देवेन्द्र थापाका हत्यारालाई सख्त कारबाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको ढकारी गाउँपालिका ३ गढी हान्नेका देवेन्द्र थापाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले आफ्नो पार्टी स्तब्ध भएको भन्दै हत्याराहरूलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ । इन्चार्ज नवीन र सेक्रेटरी आखिरले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न भनी आशङ्का गरिएका नरेन्द्र बुढालाई गिरफ्तार गरिएको तर अर्का आशङ्कित व्यक्ति नर बुढा फरार रहेकोमा फरार रहेका नर बुढा विगतमा पार्टी समर्थक रहे पनि केही महिनादेखि पार्टीको सम्पर्कमा नरहेकाले उक्त व्यक्ति पार्टीको संरक्षणमा रहेको झूट्टो अफवाह फैलाइएकोमा गम्भीर आपत्ति प्रकट गर्दै आफ्नो पार्टीले त्यसप्रकारका व्यक्तिलाई संरक्षण गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी आफ्नो स्थापना कालदेखि नै न्याय, समानता र स्वतन्त्रताका पक्षमा र हत्या–हिंसा, दलाली, भ्रष्टाचार, कमिसनखोरी र सामाजिक विकृति–विसङ्गतिका विरुद्ध सदैव सङ्घर्षरत रहेको कुरा सर्वविदितै छ । अछाम जिल्लाको ढकारी गाउँपालिका ३ गढी हान्ने भन्ने ठाउँमा मिति २०७७ कात्तिक १० गते राती ११ बजेतिर देवेन्द्र थापाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले हाम्रो पार्टी स्तब्ध भएको छ । यस घटनामा संलग्न भनी आशङ्का गरिएका सोही ठाउँका नरेन्द्र बुढालाई गिरफ्तार गरिएको छ भने अर्का व्यक्ति नर बुढा भन्ने फरार रहेका छन् । फरार नर बुढा विगतमा हाम्रो पार्टीको समर्थक भए पनि केही महिनायता पार्टीको सम्पर्कमा नरहेको कुरा स्पष्ट पार्दछौँ । घटनापछि उक्त व्यक्ति पार्टीको संरक्षणमा रहेको झूट्टो अफवाह फैलाइएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीले यस्तो कुनै पनि व्यक्तिलाई संरक्षण गर्ने कुरा हाम्रो पार्टीविरोधीहरूको हावादारी प्रचार हो । यस्तो हावादारी होहल्लाको पछि नलाग्न पीडित पक्षलाई विनम्र अनुरोध गर्दछौँ । घटनामा ज्यान गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । पीडित परिवारका साथ हाम्रो पार्टी रहेको कुरा सम्प्रेषण गर्दै दोषीलाई कडा कारबाहीका लागि पार्टीले पीडित परिवारलाई निरन्तर आवश्यक सहयोग गर्ने कुराको पनि प्रतिबद्धता व्यक्त गर्दछौँ । यस्तो हत्या–हिंसाजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछाैँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :