म गिरफ्तार किन हुन्छु ?

म भोकको कुरा गर्छु
म रोगको कुरा गर्छु
म अभावको कुरा गर्छु
त्यही भएर म गिरफ्तार हुन्छु !

देश रोएको देख्न सकिनँ
राष्ट्र लुटिएको हेर्न सकिनँ
देश जोगाउन, राष्ट्र बचाउन
गगनभेदी नारा घन्काइरहेँ
त्यही भएर म गिरफ्तार हुन्छु !

महाकाली बेची खानेले
कोसी–गण्डकी पनि बेचेपछि
बिप्पा सम्झौता गर्नेले
कर्णाली पनि अर्कैलाई सुम्पेपछि
म चुपचाप बस्न सकिनँ
त्यही भएर म गिरफ्तार हुन्छु !

५० हजारको पसलेले
३ ठाउँमा कर तिर्नु परेपछि
एनसेलजस्तो लुटेराले
देशलाई कर नतिरेपछि
७४ अर्बको माफी गर्नेले
५५ अर्बमा देश बेचेपछि
टुलुटुलु हेरी बस्न सकिनँ
त्यही भएर म गिरफ्तार हुन्छु !

राजद्रोहको मुद्दा लगाइन्छ
हातमा मात्र मोबाइल भेटिन्छ
सङ्गठित अपराधको मुद्दा लगाइन्छ
मोबाइलमा नेकपाको पोस्टर भेटिन्छ
सार्वजनिक अपराधको मुद्दा चलाइन्छ
चुपचाप बोल्न नदिईकनै
गुन्डा शैलीमा गिरफ्तार गरिन्छ
म यसको विरोध गर्छु
त्यही भएर म गिरफ्तार हुन्छु !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :