जुम्ला सेक्रेटरी उदयसहित गिरफ्तार सबैलाई रिहा नगरिए वर्गसङ्घर्ष चर्काउने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रेस विज्ञप्ति प्रकाशित गरी साउन २४ गते राती तिला गाउँपालिका वडा नं. ६ घोडेगाउँमा निर्वाचित जनप्रतिनिधि भनिएका वडाध्यक्ष भक्तबहादुर रोकायाले आफ्नै नेतृत्वमा काङ्ग्रेसका गुन्डाहरू प्रयोग गरी जुम्लाका सेक्रेटरी राजबहादुर भाम ‘उदय’ र युवा सङ्गठन नेपाल जुम्लाका अध्यक्ष नन्द तिरुवा ‘नवीन’ को साथमा रहेकी बहिनी सपनालाई घरमा खाना खाइरहेको अवस्थामा आपराधिक शैलीमा नियन्त्रणमा लिई घाइते बनाई प्रहरी प्रशासनमा बुझाएको घटनाप्रति गम्भीर आपत्ति र खेद प्रकट गर्दै बिनासर्त तत्काल रिहा नगरिए वर्गसङ्घर्ष चर्काउने गम्भीर चेतावनी दिएको छ । इन्चार्ज विश्वासले जारी गरेको वक्तव्यमा राजनीतिक प्रतिशोधका आधारमा गुन्डा शैलीद्वारा आफ्ना चुल्ठेमुन्द्रेहरूलाई मदिरा सेवन गराई पार्टी इन्चार्जसहितलाई चन्दाको बहाना बनाई गिरफ्तार गराउनेहरूलाई सङ्घर्षका लागि तयार रहन पनि ललकार गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साउन २४ गते राती तिला गाउँपालिका वडा नं. ६ मा पर्ने घोडेगाउँमा भएको अकल्पनीय घटनाले हाम्रो नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति जुम्लाको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड १९ ले देश र जनता सङ्कटमा भएको बेला जनतालाई चेतना दिँदै सङ्गठनात्मक कामकाजमा खटिएको बेला हाम्रो पार्टीका नेता–कार्यकर्तालाई साँझ ९ बजे नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि भनिने तिला गापा वडा नं. ६ का वडाध्यक्ष भक्तबहादुर रोकायाले राजनीतिक प्रतिशोधका आधारमा गुन्डा शैलीद्वारा आफ्ना चुल्ठेमुन्द्रेहरूलाई मदिरा सेवन गराई हाम्रो पार्टी जिल्ला समिति जुम्लाका सेक्रेटरी क. राजबहादुर भाम ‘उदय’, युवा सङ्गठन नेपाल जुम्लाका अध्यक्ष क. नन्द तिरुवा ‘नवीन’ को साथमा रहेकी बहिनी क. सपनालाई घरमा खाना खाइरहेको अवस्थामा आपराधिक शैलीमा भक्त बहादुर रोकायाकै नेतृत्वमा २०–३० जना काङ्ग्रेसी गुन्डाहरूले नियन्त्रणमा लिई अशक्त घाइते बनाई आफ्नो अपराध लुकाउन चन्दाको बहाना बनाई प्रहरी प्रशासनलाई खबर गरी बुझाएका छन् । यस घटनाप्रति प्रहरी प्रशासनलाई गम्भीर हुन आग्रह गर्दै यस कायरतापूर्ण घटनाप्रति नेकपा जुम्ला खेद प्रकट गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त घटनाको प्रमुख नाइके भक्तबहादुर रोकाया, मातृ पार्टी नेपाली काङ्ग्रेस जिल्ला समिति जुम्ला, उक्त पार्टीको नेतृत्व, तिला गाउँपालिकालगायतका जिम्मेवार निकायहरू घटनाको भागीदार हुनुपर्नेछ । साथै अन्यथा वर्गसङ्घर्षको मैदानबाट ठूलो मूल्य चुकाउनका लागि तयार हुन सम्बन्धित जिम्मेवार निकायलाई यसै प्रेस विज्ञप्तिबाट जानकारी गराउँछौँ । स्मरण रहोस्, न्याय र मुक्तिका लागि क्रान्तिकारीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार अवस्थामा हुने नै छौँ । जुम्ला जिल्ला प्रशासनको नियन्त्रणमा रहेका क्रान्तिकारी योद्वाहरूलाई बिनासर्त यथाशीघ्र रिहाइको माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :