कोरोना सिर्जित प्याराडाइम सिफ्टको बहसमा अन्तरक्रियात्मक सहभागिता

कोभिड १९ को महाव्याधिले मानव जातिमाथि पछिल्लो समयको एउटा कठोर चुनौती थोपरिदिएको छ । कोभिड भाइरसले मानिसको जैविक प्रणालीमाथि साङ्घातिक हमला गरिरहेको छ । विज्ञहरूका अनुसार कोभिडको यो आक्रमण जति खतरनाक छ, त्योभन्दा ज्यादा चामत्कारिक यसको हमलाको तरिका रहेको छ । तीव्र उत्परिवर्तनीय क्षमता यो भाइरसको नयाँ विशेषता हो । आजसम्म उत्पन्न भाइरसहरूभन्दा नितान्त भिन्न यही विशेषता नै मानव ज्ञानमाथिको चुनौती बनेको छ ।

कोभिडको चुनौती आधारभूत रूपले स्वास्थ्य चुनौती हो । यसको हमलाबाट विश्वभरको स्वास्थ्य प्रणाली मात्र निष्प्रभावी भएको नभएर आर्थिक एवम् राजनीतिक प्रणालीको जगसमेत नराम्ररी हल्लिएको छ । यसका साथै आजको मानवसमाजमा व्याप्त चिन्तनपद्धति र सांस्कृतिक मूल्य पनि कोभिडसमक्ष स्तब्ध बनेको छ । पृथ्वीको ‘सर्वश्रेष्ठ’ प्राणी– मानव जसद्वारा निर्मित ‘अत्याधुनिक’, ‘अद्भुत’ र ‘चामत्कारिक’ प्रविधि कोभिडसमक्ष निष्काम बनेको छ । कोभिडनामक मामुली विषाणुले मानिसलाई घिच्याउँदै लतारिरहेको छ । भाइरसको हमलाबाट मारिएका आफन्तहरूको मृत्युमा समेत शोक मनाउन मानिस यतिबेला प्रतिबन्धित छ । झ्याइँकुटी पार्दै लगिरहेको आफन्तको लासलाई हेरेर मानिस निःशब्द टोलाइरहेको छ ।

कोभिडको यो महाव्याधि मानव जातिमाथि पछिल्लो समयको एक कठोर अग्निपरीक्षा हो । चर्चित समाजशास्त्री युवल नोहा हरारीले भनेझैँ ‘आउने केही साता सरकार र मान्छेले लिने निर्णयहरूले नै सायद आगामी केही वर्षसम्मका लागि विश्वको भाबी स्वरूप तय गर्नेछ ।’ इतिहासको यो नियम नै हो– विशेष सङ्कटहरूमा मानिसले लिने निर्णय र अपनाउने तरिकाले भविष्यको एक लामो समयावधिलाई दिशानिर्देश गर्दछ । त्यो नै एउटा युगको आदर्श, संस्कार, जीवनपद्धति र दर्शन बन्ने गर्दछ ।

कोभिडको सङ्क्रमण विश्वव्यापी बढ्दै गएपछि लकडाउनको गुफाभित्र लुकेर बस्नु मानिसहरूका लागि एक मात्र आधारभूत विकल्प बन्न पुग्यो । मानिसहरू घर–घर र कोठा–कोठामा बन्दी मात्र भएनन्, मानिसहरूको आर्थिक क्रियाकलापसमेत ठप्प भयो । बहुरूपी लकडाउनको यो उपक्रम अझै जारी छ । यतिबेलासम्म संसारभर करोडौँ मानिस जागिरबाट निकाला भइसकेका छन् । ठूला सहरहरूबाट मानिसहरू गाउँतिर लखेटिएका छन् । बिदेसिएकाहरू माटो सुँघ्दै स्वदेश फर्किरहेका छन् । सङ्कटको यो चरम बिन्दुमा मानिसहरूलाई जब आफ्नै भूमि प्यारो भयो, आफ्नै परिवार र आफन्तजनहरू प्रिय भए तब त्यसप्रतिको उत्तरदायित्व के हुने ? यसबारे मानिसहरूमा गम्भीर बहस सुरु भएको छ । एउटा परिवार, एउटा समाज, एउटा राष्ट्र सभ्य, स्वतन्त्र एवम् आत्मनिर्भर बन्नु र नबन्नुको फरक कति हुन्छ भन्ने मानिसहरूले राम्ररी अनुभूत गर्न पाए । संसारभरका मानिसहरूलाई आत्मनिर्भरताको गहिरो अर्थबोध भएको छ । अझ त हाम्रो देशमा लकडाउनको करिब ६ महिना पूरा हुँदै गर्दा कैयौँ मानिसहरू भोकबाट लखेटिएर पुनः बिदेसिन बाध्य भएका छन् भने कैयौँ साँझबिहानको छाक टार्ने विकल्प नहुँदा परिवारसँगै सामूहिक आत्महत्या गर्न विवश भएका छन् । यी र यस्तै तमाम परिघटनाहरूले हामीसँग केही गम्भीर प्रश्नहरूको जबाफ खोजिरहेको छ– हामी कस्तो समयमा बाँचिरहेका छौँ ? हामी कस्तो देशमा बसिरहेका छौँ ? हामी कस्तो समाजमा हुर्किरहेका छौँ ? अनि यो अवस्था कहिलेसम्म ?

यति कुरा पक्का हो– अझै केही महिना वा वर्ष लगाएर भए पनि कोभिडविरुद्धको भ्याक्सिन अवश्य बन्नेछ तर यो नै अन्तिम भने पक्कै होइन, बरु यो सम्भव छ– कोरोनाभन्दा अझ शक्तिशाली भाइरसहरू विकसित हुनेछन् र मानिसले पुनः अर्को महाव्याधिको सामना गर्नु पर्नेछ । अहिलेकै कोरोना सङ्कटमा थिलथिलो भएको हाम्रो स्वास्थ्य प्रणालीले त्यसखाले सम्भावित सङ्कटको सामना कसरी गर्ला ? अर्कोतिर सङ्कटको बेला श्रमजीवीहरूलाई कामबाट निकालिदिने उद्योग, सङ्घ–संस्था र तिनको बेहाल हेरिबस्ने राजनीतिक प्रणालीको समाधान के हुने ? यसको निरन्तरता कहिलेसम्म ? साँच्चै कोभिड १९ पछिको मानव भविष्य कस्तो होला ? कस्तो हुनुपर्ला ? यसका बारेमा संसारभर व्यापक बहस भइरहेको छ । विभिन्न अध्ययन–अनुसन्धान, तर्क–बहस र अड्कलबाजीहरू भइरहेका छन् ।

प्रत्येक सङ्कटको सकारात्मक प्रेरणा भनेको यसले सम्भावनाका नयाँ ढोकाहरूलाई पनि खोलिदिनु हो । कोभिड १९ को महासङ्कटले मानव जातिको नवीन भविष्यको द्वार खट्खटाइरहेको देख्नु, अनुभूत गर्नु र पहलकदमी लिनु यो अब उच्च मानवमस्तिष्कको ‘प्राज्ञिक दायित्व’ नभएर किसान, मजदुर तथा आमजनताको समेत अहम् सरोकारको विषय बनेको छ । मानव अस्तित्वको यही सम्भावित नयाँ भविष्यप्रतिको आशावादिता तथा ऐक्यबद्धतास्वरूप सुरु भएको वैकल्पिक राजनीति अर्थात् प्याराडाइम सिफ्टको बहसमा यो आलेख एक अन्तक्र्रियात्मक सहभागिता हो ।

कोभिडको चुनौतीलाई आधारभूत रूपले दुईवटा अन्तरविरोध/अन्तरसम्बन्धमा केन्द्रित गर्न सकिन्छ । एउटा हो– मानव र भाइरसबीचको अन्तरसम्बन्ध र अर्को हो– मानिसहरूबीचको आपसी अन्तरसम्बन्ध । मानव र भाइरसबीचको अन्तरसम्बन्ध अर्को अर्थमा मानव र प्रकृतिबीचको अन्तरसम्बन्ध हो । मानिस स्वयम् एक प्रकृतिकै रचना भए पनि प्रकृति र मानवबीच जन्मकालदेखि नै स्वाभाविक अन्तरविरोधपूर्ण सङ्घर्ष चल्दै आएको छ । उक्त सङ्घर्षमा मानिसले मूलतः प्रकृतिलाई जित्दै आजको अस्तित्वसम्म आइपुगेको हो तर प्रकृतिमाथि मानवको यो विजय पछिल्लो समयमा केही उन्मादपूर्ण बन्दै गएको छ । प्रकृतिमाथिको ज्यादतीपूर्ण मानववीय क्रियाकलाप दिन दुई गुणा र रात चौगुणाको दरले वृद्धि भइरहेको छ । यसले पृथ्वीको पर्यावरणलाई तीव्र खलल पारिरहेको छ । माक्र्सवादका प्रणेतामध्येका एक फ्रेडरिक एङ्गेल्सका अनुसार ‘प्रकृतिमाथि आफ्ना मानवीय विजयहरूका कारण हामी आत्मप्रशंसामा विभोर हुनु हुँदैन किनभने त्यसले हरेक यस्तो विजयको हामीसँग प्रतिशोध लिन्छ ।’ कोभिड १९ को यो महाव्याधि प्रकृतिले आफूमाथि मानवीय ज्यादतीको यस्तै एक प्रतिशोध साधेको हो भन्नेमा आजको मानवले बुझ्नु जरुरी छ ।

प्रकृति र मानवबीच अन्तरविरोधको यो सम्भावित परिघटनालाई विज्ञहरूले समयमै चेतावनी नदिएका पनि होइनन् किनकि समग्र प्राणी र अझ मानवजातिको विगत यस्तै कैयौँ घटना शृङ्खलाहरूबाटै अघि बढिरहेको छ । त्यसैले यो असाध्यै अनपेक्षित घटना अवश्य होइन, बरु अनपेक्षित के हो भने मानवीय क्रियाकलापकै कारण यो चुनौती छिट्टै आइलाग्यो । यसको क्षमता विगतका भाइरसहरूभन्दा नितान्तै फरकखाले भयो र यसको सामना गर्ने प्रणाली र विज्ञता मानिससँग भएन । प्रकृतिमाथि ज्यादतीका घटनाहरू यसैगरी बढ्दै जाने हो भने मानवबाट प्रकृतिमैत्री व्यवहार नहुने हो भने र त्यही स्तरमा स्वास्थ्यप्रणाली र प्रविधिको विकास नगर्ने हो भने मानव अस्तित्व नामेट हुन कुनै आइतबार पर्खनु नपर्ने पनि हुन सक्छ भन्ने विज्ञहरूको चेतावनीलाई नजरअन्दाज गर्न मिल्दैन ।

प्रकृति र मानवबीचको असामञ्जस्यपूर्ण अन्तरविरोध जसरी एकपछि अर्को तीव्र बढिरहेको छ, मानिसहरूबीच आपसी अन्तरविरोध पनि सोही अनुपातमा चुलिँदै गइरहेको छ । विशेषतः सम्पत्तिमाथि स्वामित्वको फराकिलो अन्तरले सामाजिक अन्तरसम्बन्धहरू निकै विभेदकारी र चरम शोषणकारी बन्दै गइरहेका छन् । एकातिर विश्वको आधा सम्पत्तिको स्वामित्व एक प्रतिशत धनीहरूको मातहतमा थुप्रो लागेको छ भने अर्कोतिर करोडौँ–करोड मानिसहरू रोजगारविहीन भइरहेका छन् । सम्पत्ति सम्बन्धमा भएको यो बदलावले श्रमजीवी वर्गमाथि शोषणको दायरा बढेको मात्र होइन, प्रकृतिवादी, मानवतावादी र अग्रगमनकारी सांस्कृतिक मूल्यमा समेत चरम विघटन भइरहेको छ । वास्तविकता के हो भने मानिसहरूबीचको यही अन्तरविरोध नै मानिस र प्रकृतिबीच अन्तरविरोधको परिणाम हो ।

वर्तमान सम्पत्ति–सम्बन्धले मानिसलाई आममानवबाट अलग गरिरहेको छ । यसले आफ्नो स्वत्व रक्षार्थ एक विशिष्ट मानवको रचना गरिरहेको छ– ‘पुँजीवादी मानव ।’ यही पुँजीवादी मानव र मानवीयताले नै प्रकृति र आममानिसको दोहोलो काढिरहेको छ । मानवजातिकै सर्वविनाशको दुन्दुभि फुकिरहेको छ । पुँजी, पुँजी र फेरि पनि पुँजी पुँजीवादी मानवताको सांस्कृतिक मूल्यबोध हो । पुँजीवादी मानवले आमा–बाबा, छोरा–छोरी, श्रीमान्–श्रीमती सबै त्याग्न सक्छ तर उसले ज्यान गए पनि निजी सम्पत्ति भने त्याग्न सक्दैन । प्रसिद्ध कम्युनिस्ट घोषणापत्रमा भनिएझैँ ‘पुँजीवादले मनुष्यको व्यक्तिगत गुणलाई विनिमय मूल्यमा परिणत गरिदियो’ र ‘पहिलेका असङ्ख्य प्रदत्त तथा उपार्जित स्वतन्त्रताहरूको ठाउँमा व्यापारको एउटै मात्र विवेकरहित स्वतन्त्रतालाई स्थापित गर्यो ।’

पर्यावरणसँग पुँजीवादी मानवको कुनै साइनो–सम्बन्ध छैन । राष्ट्रियता उसका लागि आफ्नो स्वत्व रक्षा गर्ने एउटा कलाबाजी मात्र हो । निजी पुँजीको बलमा, विज्ञान र प्रविधिको सिकञ्जा कसेर आममानिस र प्रकृतिको चरम दोहन गरिरहेको, विनाशको चुचुरोमा उभिएर मानवजातिको भविष्यलाई अँध्यारो खाडलमा धकेलिरहेको यही पुँजीवादी मानवताविरुद्ध निर्णायक लडाइँ नै वैकल्पिक राजनीति अर्थात् प्याराडाइम सिफ्ट हो ।

कोरोना विपद्ले ‘उदार पुँजीवादी’ अर्थात् सारतः पुँजीवादको विनाशकारी अनुहारलाई सामान्य चेतनाले समेत सजिलैसँग बुझ्ने गरी आज संसारभर उदाङ्गो पारिदिएको छ । पुँजीवादको यो आवश्यम्भाविताबारे करिब दुई शताब्दी यतादेखि नै घनीभूत बहसको आरम्भ नभएको होइन । साम्यवाद अर्थात् पुँजीवादका विकल्पको नवीन विश्वव्यवस्थाको लक्ष्यसहित संश्लेषित माक्र्सवाद नै त्यो विश्वदृष्टिकोण हो जसले मानवसमाजको समग्र ज्ञान चेतनालाई युगीन नेतृत्व प्रदान गर्यो । बीसौँ शताब्दीको दोस्रो दशकमै समाजवादी सत्ताहरूको स्थापना गरेर माक्र्सवादले पुँजीवादी मादकताविरुद्धको आफ्नो ऐतिहासिक पहलकदमी सुरु गर्यो । यद्यपि कालान्तरमा समाजवादी सत्ताहरूमा भएको विघटनले त्यसप्रति मानिसहरूमा गम्भीर आशङ्का भने जन्माइदियो । अतः एकातिर पुँजीवादी पतनशीलता र विनाशक वर्तमान भुक्तमानको पीडा र अर्कोतिर समाजवादी असफलताको आशङ्काबीच खिचातानीको गुरुत्वबाट वैकल्पिक प्याराडाइम सिफ्टको ‘यान’ लाई सुरक्षित अवतरण गर्नु आजको महत्वपूर्ण जिम्मेवारी हो । पवित्र उद्देश्यका साथ गरिएको भए पनि प्याराडाइम सिफ्टका नाममा गरिएका छद्म पुँजीवादी तर्कहरूलाई भने बिनामोलाहिजा खारेज गर्न जरुरी छ । एकातिर ‘विश्वबन्धुत्वमा आधारित ‘वैश्विक एकता’, ‘प्रकृतिवाद’, ‘मानवतावाद’, ‘जैविकवाद’ आदिको कल्पना गर्ने र अर्कोतिर शोषक र शोषित, सदाचार र भ्रष्टाचार, निजी सम्पत्ति र सामूहिक सम्पत्ति दुवै शाश्वत् छन्, एकले अर्कोको निषेध असम्भव छ भन्ने तर्क पेस गर्नुले प्याराडाइम सिफ्टका नाममा गरिएको पुँजीवादी गुलामी मात्र ठहर्छ ।

हो, कोरोनाले आजको मानव दुनियाँलाई चेतावनी गरेको विषय भनेको– जाति, सम्प्रदाय, भूगोल विशेष भएर अबको मानव बाँच्न सम्भव छैन । अबको मानव ‘विश्व–मानव’ बन्न जरुरी छ । त्यसका लागि एक नयाँ ‘विश्व–व्यवस्था’ बिल्कुलै आवश्यक छ जहाँ आजको झैँ भूगोल, जाति, धर्म, लिङ्ग आदिका विभेदकारी सिमानाहरू केही पनि नहोऊन् । विज्ञान–प्रविधिको विकासले पैदा गरेको सम्भावना र प्रकृतिको आवश्यकताले मानिस एक–अर्कामा कति धेरै अन्तरनिर्भर भइसकेको छ भने उसको वैयक्तिकता भनेकै सामूहिक हितबाहेक अरू केही पनि होइन । एक जाति अर्को जातिसँग, एक देश अर्को देशसँग उत्तिकै अन्तरनिर्भर छ चाहे त्यो ठूलो र सानो, विकसित र अविकसित देश वा कथित सभ्य जाति र असभ्य जाति नै किन नहोस् । तर पुँजीवादले निर्धारित व्यक्ति सर्वोच्चताको मानकले ‘सक्नेले गरिखाऊ, नसक्ने मरिजाऊ’ भन्ने ठाउँमा जबर्जस्त धकेलिदिएको छ । जहाँ मानवीय स्वत्व केवल पुँजीको स्वत्व बन्न गएको छ । स्वतन्त्रता केवल पुँजीको गुलाम बन्न गएको छ ।

पृथ्वीलाई दर्जनौँपटक टुक्रा पार्नसक्ने अणु–अस्त्रको निर्माण प्रकृतिवाद होइन । जर्ज फ्लोइड र नवराज विकहरूको हत्यामा लाठी र मुङ्ग्री बर्साउनु वा त्यो हत्यालाई चुपचाप हेरी बस्नु मानवतावाद होइन । आजको युगमा आधुनिक प्रविधियुक्त निवास छोडेर जङ्गलमा कुटी बनाएर बस्नु मात्रै पनि जैविकवाद हुन सक्दैन । त्यसैले आउनुस् मित्रहरू, युगीन अभियानमा सहभागी बनौँ– अबउप्रान्त कुनै पनि देशले अणु–अस्त्र निर्माण गर्न नपाइने कार्यको थालनी गरौँ । मानिसले मानिसलाई मार्न प्रयोग गरिने कुनै पनि प्रकृतिका हतियार निर्माण कारखानाहरू बन्द गर्न आजैका दिनदेखि लागौँ । प्रत्येक देशका सरकारहरूलाई दबाब दिऊँ । संसारभरका जनतालाई यो अभियानमा लामबद्ध बनाऔँ । के यो सम्भव काम हो ? हामीलाई विश्वास छ यो सम्भव कार्य हो, अझ त अति आवश्यकीय कार्य हो । तर संसारभरका पुँजीपतिहरू र तिनको राजनीतिक प्रतिनिधित्व गरिरहेका सत्ताका मालिकहरू एउटै स्वरलहरीमा चिच्याउनेछन्– यो त उग्रवाद भयो, अराष्ट्रियता भयो । साँच्चै यो अभियान तुफानी वेगमा अघि बढेमा उनीहरू यसलाई अन्तर्राष्ट्रिय आतङ्कवादको संज्ञा दिनेछन् र भएभरको बल लगाएर त्यसखाले अभियानलाई दबाउन लाग्नेछन् । त्यतिबेला जनताले उनीहरूसामु निरीहताका हात फैलाउनु आत्महत्या मात्र ठहर्नेछ । प्रतिरोध, त्यो पनि विश्वव्यापी प्रतिरोध त्यसखाले अभियानको एक मात्र विकल्प बाँकी रहनेछ । पुँजीपतिहरूलाई उपदेश दिएर सदाचारको अपेक्षा राख्नु मूर्खता मात्र हो किनकि भ्रष्टाचार नै उनीहरूको सदाचार हो । लुट, शोषण उनीहरूको प्राकृतिक गुण हो । चाहे त्यो औषधिको उत्पादनमा होओस् वा खाद्यान्न उत्पादनमा होओस् किनकि पुँजीवादमा उत्पादन सामाजिक आवश्यकता परिपूर्ति गर्न होइन, बिल्कुल नाफा आर्जनका लागि गरिन्छ । आज संसारभर यही पुँजीवादी राजनीतिक प्रणाली व्याप्त छ । निजी सम्पत्तिमा आधारित यो प्रणालीको अन्त्य तब मात्र सम्भव छ जब संसारभरका श्रमजीवी जनता र बेरोजगार शक्ति आआफ्नो देशका सरकारका विरुद्ध विद्रोहमा लामबद्ध हुँदैनन् । यो कार्य सजिलो पक्कै छैन । संसारभर एकसाथ भइहाल्ने कार्य पनि यो होइन तर जुनुनै देशबाट भए पनि यो अभियानको थालनी गर्नु, यसलाई विश्व–अभियानका रूपमा अघि बढाउनु नै प्याराडाइम सिफ्ट हो ।

ठोकुवा गरेर भन्नै पर्दछ, ‘पुँजीवादका विरुद्धको वैकल्पिक प्याराडाइम केवल साम्यवाद र त्यसको पूर्वचरणका रूपमा स्थापित गरिने समाजवाद मात्र हो ।’ समाजवादका रूपमा स्थापित गरिने सामाजिक उत्तरदायित्वसहितको अर्थ–सामाजिक प्रणाली जहाँ सदाका लागि वर्गको अन्त्य हुनेछ, युद्धको अन्त्य हुनेछ र शोषणको बीजाणुका रूपमा रहेको निजी पुँजीको अन्त्य हुनेछ । जहाँ मानिसले बेफिक्री विज्ञान र प्रविधिको उच्च प्रयोग गर्नेछ, जुन प्रविधिले मानिसलाई सुखी बनाउने मात्र होइन, त्यसले जैविक रूपमै मानिसलाई बलियो बनाउन सम्भव हुनेछ । त्यो नै साँच्चैको मानवतावाद, प्रकृतिवाद वा जैविकवाद हुनेछ । अतः केवल माक्र्सवाद, केवल साम्यवादबाहेक अरू तर्क आध्यात्मिक रूढिवाद, छद्म पुँजीवाद वा शून्यवादबाहेक अरू केही हुँदैन । आउनुस्, प्याराडाइम सिफ्टको अभियानलाई साँच्चै सार्थक बनाऔँ ।

२९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :