जातीय विभेद गर्नेमाथि कारबाही गर्न दलित मोर्चाको माग

दलित मुक्ति मोर्चा नेपालले झापाको मेची नगरपालिका वडा नं १९ चार्लीमा राजन दर्जीमाथि भएको जातीय विभेदको घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरेको छ ।
दलित मुक्ति मोर्चा नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै खाजा खाइरहेको अवस्थामा भूपू सैनिक दुर्गा श्रेष्ठ र उनकी श्रीमतीले राजन दर्जीलाई तल्लो जातको भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गर्नुका साथै दुर्गा श्रेष्ठले बेल्चाले निर्घात कुटपिट गरेको बताएका छन् ।
ज्यान बचाउन राजन दर्जी गुहार माग्दै छिमेकी चन्द्रकला लामघाते र उनका पति सुमन खातीकँहा पुगेको बेला जातीय विभेदको प्रतिरोध गर्दा एथलेटिक्स कीर्तिमानधारी, प्रहरीमा आबद्ध राष्ट्रिय खेलाडी चन्द्रकला लामघाते र उनका श्रीमान् सुनील खातीलाई विष्णु श्रेष्ठ र दुर्गा श्रेष्ठले विभिन्न गालीगलौज र अपशब्द प्रयोग गरी निर्घात बेल्चाले पिटेको विज्ञप्तिमा उल्लेख छ ।
साथै श्रेष्ठदम्पतीको कुटाइबाट ७ महिनाकी गर्भवती चन्द्रकला लामघाते घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै विज्ञप्तिमा पिटाइका कारण सुमन र मदन दर्जी बिर्तास्थित बीएन्डसी अस्पतालमा उपचार गराइरहेको र उनीहरूको शारीरिक अवस्था साह्रै कमजोर रहेको भन्दै जातीय विभेद र छुवाछूत गर्ने पीडक दुर्गा श्रेष्ठ र निजकी श्रीमती विष्णु श्रेष्ठलाई छुवाछूत कसुर सजाय ऐन २०६८ अनुसार कारबाही र पीडित ३ जनालाई उपचारका लागि सरकारसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :