सत्ताधारी नेकपा भदौ १ सम्म मिल्ने कि फुट्ने टुङ्गो लाग्ने

काठमाडौँ : पार्टीभित्रको विवाद छताछुल्ल रूपमा पोखिएपछि सत्ताधारी नेकपाका दुई अध्यक्ष केपी वली र पुष्पकमल दाहालको सम्बन्ध बोलचाल बन्दको अवस्थासम्म पुुग्यो । शक्तिकेन्द्र र कुर्सीस्वार्थको मोहमा अल्झिएको दुई नेताको विवाद कति उत्कर्षमा पुग्यो भने नेकपाका नेता–कार्यकर्ताहरू पार्टी विभाजनको तयारी मनस्थितिमा मात्र बसेनन्, कसको पल्ला भारी बनाउने भनेर भित्री बैठक र छलफलहरूसमेत तीव्र बनाए ।

भारतीय साम्राज्यवादको अतिक्रमण, कोरोना महामारी, बाढीपहिरोले मुलुक थलिएको बेला राष्ट्रिय विपत्तिको सामना गर्नुभन्दा सरकारको नेतृत्व गरेको पार्टीका नेताहरू विवाद र बहसहरूमा केन्द्रित भए । यद्यपि ती बहसहरू राष्ट्रिय हित अथवा कुनै वैचारिक बहसभन्दा पनि शक्ति र कुर्सीको भन्दा अन्य कुुनै विषयमा नभएको प्रस्टै थियो ।

नेता–कार्यकर्ताहरू एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका थिए भने दुई अध्यक्ष प्रचण्ड र वलीबीच बोलचालसम्म बन्द भएको कुरा बाहिर आयो जसलाई बल दिने गरी उक्त पार्टीका तेस्रो तहका नेताहरूले त सामाजिक सञ्जालमा समेत छरपस्ट रूपमा आरोप–प्रत्यारोप गरे ।

त्यसैको सिलसिलामा अब सरकारी नेकपाको अवस्था कता जाला भन्ने आममानिसमा चासो बढिरहेको बेला बिहीबार बिहान प्रचण्ड र वलीबीच बालुवाटारमा ‘वान टु वान’ (एक्लाएक्लै) बैठक भएको छ । बैठकपछि आएको वलीको भनाइअनुसार आगामी भदौ १ गतेसम्म कि दुई पार्टी फुटको दिशातिर जानेछन् कि त भने मिल्नेतिर जानेछन् । तर राजनीतिक विश्लेषकहरूमा अनुसार दुवैको विवादको चुरो कुरो शक्ति र सत्तास्वार्थ नै भएका कारण फुटभन्दा पनि दुवै समूह प्रतिक्रियावादी शक्तिरूको चरित्रअनुसार नै विवाद गर्दै मिलेको देखाउँदै जानसक्ने देखिएको छ ।

यसअघि असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठकमा केपी वलीको राजीनामाको विषयले प्रवेश पाएपछि उक्त बैठक अन्योलमा परेको छ । पछिल्लो समय प्रचण्ड समूह अलि चर्किएर आए पनि वली भने मौनजस्तै बसेका थिए । तर बिहीबारको दुई अध्यक्षबीचको बैठकपछि भदौ १ गतेबाट उत्कर्षमा पुगेको नेकपाको विवाद अवतरण हुने वा नयाँ चरणमा प्रवेश गर्ने भन्ने एकिन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :