समाज विज्ञान र वर्गसङ्घर्ष – पारसमणि

वैज्ञानीकरण र सरलीकरण गर्नु आजको आवश्यक्ता हो

PARASMANIबहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति वा सङ्गठनले निकाल्ने वैज्ञानिक र अवैज्ञानिक निष्कर्षका आधारमा उनीहरूको समान वा असमान दृष्टिकोण देखा परिरहेको हुन्छ । ब्रम्हाण्ड र वस्तुलाई विहङ्गम ढङ्गले व्याख्या गर्न खोज्ने तर गलत निष्कर्ष निकाल्नेहरू अवैज्ञानिक साबित भए । यो कुरा प्रकृति विज्ञान, समाज विज्ञान र राज्यसत्ता सम्बन्धी अवधारणा जस्ता सबै विषयमा लागु हुने गर्दछ । प्रकृति र समाजको उत्पत्तिलाई इश्वरीय देन देख्नेहरूले कि त आफैलाई ब्रम्हाण्डको निर्माताको रूपमा घोषणा गरे कि त कुनै कालखण्डमा स्वघोषित ईश्वरको देनलाई आधुनिक विज्ञानको विरुद्ध खडा गर्ने दुष्प्रयास गरे र गरिरहेका छन् ।

हेगेल र फायरवाखले सामाजिक दर्शनको क्षेत्रमा उक्त अपूर्णतालाई पूरा गर्ने कोशिस त गरे तर सफल हुन सकेनन् । प्रकृति विज्ञानमा उर्जा शक्तिको अनुसन्धान, चाल्र्स डार्बिनको विकासवादी सिद्धान्त लगायातका अनुसन्धानले त्यस अवैज्ञानिक हल्लाहरूको खारेजी गरिसक्दा पनि समाज विज्ञानमा त्यस कुराको न कुनै खण्डन सम्भव भयो न त त्यसका विरुद्ध कुनै तथ्यपरक अनुसन्धान नै । माक्र्स र एङ्गेल्सले त्यतिबेलासम्म भएका वर्गसङ्घर्षको सार खिच्दै ऐतिहासिक भौतिकवादी द्वन्द्ववादको अनुसन्धान गर्नुभयो । जो अहिले सामाजिक विज्ञानको रूपमा प्रख्यात छ । यसलाई विज्ञानको पनि विज्ञान भनिन्छ । अतः यसलाई प्राकृतिक सङ्घर्ष र वर्गसङ्घर्ष को एकीकृत र समुच्च ज्ञानका रूपमा परिभा¬षित गरिएको छ । आज फेरि प्रकृति विज्ञानमा नयां खोज सम्भव भएको छ । सन १९९२ तिर “डेजर्ट आइल्याण्ड डिस्कस” भन्ने टिभी कार्यक्रममा सुआवलिले लिएको अन्तरवार्तामा “अब तपाईको कुन कार्य गर्ने इच्छा छ ? भन्ने प्रश्नको जवाफमा हकिङ्ग्ले भनेका छन् “मेरो इच्छा गुरुत्व आकर्षण र प्रकृतिगत अन्य बलहरूलाई एकत्रित गरेर एउटा महा एकीकृत सिद्धान्त प्रस्तुत गर्ने छ । “भौतिक विज्ञानमा अनुसन्धान गरिएका पछिल्ला आविष्कारहरू “सापेक्षताको सिद्धान्त” र “अनिश्चितताको सिद्धान्त” लाई एकीकृत भौतिकीको सिद्धान्तमा विकास उनको त्यही महा एकीकृत सिद्धान्त प्रस्तुत गर्ने उद्देश्य मा सफलता हो ।

कृष्णबिवर (ब्ल्याक होल) को अनुसन्धान र त्यस सम्बन्धी वैज्ञानिक अवधारणा पनि प्रकृति विज्ञानमा मानव खोजको नयाँ हस्तक्षेप हो । यसरी भौतिक विज्ञानमा नयाँ नयाँ आविष्कार भएका छन् । भौतिक विज्ञानमा मानवीय ज्ञान तथा उसको योग्यता र चाहनाबारे हकिङ्ग भन्दछन् “ज्ञानको लागि मानवताको अत्यन्त गहिरो चाहना हाम्रो अनवरत खोजको पर्याप्त औचित्य पुष्टि हो । र, हाम्रो लक्ष्य यो ब्रह्माण्डको पूर्ण वर्णनभन्दा कुनै कम छैन । जहाँ हामी बस्छौ। “प्रकृति तथा भौतिक विज्ञानमा भौतिकशास्त्रीहरू यति धेरै आफ्नो विषयप्रति अनुसन्धानरत छन् र सफलताको लागि विश्वस्त पनि । उनीहरू विस्तारित र परिवर्तनशील ब्रह्माण्डको व्याख्या गर्न र निष्कर्ष निकाल्न पहिला अनुसन्धान गरिएका नियमहरूले काम चलेन भने वैज्ञानिक नयाँ नियमहरू विकास गर्न तल्लिन हुन्छन् र सफलता हात नपरुन्जेल खुला अनुसन्धानमा लागिरहन्छन् । डक्टरद्वारा तिम्रो जीवन दुई बर्षसम्म मात्र रहन्छ र तिम्रो कुनै बच्चा पनि हुदैनन् भनी ठोकुवा गरिएका हकिङ र उनको टिम त्यसको उच्च नमुना हुन् । तर समाज विज्ञानबारे समाजशास्त्रीहरू किन विकसित समाज, त्यसको आधुनिक परिवर्तन र त्यसका विकसित नया अतर्विरोधहरूको वस्तुवादी सश्लेषन गर्न सकिरहेका छैनन् ? यो एउटा विडम्बना हो । त्योभन्दा बढी बिडम्बना त यो हो कि अहिलेको विकसित समाजलाई बुझ्न् र बदल्न समाज विज्ञानका पुराना नियमहरूबाट मात्र काम चलाउन खोज्नु । सबभन्दा वैज्ञानिक भनिएका कम्युनिस्ट दार्शनिकहरू नै समाज र समाज व्यवस्थामा आएको परिवर्तनप्रति सरोकार नराखिकन पुराना दर्शनशास्त्रका हरफहरू पढ्ने अभिभारा मात्र पूरा गर्दछन् । यसले यो बुझाउँदछ कि उनीहरू भौतिक विज्ञानमा अनुसन्धान गरिएका पछिल्लो आविष्कारबाट अनभिज्ञ छन् । यदि उनीहरू त्यसमा विज्ञ नै छन् भने पनि त्यसलाई समाज विज्ञानका नयाँ नियमहरू पत्ता लगाउने आधारको रूपमा प्रयोग गर्न असक्षम छन् ।

वर्तमान विश्वका सबै कम्युनिस्ट नेताहरू माक्र्स, लेनिन, माओले गरेका व्याख्या र निकालिएका निष्कर्ष भन्दा एक इन्च तलमाथि गर्नुहुन्न भन्नू यस कुराको प्रमाण हो । कम्युनिस्ट विचारमा देखिएको यही कमीलाई अहिलेको सापेक्षतामा पूरा गर्ने अठोटसहित हाम्रो पार्टीले “एकीकृत जनक्रान्ति” को अवधारणा अघि सारेको छ । एकीकृत जनक्रान्तिको अवधारणाले कम्युनिस्ट लक्ष्य, विधि र व्यवस्थापनलाई समेत सरल बनाउने अठोट राख्दछ । मूल रूपमा विज्ञान र व्यवस्थापनको सरलीकरण गरेर आम श्रमजीवी वर्गलाई वैज्ञानिक समाजवादको नेतृत्वमा विकसित गर्नु यसको व्यवहारिक काम हुनेछ । विज्ञान र व्यवस्थापनको सरलीकरणबारे हकिङको निकै सटिक भनाई यस्तो रहेछ “यदि हामीले एउटापूर्ण सिद्धान्तको खोज ग¥यौँ भने पनि त्यो केबल केही वैज्ञानिकसम्ममा मात्र सिमित हुनु हुँदैन । बरु यथासम्भव एक स्पष्ट सिद्धान्तको रूपमा संसारको सामुन्ने आउनु पर्छ । तब हामी सबै वैज्ञानिक, दार्शनिक र जनसामान्यले एउटै मञ्चमा बसेर यस बहसमा भाग लिन सक्ने छौँ । (यस ब्रह्माण्डको अस्तित्व आखिर किन छ ?” हामीले पनि वर्तमान कम्युनिस्ट सिद्धान्त, त्यसको व्यवहारिक सम्पादन र भावी परिकल्पनाबारे नेता र जनता सङ्गै बसेर छ्लफल गर्नसक्ने गरी वैज्ञानीकरण र सरलीकरण गर्नु आजको आवश्यक्ता हो ।

प्रतिक्रिया दिनुहोस्