सिङ्गो परिवार नै क्रान्तिमा समर्पित गर्ने रामवृक्ष यादव

तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य सदस्य रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल, धनुषा जिल्लाको बर्मझिया गाविसमा विसं २००३ मा भएको हो । यो अहिले प्रदेश नम्बर २ धनुषा जिल्ला गणेशमान नगरपालिकामा पर्दछ । उनकी आमा सम्पैतदेवी र बुबा रामलखन यादव सामान्य किसान थिए । रामवृक्षले २०२२ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरे । वीरगन्ज ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेर आफ्नै गाउँमा रहेको प्राथमिक तहको विद्यालयमा प्रधानाध्यापक भई जागिर खाए । २०२२ सालमा उनको रामकुमारीसँग विवाह भयो । केही वर्षको अन्तरालमा ४ छोरी र १ छोराको जन्म भयो । घरपरिवार, विद्यालय हुँदै राजनीतिमा प्रवेश गरेका उनी २०२९ सालमा नेकपा चौमको सम्पर्कमा पुगे । २०३० सालमा मजदुर आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै सिराहा, धनुषा, सर्लाही, महोत्तरीलगायत मधेसका विभिन्न जिल्लामा सक्रियताका साथ राजनीति गरे । उनको यस्तो सक्रिय भूमिकाले शान्तिसुरक्षामा खलल पु¥याएको भन्दै तत्कालीन राज्यले उनलाई जेल सजाय दियो ।
रामवृक्ष यादव राजनीतिमा सक्रिय भएकै कारण बर्मझिया गाउँमा सम्पूर्ण नागरिकहरूलाई तत्कालीन प्रशासनले पीडा दिएको थियो । २०३० साल कात्तिकमा जेलमुक्त भएपछि नेकपा चौमले उनको कामबाट प्रभावित भएर २०३१ सालमा पार्टीको सक्रिय सदस्यता दियो ।
तत्कालीन सरकारले कम्युनिस्ट पार्टीसँगको संलग्नता थाहा पाएपछि उनलाई जागिरबाट निष्कासन गरिदियो । २०३५ सालमा बर्मझियामा सामन्त र मजदुरबीच आन्दोलन हुँदा उनी पक्राउ परे र उनी जनताको सहयोगबाट जबर्जस्ती पुलिसको पन्जाबाट फुुित्कएका थिए । २०३५ साल कात्तिकमा सिन्धुलीमा रघुनाथ कोइरालाको हत्याकान्ण्डमा तत्कालीन सरकारको मिलोमतोमा जबर्जस्ती उनलाई फसाइएको थियो । राजनीतिक पृष्ठभूमिका आधारमा राजकाज अपराधअन्तर्गत २०३५ साल पुस १ देखि २०३७ वैशाख ५ सम्म जेल हालियो र पछि राजबन्दी रिहाइमा छुुटे ।
बहुदलको हार र निर्दलको जितपछि रामवृक्ष यादवको घरमा तोडफोड भयो । उनको लाखौँको सम्पत्ति लुटियो । त्यस लुटपाटमा सोभित यादव, किसुनदेव यादव, दयाराम यादव, सन्तोषी यादव, दामोदर यावद, इद्रिसियालगायतको सम्पत्ति लुटिएको थियो । त्यसपछि रामवृक्ष यादवले भूमिगत हुन बाध्य हुनुपरेको थियो । २०३९–४० सालतिर ज्यान मार्ने उजुरीको मुद्दामा षड्न्त्रपूर्ण ढङ्गले तत्कालिन प्रशासनले उनलाई फसाएको थियो । २०४० सालको साउनमा विष खाएर एकजना मान्छे मर्दा त्यसमा पनि तत्कालीन प्रशासनले उनलाई फसाएको थियो । प्रशासनले उनको खुट्टासमेत भाँचिदिएको थियो । उनको जनकपुर अस्पतालमा उपचार भैरहेको थियो । त्यहीँ उपचाररत अवस्थामा जनता र पार्टीको सहयोगमा प्रशासनको कब्जाबाट उनी उम्कन सफल भएका थिए ।
२०४१ सालमा भएको पार्टीको पाँचौँ महाधिवेशनबाट पार्टी विभाजन हुँदा उनले नेकपा मशालको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । षड्यन्त्रपूर्ण ढङ्गले २०४५ साल जेठदेखि २०४८ सालसम्म उनलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत जेलमा राखियो । उनी २०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर घर फर्कंदै थिए । सोही क्रममा २०५१ साल भदौ २ गते तत्कालीन शाहीसेना र प्रहरीले नेपाली काङ्ग्रेसको भीमबहादुर मल्लको इसारामा षड्यन्त्रमूलक तरिकाले हत्या गरे ।
छोरा शेखर यादव पनि क्रान्तिमा सहिद भए
रामवृक्ष यादव र रामकुमारी यादवबाट २०३५ सालमा बर्मझियामा जन्मिएका शेखर यादवले २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । विद्यार्थी जीवनदेखि नै पिताजस्तै तीक्ष्ण बुद्धिका थिए । उनी पार्टी र क्रान्तिप्रति आफ्ना आमाबाबाजस्तै प्रतिबद्ध थिए । उनी तत्कालीन धनुषा जिल्लामा पार्टी काममा सक्रिय थिए । पार्टीमा देखापरेको पलायनवादका विरुद्ध कठोर सङ्घर्ष चलाएका थिए । पार्टी र क्रान्ति छोडेर भाग्नेहरूविरुद्ध उनले अभियान नै चलाएका थिए ।
उनी पिताको आदर्श र विचारलाई शिरोपर गर्दै अघि बढेका थिए । उनी न्यायपूर्ण आन्दोलनमा क्रियाशील रहेको बेला २०५८ साल पुस १४ गते भारतको दरभङ्गाबाट उपचार गराई स्वदेश फर्कने क्रममा जयनगरबाट पक्राउ परेका थिए । त्यसपछि नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषाको इनरुवामा भारतीय प्रहरीले नेपाल प्रहरीलाई सुपुर्दगी गरेको थियो । सुपुर्दुगी गरिएका शेखर यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन सुरक्षाफौजले निर्ममतापूर्वक हत्या गरेका थिए ।
यादवको बाटोमै लागिरहिन् श्रीमती रामकुमारी
विसं २००७ मा सिराहा कल्याणपुरमा सुब्बा यादव र भोकसिनी यादवबाट रामकुमारी यादवको जन्म भएको थियो । रामकुमारी यादवले रामवृक्ष यादवलाई जीवनभर साथ र सहयोग गरिन् । उनी पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध निरन्तर सङ्घर्ष गरिरहने क्रममा पटकपटक गिरफ्तार भइन । हिरासतमा रहँदा उनी आफ्ना ४ वटी छोरी बोधमाया, कल्याणी, सुधा, सुनीता, छोरा शेखर यादव र सासू सम्पैदेवीलाई हेरचाह गर्नेदेखि लिएर पार्टीको काममा समेत सक्रिय भएर लागेकी थिइन् । साथै जेलमा रहेका राममवृक्ष यादवलाई निरन्तर हौसला र प्रेरणा प्रदान गरिरहिन् । रामवृक्ष यादवलाई डकैती, ज्यान मार्ने, राजकाज अपराध मुद्दा लाग्दा पनि त्यसको परबाह नगरी रामकुमारी यादव आफ्ना पति रामवृक्षको आदर्श र निष्ठालाई कहिल्यै पनि झुक्न दिइनन् । घरमा अभाव, विपन्नता र समस्याहरू आउँदा पनि विचलित नभई असल आमाका रूपमा आफ्ना लालाबालाको हेरचाह गरिन् । आफ्ना सन्तानलाई गरिबी र अभावसँग निरन्तर जुध्न सिकाइन् । विस २०५१ भदौ २ गते रामवृक्ष यादवको हत्या भएपछि उनी मूर्छित भइन् तर आफ्ना दुःख र पीडालाई शक्तिमा रूपान्तरण गरिन् ।
विसं २०५८ पुस १४ गते १ मात्र छोरा शेखर यादवको समेत हत्या भयो । २०५९ सालमा छोरी–ज्वाइँ डम्बर यादवको हत्या भयो । निरन्तर हत्या र वेदनासँग जुद्धाजुद्धै पनि सङ्घर्षलाई निरन्तरता दिइरहँदा रामकुमारीका देवरहरू रामसागर अनि रामजुलुमको तत्कालीन शाहीसेनाले हत्या गरे । जनयुद्धमा समेत कटिबद्ध भएर लागेको रामवृक्षको परिवारले ठूलो क्षति बेहोरेको थियो । जनयुद्धमा होमिँदा विभिन्न आरोह, अवरोह र सङ्घर्षलाई अहिले पनि उनका छोरीहरूले पछ्याइरहेका छन् । उनी त्याग, तपस्या, सरलताकी नमुना थिइन् । उनले अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य, संयक्त जनमोर्चा नेपालकी केन्द्रीय सदस्य, मधेसी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीय संयोजक, संयुक्त राष्ट्रिय जनआन्दोलनको संयोजक समितिमा केन्द्रीय उपाध्यक्षदेखि एकीकृत नेकपा माओवादीको केन्द्रीय सल्लाहकार सदस्यको जिम्मेवारी समालेकी थिइन् । उनी अन्तरिम विधायिका सदस्य र २०६४ सालमा संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ६ बाट संविधानसभाको सदस्यमा प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
यसरी रामवृक्ष यादव मास्टरसाहेबको सिङ्गो परिवार नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनमा समर्पित भएको लागेको पाइन्छ तर रामवृक्ष यादव जुन सुझबुझ, हिम्मत, उद्देश्य र साहसले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामबद्ध हुनुभएको थियो, त्यो नेपाल र नेपाली जनताले अझसम्म प्राप्त गर्न सकेका छैनन् । जनयुद्धमा परिवारको एउटा सदस्य पनि नगुमाएका र शरीरमा एउटा घाउचोटसमेत नलागेकाहरू सम्झौताको बाटो हुँदै यही पुरानै सत्तामा विलीन भए । सुखसुविधा भोग गरे तर पनि रामवृक्ष यादवजस्ता हजारौँ क्रान्तिकारीहरू सहिदका परिवारको जीवन आज झन् बिग्रेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि जीवनभर क्रान्तिमा लामबद्ध रामवृक्ष यादवहरूको आदर्श पछ्याएर क्रान्ति पूरा नहोउन्जेल वैचारिक, राजनीतिक, भौतिक हतियार र यात्रा बिसाउनु भनेको सहिद रामवृक्ष यादवहरूको आदर्शको अपमान गर्नु हो । त्यसैले इमानदार क्रान्तिकारीहरूले जनक्रान्तिलाई केन्द्रमा राखेर क्रान्तिकारी आन्दोलन अघि बढाइरहनुपर्छ । श्रमिक जनताको विजय र वैज्ञानिक समाजवादको स्थापना सुनिश्चित छ ।

लेखक :मातृका यादव नेतृत्वको तत्कालीन नेकपा ९माओवादी० का उपत्यका पूर्वसचिव हुन्– सम्पादक ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :