रोल्पाली युवाहरुले भने–‘नेपालमा हुने नयाँ क्रान्तिको लागि हामी तयार छौँ’

रोल्पा : क्रान्तिको अभेद्य किल्लाका रोल्पाका युवाहरुले प्रचण्ड बाबुरामले क्रान्तिलाई अधुरो छोडेर आम जनता र युवाहरूलाई निराश बनाइरहेको अबस्थामा विप्लवले पुनः क्रान्तिको झन्डा उठाएर यसको नेतृत्व गरेकोले जनतामा ठुलो आशा पलाएको बताएका छन् । साथै उनिहरुले पार्टी र क्रान्तिको लागि आफुहरु जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताएका छन् ।
रोल्पाका युवा नेता तथा नेकपाका रोल्पा सचिव दिनेश बिक्रम चन्दले त्यँहा आयोजीत युवाहरुको एक भेलालाई सम्बोधन गर्दै युवाहरू नै देश परिवर्तनको मुख्य संवाहक भएकाले सबै तह र तप्काका युवाहरू एकजुट भएर सहिदहरुका अधुरा सपना पूरा गर्न नेपाली जनताको न्याय, मुक्ति, स्वतन्त्रता, समानता, स्वाधीनता, राष्ट्रियता, जनतन्त्र, जनजिविकाको निम्ति एकिकृत जनक्रान्तिको महान अभियानमा लामबद्ध हुनुपर्ने बताए । दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न युवाहरूको महत्वपूर्ण भुमिका हुने भएकाले युवाहरु सचेत ढंगले अगाडि बढ्नुपर्ने सेक्रेटरी चन्दले जोड दिएका छन् । अहिले समाजमा देखिएका बिकृती, विसंगति, स्थानीय तहहरुमा भैरहेको भ्रष्टाचार, अनियमितता, लुटपाट, ढिलासुस्ती, अन्याय, अत्याचार, विभेद स्थानीय जनप्रतिनिधिहरुको दादागिरीलाई अन्त्य गर्न र जनताको आवश्यकता अनुसार जनसेवाको कार्यमा एकजुट भएर जुट्न युवाहरुलाई निर्देशन दिएका छन् ।
यस्तै युवा संगठन नेपाल रोल्पाका अध्यक्ष प्रज्वलले युवाहरू एक भएर दलाल संसदीय व्यवस्थालाई अन्त गरी बैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्न गाउँ गाउँ र बस्ती बस्ती बाट र्जुमुराउनु पर्ने समय आएको बताए ।
यस्तै अखिल(क्रान्तिकारी) दाङ जिल्ला सदस्य देबराजले आवश्यक परेको खण्डमा युवा विद्यार्थीहरु कापी कलम र आफ्ना व्यक्तिगत काम छोडेर मुक्तिको निम्ति बलिदान गर्न तयार हुनुपर्ने बताए ।
युवा संगठनको उक्त भेलामा विशेष अतिथि नेकपा रोल्पाका सल्लाहकार गणेश बुढा, परिवर्तन गाउँ कमिटिका सेक्रेटरी महेश, अखिल क्रान्तिकारी दाङ जिल्ला सदस्यहरु हिमाल, चुडामणि, नेकपा परिवर्तन गाउँ कमिटि सदस्य डायमण्ड, दलित मुक्ति मोर्चा नेपालका परिवर्तन गाउँ कमिति अध्यक्ष वृहस्पति, लामो समय जेल जीवन बिताएका नेकपाका परिवर्तन गाउँ कमिटी सदस्य गणेश घर्ती, ४ नं वडाका सेक्रेटरी हिमाल लगाएत उपस्थित थिए ।
युवा संगठन नेपाल रोल्पा जिल्ला समिति सदस्य तथा परिवर्तन गाउँ कमितिका पुर्व अध्यक्ष सुरेन्द्र डाँगीको अध्यक्षतामा भएको भेलालाई युवा संगठन नेपाल परिवर्तन गाँउ कमिटिका पुर्व सदस्य राजेन्द्र डाँगीले संचालन गरेका थिए भने स्वागत मन्तव्य नेकपा परिवर्तन गाउँ कमिटी सदस्य जगतले गरेका थिए ।
परिवर्तन गाउँको उक्त दोस्रो भेलाले कुमारको अध्यक्षतामा १७ सदस्यीय परिवर्तन गाउँ कमिटि चयन गरेको छ । सामाजिक दुरि कायम गर्दै करिब एक सय जना युवाहरूको उपस्थितिमा भेला भब्य रुपमा सम्पन्न भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :