जेलभित्रै फाँसीको सजाय – रिजाल

TN-Rizalटेकनाथ रिजाल
मोतीथाङबाट हामी चढेको मोटर अज्ञात दिशातिर हुइँकियो । हामी तीनजना बन्दी र बीसजनाजति सशस्त्र सिपाही चढेको त्यो मोटर निकै ठूलो थियो । अँध्यारो गाढा हुँदै गयो र केही क्षणपछि नै हामी एकअर्कालाई देख्न र चिन्नसमेत नसक्ने भयौँ । म त्यस अँध्यारोमा पनि अनुमान गरिरहेको थिएँ– हामी चढेको मोटर सिमतोखाबाट ठाडै उकालो चढ्दैछ । जाडो निरन्तर बढ्दै थियो, केही क्षणपछि हामी दोपला पुग्यौँ । हामी त्यहाँ पुग्दा हिउँ पर्न थाल्यो । सम्पूर्ण शरीर डोरीले टनटनी कसेको थियो । त्यसको असरले जीउ कटकटी खान थाल्यो । कतै चटपट गर्ने उपाय थिएन, हातखुट्टा ठिहि¥याएर खपिनसक्नु भएको थियो । यसबेला मेरो शरीर असाध्य चिलाउन थाल्यो । सम्भवतः शरीरमा त्यहाँको बदलिएको तापक्रमको तीव्र असर परेको हुँदो हो । टनटन गरिरहेको शरीर अचानक चिलाउन थालेपछि मलाई के गरौँ र कसो गरौँझैँ भयो । जोडले चिच्याउँदा वा रुँदा पो सञ्चो होला कि भनेझैँ पनि लाग्थ्यो तर दाह्रा किटेर मैले यो स्थितिको सामना गरिरहेँ ।

केही बेरपछि अनायास गाडी रोकियो । अँध्यारो निकै गाढा भइसकेको थियो । गाडी किन रोकियो, मलाई थाहा थिएन । तर हामीलाई ओरालियो र पिसाब गर्न भनियो । यसरी ओर्लन पाउँदा पनि केही सजिलो महसुस भयो । हामीलाई ओरालिएको त्यो ठाउँ लोवेसा भन्ने पातलो बस्ती भएको हिमाली गाउँ हो भन्ने मैले अनुमान गरेँ । पूर्ववत् हामीलाई मोटरमा हालियो र मोटर गुड्यो ।  करिब पन्ध्र मिनेट हिँडेपछि गाडी वाङ्दीफोड्राङ जोङ अगाडिबाट ओरालो लागेपछि मैले अनुमान गरेँ– हामीलाई रावुना जेल लगिँदैछ । मोतीथाङबाट हिँड्नुअघि ठिन्लेले भनेका थिए– हामी लिङ्गसी लगिनेछौँ तर त्यसको साटो रावुनातिर गाडी लागेपछि मलाई लाग्यो उनले मलाई ढाँटेका रहेछन् ।

रावुना जेल राजद्रोही बन्दीहरूका लागि राखिने ठाउँका रूपमा चिनिएको थियो । केही वर्षअघि वाङ्दीफोड्राङ जिल्लाको भ्रमणमा आएका बेला एकजना मित्रले मलाई टाढैबाट सुनसान स्थानमा रहेको त्यो जेल देखाएका थिए । भुटानमा त्यसबेला रहेका तिब्बती शरणार्थीले सन् उन्नाईस सय चौहत्तरीको राज्यारोहण समारोहमा विध्वंस मच्चाएको अभियोगमा उनीहरूलाई राखिएको छ भनिन्थ्यो ।
हामीलाई वाङ्दीफोड्राङ जोङ छेउको मूलबाटोबाट ओरालोतिर जाने कच्ची सडकतिर केही मिटरको दूरीमा पु¥याएर ओरालियो । रावुना जेलसम्म मोटर सजिलैसँग पुग्न सक्थ्यो तर सोझै त्यहाँ पु¥याउनाको साटो यहाँ ओराल्नाको प्रयोजन मैले बुझ्न सकिनँ ।
अँधेरी रात, सिमसिम पानी परिरहेका कारण चिप्लो भएको बाटो हतकडी लगाइएका हात, नेल लगाइएका खाली खुट्टा र कम्मरदेखि घाँटीसम्म बाँधिएको शरीर । यस अवस्थामा मलाई एकएक पाइला सार्न पनि सयौँ किलोको वजन उचाल्नु परेझैँ भएको थियो ।
बाटो हिलो त थियो नै, हिलोसँगै अनेक आकारप्रकारका ढुङ्गामा खाली खुट्टाले टेक्दा सन्तुलन बिग्रन्थ्यो । खाली पैतालामा चुच्चो परेर बसेका चिसा ढुङ्गाको स्पर्श मात्रले असह्य पीडा हुन्थ्यो तैपनि सिपाहीको घेराबन्दीमा म अनवरत घिस्रँदै थिएँ, सुशील र जोगेनको पनि यही स्थिति थियो ।

आखिर मोटर जेलको आँगनसम्म नै पुग्थ्यो तर त्यसो नगरेर हामीलाई झन्डै चार किलोमिटर अगाडि नै ओरालेर लगभग घिसार्दै त्यस अप्ठेरो बाटोबाट लगिनाको उद्देश्य के थियो ? के उनीहरू हामीलाई सकेसम्म यातना दिन कतैबाट निर्देशित थिए ? जेहोस् हाम्रो कष्टकर यात्रा जारी थियो । चुपचाप त्यस अँधेरी रातमा बाटामा भएका ढुङ्गा सिपाहीका बुटमा पर्दा आउने एकसुरको झर्को लाग्दो आवाजले मन दिक्क पारेको थियो । बेलाबखत सिपाहीका बुटमा लागेर उछिट्टिएर आएका ढुङ्का मेरो नलीहाडमा ठोकिन्थे र म हुरुक्क हुन्थेँ । कुनै बेला सिपाहीका बुट मेरा खालीखुट्टामा पर्थे र म पीडाले मर्माहत हुन्थेँ ।

सुनसान पहाडी बाटो, सिरेटोले हल्लँदै गरेका पाखाभित्ताका रूखका पात हल्लिँदा आएको आवाज र छेवैमा बगेको सुनकोसी नदीको एकोहोरो सुसाइले मलाई लाग्थ्यो यिनीहरू एक स्वरले सहानुभूति व्यक्त गर्दैछन् । टाढा गाउँका गोठमा कुकुर भुकेको आवाज डाँडाकाँडा ठोक्किँदै कानमा गुन्जँदा लाग्थ्यो म आफ्नो पुरानो संसार छाडेर बेग्लै र अनौठो संसारतिर प्रस्थान गर्दैछु । मोतीथाङबाट हिँडेको तीन घन्टा जति समयमा हामी रावुना जेल पु¥याइयौँ । जोगेन, सुशील र मलाई छुट्टाछुट्टै कोठामा राखियो । मैले त्यस जेललाई सरसरती हेरेँ । पुरानो भुटानी ढाँचामा बनिएको त्यो जेलघरको चारमध्ये एक भाग दुईतले र तीन भाग एकतले रहेछ । जेल परिसरभित्रको ठूला आँगनका चारै कुनामा फल्दै गरेका सुन्तलाका बोट देखेँ । जेलमा एउटा मात्र ठूलो मूल ढोका थियो । त्यस जेललाई देख्दा अनिश्चित कालसम्म हामीलाई आश्रय दिन भनेर यो निर्जन ठाउँमा पर्खिरहेझैँ भान भयो ।

जेलघर निकै विशाल थियो, मलाई राख्न भनेर छुट्ट्याइएको कोठाचाहिँ भुइँ तलामा थियो । त्यस तलाको चार कुनामध्ये एउटा कुनाको कोठामा राखिने तय भएको मलाई केही समयपछि थाहा भयो । मलाई राख्न भनेर छुट्ट्याइएको कोठामै एकातिर शौचालय र पानीको व्यवस्था गरिएको थियो यद्यपि व्यवस्था ढङ्ग पु¥याएर गरिएको थिएन । म बस्ने कोठामाथिको भुइँमा पातलो गरी काठ छापिएको थियो । त्यसभन्दा माथिल्लो कोठामा सिपाहीहरू बस्थे होलान् भन्ने मैले अनुमान गरेँ ।

जेहोस् म एउटा टुङ्गोमा पुगेको थिएँ । शरीर मरेको छ वा बाँचेको छ भन्ने छुट्ट्याउन नसकिने गरी दुखेको थियो । तर पनि भविष्यका यन्त्रणाका सम्भावनालाई बिर्सिएर म त्यहाँ थचक्क बसेँ । कोठालाई चारैतिर हेरेँ, मन खुसी त निश्चय नै थिएन तर कोठाका भित्ताहरू देख्दा मलाई आफ्नै वस्तुझैँ भान भयो जोसँग यसअघि म परिचित थिइनँ मानौँ अब भविष्यमा भने म भिज्दै जानेछु । मोतीथाङबाट राबुना पु¥याएपछि लगत्तै मेरा खुट्टामा कसियो । धेरै दिनसम्म दुवै हात पछाडि लगेर पाता कसेर बाँधियो । निगरानीका लागि राखिएका सिपाहीको सामान्य चलहलपहलबाहेक गतिविधि शून्य थियो । मलाई थुनिएको कोठा खुल्दैनथ्यो । ढोकाको कापबाट छिराएको खानेकुरा म दुवै घुँडा टेकेर मुखले च्यापेर आफूतिर तान्थेँ र खाइसकेपछि खाना ल्याएको थाल त्यसैगरी ढोकातिर बढाइदिन्थेँ । तिर्खा लाग्दा शौचालयमा भएको कल दाँतले घुमाएर खोल्ने र त्यसरी नै बन्द गर्ने गर्थें । नियमित रूपले पानी आउँदैनथ्यो । आउँदा पनि फोहोर मिसिएर आउँथ्यो । पानीको यो हाल थियो भने मलाई दिइने खानाको हालतसमेत ठीक थिएन । खानामा मिसिएको काँटी, बोतलका टुक्रा, माछाका काँडा, मरेका कीराफट्याङ्ग्रा त मैले कयौँपटक भेटेको छु । दूषित पानी र अस्वस्थकर खानेकुराको असर स्वास्थ्यमा पर्छ भनेर मन दुखित हुन्थ्यो ।
राबुना जेल बस्दाका यन्त्रणाका कथा निकै छन् जसलाई म पछि बताउँदै जानेछु तर एक दिन तेन्चोलिङका वाङ कमान्डरले मेरो अवस्थाबारे बुझ्न होला बाहिरबाटै मलाई बोलाए । मैले उनका केही सामान्य प्रश्नको उत्तर सामान्य शैलीमा दिँदै सोधेँ– मैले यहाँ कति दिन बस्नुपर्ने हो ?

मेरो प्रश्नको जबाफमा उनले उल्टै प्रश्न गरे– यो जेलमा ल्याएको मानिस कोही जीवित फर्केर गएको छ र ? उनले मेरो जिज्ञासाले अचम्म मानेको भाव प्रकट गर्दै भने– मृत्युदण्ड दिन भनेर तपाईंलाई यहाँ ल्याइएको तपाईंलाई थाहा हुनुपर्ने हो त ! उनले भने राजाबाट मृत्युदण्डको दिन तोकिएपछि तपाईं मर्नुहुनेछ, कृपया भगवान्को नाम जप्नोस् र शान्त भएर बस्ने गर्नोस् ।
उनको यो कुरो सुनेपछि मलाई हुनसम्मको दुःख लागेर आयो । अब म यो संसारमा बाँचेर आफन्तहरूसँग भेट गर्न नपाउने रहेछु भन्ने चिन्ताले सताउन थाल्यो । इष्टदेवले ध्यानसमेत गर्न थालेँ । अझ मलाई त्यहाँ दिइएको कालो सुट र आँखाको पट्टी नै फाँसीको सङ्केत भएको ती कमान्डरले बताइसकेका थिए । त्यति मात्र होइन, त्यसपछि लगातार तीन दिनसम्म मलाई थुनिएको ढोकाको प्वालबाट बन्दुकको नाल छिराएर एकोहोरो ताक्ने काम भयो । हातखुट्टा बाँधेर एक कुनामा राखिएका बेला मलाई लाग्थ्यो– अब कुनै पनि बेला बन्दुक पड्कनेछ र मेरो प्राणपखेरु सकिनेछ । उफ् ! त्यो सकसको म वर्णन गर्न असमर्थ छु । म कति मात्र सम्झन्छु भने मलाई यसरी तर्साउने विङ कमान्डर वाटु छिरिङ थिए ।
मलाई जेलमा गरिने व्यवहार एक समानको हुँदैनथ्यो । कहिले दुवै हात पाता कसेर बाँधिएका हुन्थे र खाना खानसमेत मैले पशुलेझैँ गर्नुपथ्र्यो । कहिले अनायास हात खोलेको पनि पाइन्थ्यो । मैले एउटा थप कुरा यहाँ बताउनुपर्ने हुन्छ, त्यो के भने जसरी थिम्पुमा रहँदा अज्ञात शक्तिले मलाई लठ्याउने, असङ्ख्य पीडा दिने गथ्र्यो, राबुनामा पनि त्यो प्रक्रिया दोहोरिन थालेको थियो । त्यसैले कुन बेला म कस्तो अवस्थामा हुन्थेँ मलाई स्पष्ट थाहा हुँदैनथ्यो । म होसमा नभएका बेला ढोकाको कापमा राखिएको खाना कयौँ दिनसम्म आफूतिर नतानेका कारण सम्भवतः जेलका मानिस आएर मेरा हात खोलिदिन्थे कि ! म जसै केही सामान्य अवस्थामा हुन्थेँ र हात खुलेको पाउँथे यस बेला खाना ल्याइएको रहेछ भनेचाहिँ म आफूतिर खाना राखेको थाल तान्थेँ तर केही दिनपछिदेखि मलाई तैपनि समस्या सुरु भयो । मेरो दाह्री र कपाल बढेर लामालामा भएका थिए यद्यपि यो ठूलो समस्या थिएन । समस्या थियो हातका नङ बढेर लामा हुनु ।
हातका नङ बढेपछि हातले थालमा राखेको खाना टिप्न नसक्दो रहेछ । मलाई जीवनमा पहिलोपटक यस्तो अनुभव भएको थियो । थालको भात टिप्न जसै मेरा हात अघि बढ्थे पहिला नङ गएर टक्रक्क अड्किन्थे । यो स्थिति आएपछि मैले कोठाका भित्तामा नङ रगडेर साना बनाउन थालेँ । भित्तामा नङ घोट्ता नङको प्राकृतिक रङ रहँदैनथ्यो र नङ काला हुन्थे । मेरा खुट्टामा भएका नङ छोट्ट्याउने तरिका पनि त्यस्तै थियो ।

images
होस, बेहोस, यन्त्रणा र कहिलेकहीँको सामान्य अवस्थामा चाकाचुली खेल्दै राबुनाको जेलजीवन जसोतसो कट्दै थियो । जोगेन र सुशील यसै जेलमा थिए तर कुन कोठामा कुन अवस्थामा छन् मलाई धेरै समय थाहा भएन । मलाई राबुनामा कैद गरिएकै बेला रतन गजमेर, देवदत्त पौडेल, भक्ति भण्डारी र विश्वनाथ क्षेत्री पनि राखिएका रहेछन् । तर यो जानकारी मलाई राबुनामा रहँदा धेरै समयसम्म भएन ।
मलाई मृत्युदण्ड दिइनेछ भनेको केही दिनसम्म त मलाई ताकेर बसेको बन्दुक कुनै क्षण पनि पड्कन्छ र म मर्छु भन्ने त्रासमा थिएँ तर किन हो मारिइनँ । के त्यसो भए मलाई मृत्युदण्ड दिने सरकारको सोचाइ नै थिएन र यसै तर्साउनका लागि त्यसो भनिएको थियो ? कि त सरकारले मलाई मार्ने निर्णयमा पुनर्विचार गर्न कुनै दबाब महसुस गरेको थियो ? यसबारे म यकिनसाथ भन्न सक्दिनँ ।
तर राबुनामा झन्डै दुई वर्ष व्यतित गरेर थिम्पु जेलमा पुगेपछि मलाई थाहा भयो– नेपालबाट अपहरण गरेर बेपत्ता पार्नेबित्तिकै कौशिलाले दान खालिङ सर र ऋषिकेश शाहजीको मद्दतले अमेरिकी सरकारलाई एउटा अपिल लेखेर पठाइछन् । त्यस अपिलको जबाफमा अमेरिकी सरकारले उनलाई लेखेको रहेछ– तिम्रा पति टेकनाथ रिजाल भुटान सरकारको कैदमा सकुशल हुनुहुन्छ । उहाँको जीवनरक्षाको जिम्मेवारी हाम्रो पनि हो आदि ।

के त्यही अन्तर्राष्ट्रिय शक्तिको दबाबका कारण हाम्रो जीवन जोगिएको हो त ? मलाई लाग्छ यो पनि एउटा प्रमुख कारण हुनुपर्छ ।
मेरो यस अनुमानको पछाडिको कारण के हो ? यसलाई प्रस्ट पार्न मैले एउटा घटना प्रसङ्गबारे बताउनुपर्छ । एक दिन अचानक जेलका पदाधिकारीहरूको मप्रतिको व्यवहारमा अनौठो परिवर्तन देखियो । म बसेको कोठाको ढोका खोलियो । हतकडी र नेल खोलिए । लामो भएको कपाल, दारी र नङ काट्न लगाइयो । मैले नुहाइधुवाइसमेत गरेँ र नयाँ कपडासमेत लगाएँ । यसअघि माथिदेखि तलसम्म लत्रिने मोटो कालो जिनको कपडा दिइएको थियो, त्यसको साटो नयाँ र राम्रा लुगा लगाउन दिएपछि मलाई भनियो– आज जेलका सबै मानिस बनभोज खान जानुपर्छ ।

जेलको छेउमै सुनकोस नदीको एउटा शाखा बगेर आएको ठाउँमा मलाई पु¥याइँदा मैले देखेँ– त्यहाँ रतन गजमेर, सुशील पोख्रेल, जोगेन गजमेर, देवदत्त पौडेल, भक्ति भण्डारी र विश्वनाथ क्षेत्रीलाई पहिले नै पु¥याइसकिएको रहेछ ।  आफ्ना साथीलाई त्यहाँ देख्दा र उनीहरूसँग भेट्दा औधी हर्ष लाग्यो । स्वाभाविक रूपले हामीले त्यहाँ निकै समय हाँसीखुसी बितायौँ । साथीहरूले विविध परिकार खानुभयो । मैले पनि खाएँ तर त्यसरी होइन जसरी अरूले खानुभयो ।  यो कथित बनभोजको आयोजनामा सहभागी हुन थिम्पुबाट मेजर सांगे ठिन्ले स्वयम् आएका थिए । उनले आफ्ना सिपाहीलाई दिनभरिका यावत् बनभोजका दृश्य खिच्न लगाए । ती खिचिएका तस्बिर सरकारले सम्भवतः कतै पठाउनु थियो होला । ती सिपाहीले भीडीओ क्यामेरा र सामान्य क्यामेरासमेत लिएर आएका थिए । त्यस दिन सांगे ठिन्लेले राष्ट्रिय पोसाक बख्खु लगाएका थिए । उनी हामीसँग यस्तो व्यवहार गरिरहेथे मानौँ कैदी होइनौँ, उनका पाहुना हौँ । दिनभरिको यस बनभोजको नाटक मञ्चनपछि जेल फर्काइयो । त्यसपछि ती बिहान लगाउन दिइएका लुगा फुकालेर पुरानै काला लुगा लगाउन दिइयो, नेल र हतकडी यथावत् लागे । तर पनि राबुनाका बाँकी दिन अपेक्षाकृत सुविधाजनक थिए । खाने, बस्ने यावत् कुरामा पनि सुधार आएको थियो । यसपछि बाँकी साथीहरू पनि क्रमशः छोडिँदै गएका थिए ।  

यसरी सम्भवतः अन्तर्राष्ट्रिय समुदायको दबाबका कारण ज्यान जोगियो । आफ्नो सरकारले बर्बर व्यवहार गरेका बेला सात समुद्रपारिका मानिसले मेरो जीवनरक्षाका लागि मद्दत गरेको थाहा पाएर मेरा गह आँसुले भरिएका थिए ।
… … …
जेल जीवनको वर्णन बाँकी नै छ । त्यससँग जोडिएका अन्य कतिपय प्रसङ्गसमेत बाँकी छन् । तर म केहीअघि मैले वर्णन गरेको अज्ञात शक्तिको आतङ्कबारेको प्रसङ्ग यहाँ उल्लेख गर्छु ।
वास्तवमा यो अज्ञात आतङ्क के हो ? निरङ् कुश शासकहरू यसलाई कसरी र केमार्फत प्रयोग गर्छन् ? यसबारे जेलबाट निस्कनासाथ मैले आफ्नै ढङ्गले जान्ने कोसिस गरेँ । ममाथि भुटान सरकारले गरेको प्रयोगका प्रारम्भिक चरण सामान्यजस्ता लाग्ने भएपछि बिस्तारै उनीहरूको प्रयोगविधि असामान्य हुँदै गरेको बारे म केही बताउन किन चाहन्छु भने मानव मात्रका लागि गरिने यसप्रकारका कठोर अत्याचारबारे मानवसभ्यतालाई सम्मान गर्ने विश्वसमुदायले जान्न र यसको वास्तविकता पत्ता लगाउन आवश्यक छ । अन्यथा विश्वका जुनसुकै तानाशाहले मानव सभ्यताको सुन्दर संरचना भत्काउनेछन् ।  नेपालबाट अपहरण गरेर भुटान ल्याइएपछि वा अघि नै देखि ममाथि अज्ञात प्रयोग सुरु भएको थियो ? म भन्न सक्तिनँ । हुनसक्छ पहिलोपटक मलाई पक्राउ गर्नासाथ पनि यो प्रयोग गरिएको हुनसक्छ र केही पछिदेखि पनि । तर मोतीथाङको त्यस साँगुरो कोठामा मेरो बिछ्यौनावरिपरि एक टक लगाएर मलाई हेरिरहने सैनिकहरूमार्फत यातनाको यो विधि प्रयोगको अभियान प्रारम्भ गरिएझैँ मलाई लाग्छ । अन्यथा एउटा हिरासतमा साँघुरो कोठामा घरभरि सशस्त्र सैनिक पहरा राखिसकेपछि पनि कोठाभित्र निगरानीमा सिपाहीलाई तैनाथ गर्न आवश्यक पर्छ र ? कोठामा बाहिरी उज्यालो पटक्कै पुग्दैनथ्यो । मलाई लाग्छ रातदिन बत्ती बालेर राख्नाको कारण त्यही प्रयोगलाई सफल बनाउनु पनि थियो होला । एकनासको सिपाहीको हेराइबाट आजित भएर कम्मलले मुख छोपेको केही क्षणदेखि नै मैले आफ्नो मनमाथिको नियन्त्रण गुमाउन पुगेको थिएँ र यो स्थिति उनीहरूका लागि सम्भवतः सफलताको सङ्केत थियो ।

हिरासतमा राखिएको कुनै मानिसलाई टेलिभिजन स्टेसनको टावरमुनि त्यो पनि एकजना चौकीदार सुत्ने कोठामा लगेर सुताइन्छ र ? त्यति मात्र होइन, पुरानो रेडियो स्टेसनदेखि कतिपय मानिसका बैठकमा पालैपालो लगेर राखिनेजस्ता घटना कुनै पनि सरकारले गर्दैन– मलाई त्यसै गरियो र यसो गर्नाको प्रयोजन त्यही प्रयोग हो भन्ने मेरो निष्कर्ष छ । मैले जेलमुक्तिका दिनपछिदेखि नै जान्न चाहेँ आखिर ममाथि प्रयोग गरिएको कुरा के थियो ? यसको खोजी गर्ने क्रममा धेरैजसो समय मेरा लागि निराशाजनक रहेका छन् । मसँग जेलमा कैद भुक्तान गरेका मेरा निकटतम साथीहरूसमेतले मेरो भनाइलाई भ्रम हो भनेर टारे । हुनसक्छ ती साथीहरूलाई यस्तो प्रयोग नगरिएको होस् वा हुनसक्छ प्रयोग गरिएको भए पनि अज्ञात भएका कारण उनीहरूले नबताएका हुन् ।

तर मैले आफ्ना यससम्बन्धी जिज्ञासा दबाउन सकिनँ र खोजी गर्दै गएँ । यो अदृश्य यातना र टाढैबाट कसैको मन नियन्त्रण गरी उसका सम्पूर्ण कार्यकलाप अध्ययन गर्न र मनका भावनासमेत अध्ययन गर्न सकिने त्यो विधि के रहेछ भन्नेबारेमा जेलबाट रिहाइपछि अध्ययन गर्दा मैले थाहा पाएँ यसलाई जेलकिरण, माइन्ड कन्ट्रोलर, फियर मेसिन, माइन्ड सक आदि भनिँदो रहेछ । अध्ययनका क्रममा मैले पाएँ– भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले आफ्नो जेल जीवनमा लेख्नुभएको रहेछ– कैदीहरूलाई आफ्नो नियन्त्रणमा राखेर आफूअनुकूल पार्न आधुनिक वैज्ञानिक यन्त्रको प्रयोग गरिन्छ । अर्को एकजना पशुप्राणीविज्ञले बताएअनुसार पशुहरूको दिनचर्या थाहा पाउन र उनीहरूलाई सताउन यन्त्रको प्रयोग गरिन्छ । जेलजीवनको पछिल्लो चरणमा जेल निरीक्षणमा आएका एकजना बर्मेली डाक्टरलाई यससम्बन्धी प्रश्न गर्दा उनले भनेका थिए– भुटानका शासक र म्यान्मारका सैनिक शासकले आफ्ना विरोधीलाई दिने यातनाको शैली एकै रहेछ । यति भनेर उनले मप्रति सहानुभूति व्यक्त गरेका थिए ।

एमनेस्टी इन्टरनेसनलका एकजना अस्टे«लियाली प्रतिनिधिसमक्ष मैले यही कुरो राख्दा उनले सोधेका थिए– के यस्तो यातनासहित तपाईंलाई डिक्टेट पनि गरिन्छ ? मैले हो त्यस्तै हुन्छ भन्दा अँध्यारो अनुहार लगाएर उनी बाहिरिएका थिए । अन्तर्राष्ट्रिय रेडक्रसका अर्का एकजना प्रतिनिधिसँग प्रश्न गर्दा उनले भनेका थिए– श्रीलङ्काका पृथकतावादी तमिल र कास्मिरी पृथकतावादीमाथि यस्तो प्रयोग गरेको थाहा थियो । 

भुटान पनि त्यही बाटोमा रहेछ । उनले कतिसम्म बताए भने यस्तो यातनामा परेर पनि तपाईं बाँच्नुभयो । यसलाई धन्य सम्झनोस् ।
भारतको जासुसी संस्था ‘र’ का एकजना पूर्वप्रमुखसँग सोध्दा यसप्रकारको प्रणाली रहेको स्वीकार गर्दै भने– विविध उपाय हुन्छन् र कोठामा जडित बिजुलीको प्रकाशमार्फत पनि यस्तो प्रयोग गर्न सकिन्छ । एकजना मेरा परिचित भूतपूर्व सैनिकले भने– यसप्रकारका प्रयोग आफ्नो कब्जामा आएका शत्रु पक्षका सिपाहीलाई गर्ने गरिन्छ जसमार्फत विपक्षीका बढीभन्दा बढी कुरा जानकारी पाइयोस् र उसलाई नोक्सान पु¥याउन सकियोस् । यो प्रयोग अमानवीय भएका कारण शत्रुविरुद्ध गरिनु पनि उचित हुँदैन भन्ने मेरो मान्यता हो ।

यस प्रयोगको अर्को विधिसमेत भएको कतिपय जानकारले मलाई बताएका छन् । यातनापीडित घटनाप्रति सरोकार राख्ने एकजना विज्ञले मलाई भनेका थिए– बन्दी जीवनमा औषधिमूलोका रूपमा वा सोझै खानामा मिसाएर कुनै विशेष प्रकारको रसायन पेटमा पु¥याएर मानिसका मनमस्तिष्क र अन्य तन्तुमा आक्रमण गर्न सकिन्छ । यस सम्बन्धमा लेनर ह्वाइट ९भ्भिबलयच ध्जष्तभ० नामका एक अन्वेषकले मस्तिष्कमा विद्युतीय नियन्त्रणको प्रभावसम्बन्धी खोजपूर्ण लेख प्रकाशित गरेका छन् । यसलाई इन्टरनेटको जततउस्ररधधध।चबखभल।िलभतरगबअयm।

जतm मा अबउबददभि या कयmभ भभिअतचयलष्अ mष्लम अयलतचयििभम भााभअत भन्ने सामग्री पढ्न सकिन्छ । यसबाहेक शरीरमा कुनै यन्त्र जडान गरेर वा नगरी पनि मानिसको मन पढ्न र नियन्त्रण गर्ने विधिबारे बताइएको छ । जततउस्ररधधध।चबखभल।िलभतरतजयगलम।जतm मा गएर यसको अध्ययन गर्न सकिन्छ । यसबाहेक अन्य कतिपय यससम्बन्धी सामग्री छन् । भुटानको निरङ्कुश सत्ता सञ्चालकलाई यसप्रकारको अर्काको मन अध्ययन गरेर नियन्त्रण गर्ने प्रयोग आफूलाई रिस उठेका नागरिकमाथि मात्र गर्छन् वा विदेशी कूटनीतिक प्रतिनिधिहरूमाथि समेत गर्छन् ? म यसै भन्न सक्तिनँ तर उनीहरू हरेक मर्यादा नाघ्न सक्छन् भन्ने मेरो मान्यता छ किनभने निरङ्कुश सत्ता जस्तासुकै हथकन्डा अपनाउन हिचकिचाउँदैन । पाहुना भएर भुटान जाने कुनै पनि कूटनीतिक पदाधिकारीलाई भ्रमित पार्न भुटान सरकारले प्रयोग गरेको पनि हुनसक्छ भन्ने मलाई आशङ्का छ ।

बाहिर प्रकाश नछिर्ने बन्द कोठामा यस प्रक्रियाको प्रभाव व्यापक र असहनीय हुन्छ तर खुला प्रकाश भएका ठाउँमा यो कम हुन्छ । यद्यपि कयौँ किलोमिटर टाढासम्म यात्रा गरे पनि यसको प्रभावबाट मुक्त हुन सकिँदैन । विडम्बना त के छ हुन्छ भने यो पीडालाई आफ्ना निकटतम मानिससँग समेत त्यस पीडितले बाँड्न त के सहानुभूति पाउन पनि सक्तैन । जीवनमा ऊ एक्लो हुन्छ जुन वास्तवमै भयावह स्थिति हो ।
(रिजालको निर्वासन पुस्तकबाट उद्धरण गरिएको संस्मरणको शीर्षक हामीले दिएका हौँ– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :