रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा अस्पतालबाटै गिरफ्तार

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी लेखक एवम् साहित्यकार अनिल शर्मा ‘विरही’ लाई प्रहरीले अस्पतालबाटै पुनः गिरफ्तार गरेको छ । लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका शर्मालाई आज प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै गिरफ्तार गरेको हो । शर्माविरुद्ध धनुषामा अर्को मुद्दा रहेको भन्दै प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पतालमा उपचार गराइरहेकै बेला प्रहरीले शर्मालाई वैशाख २३ गते गिरफ्तार गरेको थियो । शर्माका पक्षबाट जिल्ला अदालत चितवनमा दायर रिटउपर भएको बहसमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको भए पनि प्रहरीले उनलाई अस्पतालमा घेरा हालिरहेको थियो । बिरामी अवस्थामा अस्पतालमै प्रहरीले घेरा दिएको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।
मानवअधिकारकर्मी, पत्रकार, कानुनव्यवसायी, लेखक, साहित्यकार सबैले शर्मालाई बिनासर्त रिहा गर्न र उपचाररत अवस्थामा प्रहरी लगाई घेरा नहाल्न यसअघि नै अनुरोध गर्दै आएका थिए । शर्माको पुनः गिरफ्तारीको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :