अशान्त बन्दै अमेरिका, डोनाल्ड ट्रम्पको कार्यक्रमस्थलनजिकै गोली चल्यो


काठमाडौँ : संसारमा सबैभन्दा सर्वशक्तिमान भएको दुहाइ दिने अमेरिका दिन–प्रतिदिन अशान्त बन्दै गएको छ । त्यहाँ निरन्तर ठूलाठूला हिंसात्मक घटना भइरहेका छन् ।

केही समयपहिले अमेरिकी श्वेत सुरक्षाकर्मीले अश्वेत नागरिक जर्ज फ्लोइडलाई नियन्त्रणमा लिएर घाँटी थिची क्रूरतापूर्वक हत्या गरेपछि त्यहाँका ५० वटै राज्यमा ठूलाठूला अनियन्त्रित प्रदर्शन भएका छन् । प्रहरीले आन्दोलन दबाउन नसकेपछि सेना प्रयोग गरिएको र सेनाले घुँडा टेकेर घटनाप्रति माफी मागेर आन्दोलनकारीहरूबीचमा पुगी आफूहरू पनि न्यायका पक्षमा रहेको भन्दै आन्दोलन दबाउने र मत्थर पार्ने नयाँ कूटनीतिक चाल चालेको अमेरिकास्थित साहित्यकार एस थपलियाले बताएका छन् ।

मङ्गलबार पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको समयमा ह्वाइट हाउसअगाडि गोली चलेको छ । ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको बेला ह्वाइटहाउसबाहिर गोली चल्दा केहीबेरका लागि पत्रकार सम्मेलन नै प्रभावित बनेको थियो ।

ट्रम्पले नै पत्रकारहरूलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरूले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका हुन् । घाइतेलाई अस्पताल लगिएको छ भने हताहतीको विवरण बाहिर आइपुगेको छैन । ट्रम्प आफैँले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै दुनियाँ सधैँ एक खतरनाक स्थानमा रहिरहेको बताएका छन् ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहरहरूमा सङ्घीय सुरक्षा अधिकारीहरूलाई पठाउन लागेको बेला त्यहाँ हिंसात्मक घटना बढ्नसक्ने देखिएको छ । विभिन्न सहरमा हिंसा भड्किरहेका बेला रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बनेका ट्रम्पले आउँदो राष्ट्रपतीय चुनाव लक्षित गरी मुख्य सहरहरूमा सुरक्षा अधिकारी पठाउने बताएपछि त्यहाँ अझै हिंसात्मक प्रदर्शन हुने अनुमान गरिएको छ । केही दिनअघि प्रदर्शन व्यापक बनेपछि डोनाल्ड ट्रम्पलाई नजिकैको बङ्करमा लुकाइएको थियो ।

यस्तै विश्वभर कोरोना महामारीले सबैभन्दा बढी प्रभावित पनि अमेरिका नै बनेको छ । धराशायी बन्न लागेको अमेरिकी अर्थतन्त्र जोगाउन अमेरिका खुला गरिएपछि ५० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १ लाख ६० हजारभन्दा बढिको ज्यान गइसकेको छ । कोरोना महामारीपछि अहिलेसम्म ३ करोड मानिस बरोजगार बनेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :