केन्द्रीय सदस्य लकान्द्री दलित मुक्ति मोर्चाबाट निष्कासित

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवम् मेची क्षेत्रीय समिति संयोजक मोहन लकान्द्रीलाई मोर्चाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वैचारिक रूपमा विचलन भई पलायन भएका लकान्द्री विगत करिब एक वर्षदेखि पार्टीको छानबिनमा रहेको र उनमा थप वैचारिक विचलन पैदा भई पलायन भएकाले उनलाई मोर्चाको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएर कारबाही गरी निष्कासन गरिएको जानकारी गराएका छन् ।

‘मोर्चाले गरिरहेको शान्तिपूर्ण जनआन्दोलनमाथिको हस्तक्षेपलाई हामीले वैचारिक दृढता र त्रान्तिकारी साहसका साथ मुकाबिला गरिरहेको बेला मोर्चाका दर्जनौँ नेता तथा कार्यकर्ताहरू अहिले पनि राज्यको हिरासत र जेलमा आस्थाकै आधारमा बन्दी जीवन बिताइरहेका छन्’, विकको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा आन्दोलनका क्रममा यसप्रकारका उतार(चढाव, विचलन र पलायन भइरहने हुनाले यस घटनालाई पनि त्यही रूपमा ग्रहण गर्न र आन्दोलनमा निरन्तर लागिरहन अध्यक्ष विकले मोर्चाका सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :