लथालिङ्ग देशको भताभुङ्ग चाला जो रेडक्रस जाला, करोडौँ खाला

देशको केन्द्रीय प्रशासन, राजनीति र कार्यनीति नै लथालिङ्ग भएपछि त्यसको असर सबैतिर पर्नु स्वाभाविक नै हो । नेता, मन्त्री र कर्मचारी त कमाउनकै लागि लगानी गरेर पदमा पुगेकाले शक्ति हातमा परेपछि त्यसको दुरुपयोग गरेर नकमाउने त कुरै भएन तर सामाजिक काम गर्न भनेर सामाजिक सङ्घसंस्थाको पदमा पुगेकाहरू नै भ्रष्ट निस्किएपछि मानिसले कसलाई विश्वास गर्ने ? त्यस्तै भएको छ नेपाल रेडक्रस सोसाइटी नामको संस्थामा पनि । रेडक्रस पदाधिकारीहरूले नै अनुचित तरिकाले डेढ करोड घोटाला गरेको भनेर कारबाहीसूची प्र्रकाशित भएपछि मानिसहरू छक्क परेर उनीहरूमाथि कहिले कारबाही होला भनेर प्रतीक्षा गरिरहेका छन् ।
कुरा ०७२ वैशाख १२ को महाभूकम्पतिरको भए पनि घटना यतिबेला सार्वजनिक भएको छ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्य समितिका पदाधिकारीहरूले त्यतिबेला आफ्नो मासिक सेवा–सुविधा आफैँ तोकेर घोटाला गरेको अहिले सार्वजनिक भएको हो । ०७२ साल असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बसी नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापालगायत पदाधिकारीहरूको सेवासुविधा बढाएको र ‘आकस्मिक लाभ’ भएको भन्दै अध्यक्ष सञ्जीव थापाले मासिक एक लाख २५ हजार, उपाध्यक्ष अजितकुमार शर्माले ४० हजार, महामन्त्री देवरत्न धाख्वाले ९८ हजार तीन सय ४९, उपमहामन्त्री हरि न्यौपानेले ५४ हजार, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले ६३ हजार दुई सय ४९ र भूकम्प प्रतिकार्य समितिका सदस्य भक्त खवासले ४० हजार रुपैयाँ तीन वर्षसम्म निरन्तर बुझेपछि त्यसको कुल डेढ करोड रुपैयाँ हिनामिना भएको सार्वजनिक भएको छ ।
रेडक्रस पदाधिकारीले अनुचित लाभ लिएको विषयमा गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले छानबिन गर्दा उक्त तथ्य सार्वजनिक भएको हो । समाचारअनुसार काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले साउन २७ गते हस्ताक्षर गरी दोषीहरूलाई आवश्यक कारबाही गर्न समितिको प्रतिवेदनको प्रतिलिपिसहित नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएका छन् ।
प्राप्त समाचारअनुसार समाज कल्याण परिषद्को नियमावलीमा स्वयम्सेवकहरूले मासिक आर्थिक लाभ लिन नपाउने स्पष्ट व्यवस्था भए पनि रेडक्रस पदाधिकारीहरूले मुलुक भूकम्पको चपेटामा परेको समयको गलत फाइदा उठाएर उक्त रकम अनुचित तरिकाले खाएका हुन् । समाचारअनुसार भूकम्पको प्राकृतिक विपत्तिसँगै ‘भूकम्प प्रतिकार्य स्टेरिङ कमिटी’ गठन गरी तत्कालीन अध्यक्ष सञ्जीव थापालगायत पदाधिकारीले अनधिकृत रूपमा रकम बुझेक हुन् । अवैध रूपमा बुझेको यो रकम उनीहरूले आफ्नो जायजेथा बेचेर भए पनि फिर्ता गर्नुपर्ने बताइएको छ ।
समाचारअनुसार तीन वर्षको तलबबापत भन्दै तत्कालीन अध्यक्ष थापाले ४५ लाख ६२ हजार ५ सय रुपैयाँ, धाख्वाले ३३ लाख ६७ हजार ४ सय ६९ रुपैयाँ,, देवेन्द्रबहादुर प्रधानले २१ लाख ५८ हजार एक सय ७० रुपैयाँ, हरिप्रसाद न्यौपानेले १९ लाख ५७ हजार, अजितकुमार शर्माले १४ लाख ६० हजार रुपैयाँ र भक्त खवासले १३ लाख ४० हजार रुपैयाँ खाएका हुन् ।
नेपाल रेडक्रस सोसाइटीको पूर्वकार्यसमितिले गरेको अनियमितता एक महिनाभित्र असुलउपर गर्न समयसीमा तोकेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले पत्राचार गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :