाउन सकियोस् र पूर्वदेखि पश्चिमसम्मका गरिब जनताले सहज, सरल र झन्झटरहित ढंगले उपचार गर्न पाउन् ।(लेखकः क्यान्सर अस्पताल बचाउ संघर्ष समितिका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :