भारतसँगको विवादमा हात नहाल्न चीनद्वारा अमेरिकालाई गम्भीर चेतावनी

चीनविरुद्ध भारतसँग मिलेर लड्ने अमेरिकी घोषणा

भारतसँगको विवादमा हात नहाल्न चीनद्वारा अमेरिकालाई गम्भीर चेतावनी

काठमाडौँ : विश्व साम्राज्यवादको नाइके अमेरिकाले भारतलाई चीनविरुद्धको लडाइँमा आफूले साथ दिने घोषणा गर्नासाथ चीनले अमेरिकालाई गम्भीर चेतावनी दिएको छ । अर्थतन्त्रमा अमेरिकालाई चुनौती दिइरहेको चीनको आर्थिक प्रगतिबाट चिढिएको अमेरिकाले चीनलाई आक्रोशित बनाउन भारतलाई सघाउने घोषणा गर्नासाथ चीनले अमेरिकालाई चेतावनी दिएको हो । भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री तथा अमेरिकी सुरक्षा प्रमुख माइक पोम्पियोले पत्रकारलाई उक्त घोषणा सुनाउनासाथ दिल्लीस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन र भारतबीचको सीमा विवादमा हात नहाल्न चेतावनी दिएका् हो ।

दिल्लीस्थित चिनियाँ दूतावासले भने भारतसँगको सीमा विवादमा अनावश्यक टिप्पणी नगर्न अमेरिकालाई चेतावनी दिएको छ । ‘अमेरिकी अधिकारीहरूले बारम्बार झूटो बोलिहेका छन् । चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तविरुद्ध हर्कत हो’, चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘भारत र चीनसँग असहमतिहरूलाई ठीक ढङ्गले समाधान गर्ने ज्ञान र क्षमता छ ।’

चीन र भारतबीच सीमा समस्या छन् । सीमाकै कारण चीन र भारतबीच समयसमयमा लडाइँ र झडप भइसकेका छन् भने चीनले भारतलाई पटकपटक हराउँदै आएको छ । एकातिर शक्तिशाली छिमेकी पाकिस्तानसँग पनि भारतको राम्रो सम्बन्ध छैन । अर्कातिर भारतले नेपाललागायत दक्षिणएसियाका सबै छिमेकीहरूलाई कुनै न कुनै विषयमा चिढ्याइरहेको छ । यस्तो समयमा शक्तिशाली मुलुक चीनसँग पनि भारत आफ्नो नानीदेखि लागेको खराब बानी सुधार गर्नुको साटो उल्टै चीनविरुद्ध अमेरिकासँग साथ खोजिरहेको छ ।

लद्दाखको गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाका बीचमा गत जुन महिनामा भएको हिंस्रक झडपमा झन्डै दुई दर्जन भारतीय सीमारक्षक सैनिक चिनियाँ जनमुक्ति सेनाबाट मारिएका थिए । त्यसपछि भारत र चीनका बीचमा सीमाको विषयलाई लिएर तनाव बढिरहेकोे छ । यस्तो समयमा अमेरिकाले चीनका सबै चुनौतीको सामना गर्न भारत र अमेरिकाले संयुक्त कदम उठाउने घोषणा गरेको हो । भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री तथा अमेरिकी सुरक्षा प्रमुख माइक पोम्पियोले नयाँदिल्लीको हैदराबाद हाउसमा पत्रकारसँग कुरा गर्दै चीनको सत्तारूढ पार्टीको सामना गर्न भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन् ।

अमेरिकी विदेशमन्त्री तथा सुरक्षा प्रमुख पोम्पियोले विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतको सार्वभौमिकता र स्वतन्त्रता बचाउन अमेरिका भारतलाई सबै प्रकारका सहयोग गर्न तयार रहेको पनि बताएका थिए । गलवान घाँटीमा चिनियाँ सेनाको आक्रमणमा परी २० सैनिक मारिएको घटना स्मरण उद्धृत गर्दै पोम्पिओले अमेरिकाले भारतको सार्वभौमसत्ता बचाउन सहयोग गर्ने बताएका हुन् ।

पोम्पियोको भ्रमणकै क्रममा भारत र अमेरिकाका बीच एक सम्झौता पनि भएको छ । उक्त सम्झौताअनुसार रक्षासम्बन्धी केही संवेदनशील स्याटलाइट तस्बिर, नक्सालगायत सूचना भारत र अमेरिकाबीच एकआपसमा आदानप्रदान हुनेछ । उक्त सम्झौताअनुसार भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरूमा पहुँच पाउनेछ । उक्त सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायत आक्रमणमा सहज हुने बताइएको छ । दुई देशबीच मङ्गलबार भएको टु प्लस टु बैठकपछि उक्त सम्झौता भएको बताइएको छ । टु प्लस टु दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । सोही बैठकका लागि अमेरिकी विदेशमन्त्री पोम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए ।

विश्लेषकहरूले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् । भारत र चीनका बीचमा केही महिनायता तनाव बढिरहेको समयमा भएको यो सम्झौतालाई निकै महत्वका साथ हेरिएको छ । उता चीन र अमेरिकाबीच पनि आर्थिक विषयलाई लिएर तनाव बढिरहेको छ ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :