नेकपा नेता वीरजङ्गलाई सर्वोच्चको आदेश लत्याउँदै पुनः गिरफ्तार गरियो, सुनसरी लग्ने तयारी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न सर्वोच्च अदालतले दिएको आदेश लत्याउँदै प्रहरीले पुनः गिरफ्तार गरेको छ । नेता वीरजङ्गलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि गिरफ्तार गरेर सुनसरी लग्ने तयारी गरेको हो ।

सङ्खुवासभा हिरासतमा रहेका नेता वीरजङ्गलाई सर्वोच्च अदालतको आदेशमा रिहा गरेलगत्तै शुक्रबार साँझ अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेको थियो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र टङ्कबहादुर मोक्तानको इजलासले नेता वीरजङ्गलाई आज न्यायाधीशको रोहबरमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्चले नेता वीरजङ्गलाई प्रवृत्त भावनाबाट प्रेरित भई गैरकानुनी थुनामा राखिएको ठहर गर्दै रिहा गर्न आदेश दिए पनि रिहालगत्तै उनलाई प्रहरीले फेरि गिरफ्तार गरेको हो ।

सर्वोच्च अदालतकै आदेशमा भोजपुर कारागारबाट भदौ ९ गते रिहा भएका वीरजङ्गलाई गिरफ्तार गरी सङ्खुवासभा लगिएको थियो । सङ्खुवासभाबाट पनि रिहा भएलगत्तै उनलाई गिरफ्तार गरी फेरि सुनसरी लग्न थालिएको समाचारमा जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र टङ्कबहादुर मोक्तानको इजलासले नेता वीरजङ्गलाई सङ्खुवासभा जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

नेता वीरजङ्गलाई थुनामुक्त गर्न माग गर्दै पुष्पक चन्दले जिल्ला प्रहरी कार्यालय सङ्खुवासभासमेतलाई विपक्षी बनाएर दिएको बन्दी प्रत्यक्षीकरण रिटमा फैसला गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘निवेदक चन्द्रबहादुर चन्दलाई मिति २०७६/६/३० गते दाङबाट पक्राउ गरी दाङ जिल्ला अदालतमा मुद्दा चलाई दाङ जिल्ला अदालतबाट मिति २०७६/९/७ गते रु. १५,००।– धरौटी माग गरी धरौटी दाखिल गरेलगत्तै निवेदकलाई पुनः दाङ जिल्ला अदालतबाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आगो लगाएको (सङ्गठित अपराध) र विस्फोटक पदार्थ सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाई थुनछेकका क्रममा मिति २०७७/४/१५ गते साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्ने आदेश भएकोमा त्यसको लगत्तै तेस्रोपटक यी निवेदकलाई काभ्रेपलाञ्चोक जिल्ला अदालत परिसरबाट पक्राउ गरी भोजपुर पुर्याइएकोमा निवेदकका तर्फबाट यस अदालतमा मिति २०७७/४/२५ गते बन्दी प्रत्यक्षीकरणको निवेदन परिरहेकै अवस्थामा भोजपुर जिल्ला अदालतमा सङ्गठित अपराध मुद्दा चलाइरहेको अवस्थामा यस अदालतबाट निवेदकलाई थुनामुक्त गर्ने आदेश भई थुनामुक्त भएपछि यी निवेदकलाई पुनः सङ्खुवासभा जिल्ला अदालतमा सङ्गठित रूपमा हातहतियार खरखजानासमेतका मुद्दा लगाई यी निवेदकलाई निरन्तर रूपमा थुनामा राख्ने कार्य गरेको निवेदनसमेतबाट देखिँदा यी निवेदकलाई पटकपटक थुनामा राख्ने कार्य प्रवृत्त भावनाबाट प्रेरित भई गरिएको देखिएकाले निजलाई उक्त गैरकानुनी थुनाबाट मुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ । निवेदक बन्दीलाई सङ्खुवासभा जिल्ला अदालतका न्यायाधीशको रोहबरमा थुनामुक्त गर्नू भनी लेखी पठाउनू । प्रस्तुत फैसलाको पूर्ण पाठ तयार हुन समय लाग्ने हुँदा सङ्क्षिप्त आदेश जारी गरिदिएको छ ।’

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गर्दै नेता वीरजङ्गलाई सङ्खुवासभा जिल्ला अदालतका न्यायाधीशको रोहबरमा थुनामुक्त गर्नू भनी आदेश दिएपछि जिल्ला अदालत सङ्खुवासभाले नेता वीरजङ्गलाई रिहा गर्ने तयारी गरेको जानकारी अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईंले दिएका थिए । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको रोहबरमा नेता वीरजङ्गलाई रिहा गर्ने तयारी गरिएको प्रसाईंले बताएका थिए । सर्वोच्चले न्यायाधीशको रोहबरमा अविलम्ब रिहा गर्न आदेश दिएको पत्र प्राप्त भएकाले शुक्रबार राती नै रिहा गर्ने तयारी भएको उनले बताएका थिए ।

प्राप्त समाचारअनुसार यसअघि जिल्ला प्रहरी कार्यालयको प्रहरीले नेता वीरजङ्गलाई अदालतमा लगेको थियो । जिप्रका सङ्खुवासभाका डीएसपी नवराज मल्लले सर्वोच्चको आदेशलगत्तै जिल्ला अदालत चैनपुरमा उपस्थित गराउन चन्दलाई पठाइएको जानकारी सञ्चारमाध्यमहरूलाई दिएका थिए ।

नेकपा नेता वीरजङ्गका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, खिमानन्द अधिकारी, सन्तोष कोइराला, राजु अधिकारी, चिरञ्जीवी ढकाल र चूडाबहादुर निरौला तथा विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता ज्ञानप्रसाद भुसाल र लोकराज पराजुलीले बहस गरेको सर्वोच्चको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :