अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने सर्वोच्चको फैसलाप्रति नेपाली भाषाप्रेमीको चेतावनी

काठमाडौँ : नेपाली भाषामाथि हुँदै आएको अतिक्रमण र भ्रष्टीकरणका विरुद्ध आन्दोलनरत ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’ पछिल्लोपटक सवारी साधनमा अङ्ग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने फैसलाको आपत्ति जनाउँदै त्यसको विरो विज्ञप्ति प्रकाशित गरेको छ ।

सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि सरकारी र अन्य निकायबाट षड्यन्त्रपूर्ण ढङ्गले मानक नेपाली भाषालाई ध्वस्त पार्न पटकपटक आक्रमण गरिएकामा यस सञ्जालको सशक्त नेतृत्व एवम् तीव्र दबाबस्वरूप नेपाल प्रज्ञाप्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गराई मानक वर्णविन्यासमा नयाँ शब्दकोश प्रकाशन तथा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गराइसकिएको छ । सञ्जालको दबाबबाटै नेपाल सरकार शिक्षा मन्त्रालय राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट विद्यालय तहका पाठ्यपुस्तक तथा साझा प्रकाशनबाट प्रकाशित सबैको नेपाली (२०६७) पुस्तकमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गराई मानक वर्णविन्यासअनुरूप परिमार्जन गराइसकिएको छ । यसैगरी यस सञ्जालले विभिन्न टेलिभिजनमा प्रयुक्त अमानक वर्णविन्यास सच्याउनाका साथै नेपाल राष्ट्र बैङ्कबाट समेत सबै बैङ्कका एटीएमहरूमा नेपाली भाषा अनिवार्य गराई मानक नेपाली भाषाको जगेर्ना गरेको कुरा पनि सर्वविदितै छ ।’

अध्यक्ष लुइटेलेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषालाई ध्वस्त पार्ने अत्यन्त गम्भीर षड्यन्त्रका रूपमा सवारी साधनहरूमा देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर–प्लेट हटाएर नेपाली भाषाको पहिचान एवम् अस्तित्व नै मेट्ने गरी अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर–प्लेट राख्ने सरकारी निर्णयका विरुद्ध २०७४–५–२१ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका साथै यातायात विभागमा तथा २०७४–११–२१ मा सम्माननीय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराई यस सञ्जालले ज्ञापनपत्र बुझाएर विरोध गरेको कुरा पनि सर्वविदितै छ ।’

अङ्ग्रेजी भाषामा मात्र राख्ने भनिएको इम्बोस्ड नम्बर–प्लेटको सर्वत्र विरोध हुँदाहुँदै हालसालै न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वाेच्च अदालतबाट इम्बोस्ड नम्बर–प्लेट नेपाली भाषामा नभई अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको अत्यन्त आपत्तिजनक फैसलाप्रति यो सञ्जाल खेद प्रकट गर्दै घोर निन्दा एवम् भत्र्सना गर्दछ । नेपालको राष्ट्रियता र अस्मितासँग गाँसिएको यस्तो महत्वपूर्ण विषयलाई जगेर्ना गर्नुपर्ने निकायबाट नै खेलाँचीका भरमा लागू गर्ने भन्ने असंवैधानिक पैmसला कदापि मान्य हुनेछैन । नेपालका सवारी साधनमा प्रयोग हुने भाषा विदेशीहरूका लागि नभएर मूलतः नेपालीहरूका लागि हो भन्ने स्पष्ट हुँदाहुँदै नेपाली भाषाका वर्णलेखनमा जटिलता रहेको भनी सर्वाेच्च अदालतबाट कुत्सित स्वार्थका कारण नेपालको राष्ट्रभाषा, माध्यमभाषा र सरकारी कामकाजको भाषाका रूपमा रहेको नेपाली भाषाको अपमान गरी अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर–प्लेट राख्ने फैसला गरिनु घोर निन्दनीय र आपत्तिजनक कार्य हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इम्बोस्ड नम्बर–प्लेटबारे पहिलेको अन्तरिम आदेशलाई बदर गरी हालसाल गरिएको पैmसला राष्ट्रघाती प्रकृतिको भएकाले यसलाई तत्काल सच्याउन सञ्जाल जोडदार आग्रह गर्दछ । नेपाली भाषामाथि यस किसिमका दुष्कार्य नगर्न सम्बद्ध सबैलाई सञ्जाल चेतावनीका साथ सचेत गराउँछ । यस सञ्जालको आग्रहलाई बेवास्ता गरिएमा यसबाट उत्पन्न दुष्परिणामप्रति सम्बद्ध निकाय नै जिम्मेवार हुनेछ । सरकारी निकायका साथै आम सवारीधनी महानुभावहरूलाई नेपाल राष्ट्र र नेपाली भाषाको पहिचान एवम् सम्मानका लागि अङ्ग्रेजीमा राख्ने भनिएको इम्बोस्ड नम्बर–प्लेट प्रयोग नगरिदिनुहुन यो सञ्जाल हार्दिक आग्रह गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म सञ्जालका समग्र अभियानलाई सहयोग गर्ने पत्रकार मित्रहरू तथा तमाम नेपाली भाषाप्रेमी महानुभावहरूप्रति आभार प्रकट गर्दै यस अभियानमा पनि हार्दिक सहयोग प्राप्त हुने कुरामा यो सञ्जाल विश्वस्त छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :