नेकपा डोटीले भन्यो– गिरफ्तार गरिएका बोहोरालाई रिहा नगरिए प्रतिरोध

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटीले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई प्रशासनले अनावश्यक दुःख दिने गरेको बताएको छ । नेकपाका डोटी इन्चार्ज तर्कराज र सचिव कालु पाण्डेद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा आफ्नो पार्टीका जिल्ला सदस्य कृष्णबहादुर बोहोरालाई बिहीबार गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरिएको छ ।

राष्ट्रियता रक्षाका लागि लडिरहेको आफ्नो पार्टीलाई सरकारले दमन अभियानको बाटोबाट सक्ने दुस्साहस गरेको भन्दै विज्ञप्तिमा उक्त अमानवीय र मानवअधिकारविरोधी हर्कत बन्द गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘साउन २९ गते धनगढीबाट उपचार गरी फर्किने क्रममा हाम्रो पार्टीका जिल्ला सदस्य कमरेड कृष्णबहादुर बोहोरालाई बड्डीकेदार गाउँपालिकाको विपीनगरबाट दलाल सत्ताका मतियारहरूले बिनाकारण गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउने षड्यन्त्र गरेको घृणित हर्कतप्रति घोर भत्र्सना र निन्दा व्यक्त गर्दछौँ । यस डोटी जिल्लामा भैरहेको भ्रष्टाचार, कमिसन र दलालीको भन्डाफोर गर्दै यस्ता कुकार्य र जनविरोधी गतिविधिका विरुद्ध हाम्रो पार्टी सङ्घर्ष गर्दै आइरहेको हुँदा विगत केही समययता गाउँघरमा रहेका फटाहाहरू र भ्रष्ट जनप्रतिनिधिहरूको योजनामा प्रहरी प्रशासन र सीआईडी–सुराकीहरूले हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूको घरमा खानतलासी गर्ने, पार्टी शुभचिन्तकहरूलाई धम्क्याउने गतिविधि गर्दै आएका छन् । यस्ता अमानवीय र मानवअधिकारविरोधी हर्कत तत्काल रोक्न सम्बन्धित सबैलाई सचेत गराउँछौँ । अन्यथा पार्टीको आवश्यक जनकारबाहीको सामना गर्न तयार हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :