भारतीय लेखक आनन्दस्वरूप बर्मा भन्छन्

कालापानी नेपालको हो, भारतले आफ्ना सेना फर्काउनुपर्छ

भारतीय लेखक आनन्दस्वरूप बर्मा भन्छन्

काठमाडौँ : भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेको भारतीय देशभक्तहरूलाई पनि मन परेको छैन । देशभक्त नेपालीहरूले भारतीय अतिक्रमणको विरोध गरिरहेको र नेपालका शासकहरू कानमा तेल हालेर बसिरहेको समयमा भारतका प्रगतिशील लेखक एवम् साहित्यिक पत्रकार आनन्दस्वरूप बर्माले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपालका भूभागबाट भारत तत्काल फर्किनुपर्ने बताएका छन् ।

नेपालको कालापानी क्षेत्रमा ६ दशकदेखि भारतीय सेना कब्जा जमाएर बसेको छ तर नेपालका शासकहरूले त्यहाँबाट भारतीय सैनिक फिर्ता गर्न प्रभावकारी कदम नचालिरहेको समयमा कालापानीदेखि लिपुलेक हुँदै लिम्पियाधुरासमेत क्षेत्र समेटेर भारतले नक्सा निकालेपछि नेपालमा त्यसको कडा प्रतिवाद भयो । उल्टै भारतले लिपुलेक हुँदै चीन जोड्ने बाटो नै खन्यो ।

नेपाली देशभक्त जनता र नेकपालगायत राजनीतिक पार्टीको कडा प्रतिवादपछि नेपाल सरकार बाध्य भएर उक्त क्षेत्र समेटिएको नक्सा त जारी गर्यो तर कहिले नयाँ नक्सा पाठ्यक्रममा राख्न नदिएर त कहिले भारतीय गुप्चार संस्था ‘र’ का प्रमुखसँगको विवादित गोप्य भेटघाटपछि मोदीलाई पठाएको शुभकामना सन्देशमा लिपुलेकसमेत समेटिएको नक्सा हटाएर नेपालका प्रधानमन्त्री केपी वली चरम विवादमा तानिइरहेको अवस्थामा भारतका देशभक्तहरूले भने उक्त भूमि नेपालकै रहेकाले भारतले तत्काल फिर्ता गर्नुपर्ने सन्देश प्रवाह गर्नु नेपालका देशभक्तहरूका लागि खुसीको कुरा हो । स्थापित भारतीय पत्रकार एवम् स्रष्टा आनन्दस्वरूप बर्माले कालापानीसहितको भूभाग नेपालकै भएको बताएपछि यो विषय भारतीय देशभक्तहरूबीच पनि बहसमा आएको छ । भारतीय टेलिभिजन आजतकद्वारा सञ्चालित रेडियोसँग गत शुक्रबार भएको संंवादमा आनन्दस्वरूप बर्माले यस्तो बताएपछि यसले चर्चा पाएको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको मत वरिष्ठ पत्रकार बर्माले आजतकमार्फत सार्वजनिक गरेका हुन् । यो विषयलाई दुवै देशले वार्ता गरेर समाधान गर्नुपर्ने पनि उनले बताएका छन् ।

‘कालापानी नेपालको हिस्सा हो’, पत्रकार बर्माले भनेका छन्, ‘सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेको थियो ।’ उनले भने, ‘तर त्यहाँ भारतीय सेनाले स्थायी अखडा नै बनाउँदा अहिले अवस्था जटिल भएको हो ।’

कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीच पुरानो विवाद रहेकोसमेत उनले बताएका छन् । यो विषय बारम्बार चर्चामा रहेको उनले बताए । ‘दुवै देशका सरकारले यसको समाधानका लागि विलम्ब गरेका छन्,’ उनले भने,’ वार्तामा बसेर यसको समाधान गर्नुपर्छ । नेपालको जमिन भारत लिनु हुँदैन ।’

उनले भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किन सक्ने पनि सङ्केत गरेका छन् ।’ नेपाल चीनतर्फ ढल्किरहेको भारतले सोचेको छ’, उनले भनेका छन्, ‘दुवै छिमेकी राष्ट्र हुन् : चीन र भारत । भारतले सधैँ यस्तो व्यवहार गरेमा नेपालले सहयोगका लागि कतै न कतै हात फैलाउनुपर्ने अवस्था आउँछ ।’

आजतक रेडियोको उक्त प्रसारणमा पत्रकार बर्माले नेपाली भूमिमा भारतीय सैनिक बसेकाले अब यसलाई वार्ताद्वारा समाधान गर्नुपर्नेमा जोड दिएका थिए । भारतले ढिला गरे नेपाल चीनको पोल्टामा पुग्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :