देशभक्त जनगणतान्त्रिक मोर्चाले पनि गर्यो आन्दोलनका लागि तयार रहन आह्वान !

काठमाडौँ : मोहन वैद्य ‘किरण’ निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले देश विकराल अवस्थामा पुगेको भन्दै जनतालाई अर्को सशक्त आन्दोलनका लागि तयार रहन आह्वान गरेको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै केपी वली सरकारले जनघात, राष्ट्रघात, महँगी, भ्रष्टाचार, कमिसनबाट देश टाट पल्टाउन लागेकाले निर्णायक सङ्घर्षमा उत्रिन जनतालाई आह्वान गरेका हुन् । स्मरणीय छ, नेकपाका महासचिव विप्लवले आइतबार बिहान विज्ञप्ति जारी गर्दै दलाल संसदीय सत्ताको विकल्पको तयारीका लागि सङ्घर्षमा जुट्न आह्वान गरेका थिए ।

मोर्चाका अध्यक्ष गजुरेलको विज्ञप्तिमा भनिएको छ, ‘देश यतिखेर विकराल सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विदेशी शक्ति केन्द्रहरू, दलाल पुँजीपति र बिचौलियाको निर्देशनमा सञ्चालित यो सरकारको पालामा ‘मर्न आँटेँ, उपचार पाऊँ !’ भन्दाभन्दै सुत्केरी र कोभिड १९ का बिमारीहरूको ज्यान गएको, ‘सास जान आँट्यो, केही त खान पाऊँ !’ भन्दै विपन्न वर्गका मानिसहरूले प्राण त्याग्नुपरेका घटनाले सञ्चारमाध्यमहरू रङ्गिएका छन् । भोको पेट लिएर स्वयम्सेवी संस्थाहरूद्वारा वितरण गरिएको खाना खान खुलामञ्चमा आएका भोका जनतालाई नजिकै धुमधाम साथ मनाइएको संविधान दिवसमा डिस्टर्ब हुन्छ भनेर प्रहरीले लखेटेको दृश्य देख्दा कसको मन नरोला ? सामान्य मागहरूलाई लिएर सडकमा उभिएका जनतामाथि प्रहरीले बजारेको लाठीको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने कुराको सर्वत्र चर्चा चलेको छ । विश्वका झन्डै २०० भन्दा बढी देशमा महामारीका रूपमा फैलिएको महाव्याधि कोरोनाको उपचार अबआइन्दा सरकारले नगर्ने, बिरामी आफैँले गर्नुपर्ने भन्ने निर्लज्ज र चरम गैरजिम्मेवार फरमान जारी गर्दैछ यो सरकार । संसद्मा पारित हुनबाट जोगिएको एमसीसी सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसद्को आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिँदैछ । जनसङ्घर्षको दबाबबाट नेपालको नक्सा सार्वजनिक गरिएको भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि भारत सरकारले सिकन्जा झन् कस्दै लगेको छ तर सरकार तमासे बनेर हेरिरहेको छ । कालापानीमा भारतीय सेना परेड खेली नै रहेका छन् । साठी लाखभन्दा बढी युवाहरू बेरोजगार हुने अनुमान गरिँदैछ तर रोजगारीको कुनै ठोस योजना छैन । राज्यको ढुकुटी भ्रष्टाचार र कमिसनबाट रित्तिने अवस्थातिर गैरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा यो सरकारले गरेको अति अब खपिनसक्नु हुँदैछ । हामीले सरकारलाई जानकारी गराउने, सचेत गराउने, दबाब दिने सबै काम गरिसकेका छौँ । संसद्मा भएको कथित दुई तिहाइको दम्भ प्रदर्शन गर्नुबाहेक जनताको आवाज सुन्ने पक्षमा यो सरकार देखिँदैन । यस्तो अवस्थामा अब अर्को जनआन्दोलनमा उत्रनुशिवाय अन्य कुनै विकल्प छैन । त्यसैले इतिहासका निर्माता नेपाली जनतासँग अर्को ऐतिहासिक जनआन्दोलनका निमित्त हरतरहले तयार रहन हामी विनम्रतापूर्वक अनुरोध गर्दछौँ । अहिले जे भैरहेको भए पनि अन्त्यमा जित नेपाली जनताको नै हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :