७ औँ पार्टी पुनर्गठन दिवसका अवसरमा रूपन्देही र कपिलवस्तुमा नेकपाद्वारा भव्य जनप्रदर्शन

७ औँ पार्टी पुनर्गठन दिवसका अवसरमा रूपन्देही र कपिलवस्तुमा नेकपाद्वारा भव्य जनप्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देही र कपिलवस्तुले ७ औँ पार्टी पुनर्गठन दिवस जनसभा गरी भव्यतापूर्वक मनाएका छन् ।

रूपन्देहीबाट प्राप्त समाचारअनुसार जिल्लाको पश्चिमतिरको एक गाउँमा नेकपाले जनसभा सम्पन्न गरेको हो ।

कार्यक्रममा नेकपा रूपन्देही सेक्रेटरी प्रभात, जनपरिषद् रूपन्देही प्रमुख जीवनलगायत जिल्ला नेताहरूको उपस्थिति रहेको समाचारमा उल्लेख छ ।

कार्यक्रममा सम्बोधन गर्दै सेक्रेटरी प्रभातले भने, ‘पार्टीको सातौँ पुनर्गठन दिवस देशैभरि मनाइरहेका छौँ । यो दिन माओवादी आन्दोलनलाई अलपत्र छाडेर भागेका गद्दारहरूसँग सम्बन्धविच्छेद गर्दै आन्दोलनको लालझन्डा पुनः उठाइएको दिन भएको हो । यो उत्सव जनताले आफ्नै सेना निर्माण गरेको ऐतिहासिक दिन पनि हो ।’

उनले महासचिव विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन गरेर सातौँ वजार्षिक उत्सव मनाइरहँदा पार्टीले प्रतिबन्ध, धरपकडजस्ता कठिनाइहरू झेल्दै आएको बताए । उनले पार्टी आन्दोलनमाथि दमन गर्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू लागिपरे पनि पार्टीमाथि जनभरोसा बढ्दै आएकाले प्रतिक्रियावादी शक्तिहरू अत्तालिएको बताए ।

त्यस्तै जनपरिषद् रूपन्देही प्रमुख जीवनले भने, ‘जनताको सत्ता प्रचण्ड–बाबुरामले विघटन गरे पनि हामीले पुनस्र्थापना गरेका छौँ । पार्टी पुनर्गठनको सातौँ वर्षगाँठ मनाइरहँदासम्म जनपरिषद्ले जनताको काम उल्लेखनीय रुपमा गर्दै आइरहेको छ । जनपरिषद्ले दलाल, माफिया, भ्रष्ट कमिसनखोर, समाज बिथोल्ने तत्वहरूलाई जनकारबाहीको नेतृत्व गर्दै आएको छ । यसले गर्दा दलालहरूको निद्रा सकिएको छ । हामीले जनताका वैरीहरूलाई कुनै हालतमा पनि कारबाही गरिछाड्नेछौँ ।’

कार्यक्रमको सञ्चालन युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो संयोजक विश्लेषणले गरेका थिए । कार्यक्रममा ‘एकीकृत जनक्रान्ति जिन्दावाद ! ७ औँ पार्टी पुनर्गठन दिवस भव्य मनाऔँ, वीर सहिद लालसलाम !, दलाल, भ्रष्ट, माफियाहरू होसियार !, जनबिरोधी वली सरकार मुर्दावाद !’ लगायत नारा लगाइएको थियो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले पार्टीको सातौँ पुनर्गठन दिवस जिल्लाका विभिन्न स्थानहरूमा मनाएको छ ।

जिल्लाका विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिका र बुद्धभूमि नगरपालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा कपिलवस्तुले जनाएको छ । जनप्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज जुझारुले मङ्सिर ८ ऐतिहासिक वीरता, बलिदान र उत्सवको दिन भएकाले यो दिन क्रान्तिकारीहरूका लागि प्रेरणाको दिन भएको बताए । उनले दक्षिणपन्थी संशोधनवाद, आत्मसमर्पणवाद, अकर्मण्यतावादविरुद्ध सङ्घर्ष गर्दै नेकपा पुनर्गठन भएको दिन भएकाले श्रमिक वर्गका लागि उत्सवको दिन रहेको पनि बताए ।

जिल्लाका विभिन्न स्थानमा भएको जनप्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी शेरमान र मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सुनिल थारूले मङ्सिर ८ गते दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्तिको थालनी गरिएको दिन भएको बताए ।

जनप्रदर्शनमा विकल्प, क्रिपाल, सङ्घर्ष, पावेल, ममता, सन्देशलगायतले सम्बोधन गरेको समाचारमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :