कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीमाथि अपमान

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनेपछि यसलाई तेस्रो विश्वयुद्धका रूपमा पनि व्याख्या गरिन्छ । यो जैविक विश्वयुद्धको अग्रपङ्क्तिमा छन् सेता वस्त्रधारीहरू र जसको हातमा छ अर्बौं मानिसहरूको जीवन । चीनको वुहानमा कोरोना उच्च बिन्दुमा पुगेकाले लकडाउन गरिएको बेला त्यहाँका स्वास्थ्यकर्मीहरूले रातदिन कडा मेहनत गरे । अनुहारै बिग्रने गरी मास्क र पीपीआई सेट लगाए । उनीहरूले भोकभोकै कति धेरै मेहनत गरे भने उनीहरूले डिउटी समयमा मलमूत्र त्याग गर्नेसमेत समय नभएर डाइपर प्रयोग गर्नुपर्ने अवस्थासमेत आयो । तिनै चिनियाँ स्वास्थ्यकर्मीहरू कोरोना प्रभावित देशहरूमा स्वास्थ्य सामग्रीसहित उपचारका लागि जाँदा उनीहरूलाई एयरपोर्टमा राजकीय सम्मानका साथ बिदाइ गरिएको थियो । यस्तै कोरोनाले इटालीमा हजारौँहजार मानिस एकै दिन मरिरहेको बेला चीनलगायत देशबाट गएका स्वास्थ्यकर्मीहरूलाई त्यहाँका नागरिकहरूले घरका बार्दली र छतहरूबाट फूलको वर्षा गर्दै स्वागत गरे । कोरोनाको इतिहासमा यस्ता दृष्टान्तहरू पक्कै पनि सम्झनालायक क्षण हुन् ।

तर नेपालमा भने त्यसको ठीक उल्टो स्वास्थ्यकर्मीमाथि अपमान गरिएका घटनाहरू ठाउँठाउँमा भएका छन् । अस्पतामा काम गर्ने भएकै कारण कोरोना सार्ने भन्दै कतिपय ठाउँमा घरधनीले स्वास्थ्यकर्मीहरूलाई घरबाटै निकालिदिएका समाचारहरू बाहिरिसकेका छन् । उता चितवनमा पनि एकजना डाक्टरले यस्तै अपमान भोग्नुपरेको छ । साउन २८ गते पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका डाक्टर विश्वबन्धु बगालेलाई कोरोना सङ्क्रमण भयो । कोरोना सङ्क्रमणपछि उनी सेल्फ आइसोलेसनमा बसे । तर कथित जनप्रतिनिधिहरूले टोलसुधार समितिका नाममा केही मान्छेहरूलाई यो कोरोना सङ्क्रमितको घर भनेर डाक्टरको घरमा ब्यानर टाँस्न पठाए । शुक्रबार टोल सुधार समितिका सुशीला ढकालको तेतृत्वमा केही मानिसहरूको भीड डाक्टरको घरमा गएर कोरोना सङ्क्रमितको घर भनेर ब्यानर टाँस्न थालेपछि समाजको चित्र देखेर मन खिन्न बनाएका डाक्टर बगालेले सामाजिक सञ्जालमा यस्ता छिमेकी हुनुभन्दा नभएकै जाती भन्दै सामाजिक बहिष्करणको पीडा अरू कोहीलाई नपरोस् र आत्मबल कमजोर भएका मान्छे तिमीहरूका यस्ता हर्कतबाट नमरून् भनेका छन् ।

स्वाथ्यकर्मी भएर बिरामीको सेवा गर्दागर्दै आफू पनि सङ्क्रमित भएपछि घरको मूल ढोकाभित्रबाट चाबी लगाएर बसेको अवस्थामा आफूहरूलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भनेर फ्लेक्स ब्यानरसहित एक झुण्ड कथित समाजसेवीहरू आफ्नो घरमा आएको भन्दै अचम्मित भएको डाक्टर बगालेको भनाइ छ ।

स्वाथ्यकर्मी भै बिरामीको सेवामा खटिएका र कोरोनाका बारेमा अरूलाई सचेतना दिने डाक्टरलाई पनि संयोगबस कोरोना सङ्क्रमित भएपछि समाजले उसलाई ढाडस दिनुको साटो यसरी अपमान गर्नु सभ्य समाजको काम होइन होला । कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने, सचेतना फैलाउने नाममा अपमान गर्ने जनप्रतिनिधि सम्बन्धित वडाका अध्यक्ष हरि आचार्य र यस्ता छिमेकी भए स्वाथ्यकर्मीको मनोविज्ञानमा कस्तो असर पर्ला ? सोचनीय विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :