मूल्यवृद्धि फिर्ता नलिए आयल निगमका ट्याङ्करमा प्रतिबन्ध लगाउने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाले प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता नलिइए सीमानाकाबाट आउने नेपाल आयल निगमका ट्याङ्करमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

निगमले गरेको मूल्यवृद्धिप्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताउँदै क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता गर्न चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ ।

झापा जिल्ला संयोजक कुमारद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको विषम परिस्थितिमा जनताको रक्षक बन्नुपर्ने बेला महामारीको अवस्था देखाउँदै निर्विकल्प रूपमा केपी वली सरकारद्वारा लादिएको निरन्तर बन्दाबन्दी र निषेधाज्ञाले जनताको दैनिक जीवन धान्नसमेत ज्यादै कठिन रहेको समयमा गरिएको मूल्यवृद्धिप्रति घोर निन्दा एवम् भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला वली सरकार आफ्ना जनताको कमजोर अवस्थाको हेक्का नै नराखी केवल भारतीयहरूले पठाएको पत्र देखाउँदै मूल्यवृद्धि गर्दै जनताको जीवन झन् कष्टकर बनाउँदै जाने अनैतिक र गैरजिम्मेवारीपनले जनतामारा खेलमा व्यस्त रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको मूल्यवृद्धिको निर्णय तत्काल फिर्ता लिन हाम्रो सङ्गठन सरकारसँग जोडदार माग गर्दछ । साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे झापाको सीमानाका काँकडभिट्टा र भद्रपुरबाट आउने सबै तेलका ट्याङ्करहरूमाथि प्रतिबन्ध लगाउने चेतावनीसमेत दिन चाहन्छौँ ।’

केही दिनअघि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्यवृद्धि भएको भन्दै प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :