सरकारी नेताहरूको वरिपरि कोरोना, एकै दिन ३ सय ८० सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा पछिल्लो पछिल्लो २४ घन्टामा ३ सय ८० कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामी थपिएका छन् । कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ९० जना सङ्क्रमित थपिएका छन् ।

देशैभरिका प्रयोगशालामा ८ हजार ५ सय १५ जनामा गरिएको परीक्षणमा यो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ७२ पुगेको छ । आज मात्रै कोरोना सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ । कास्कीको पोखराका एक पुरुष र पर्साको वीरगन्जकी एक महिला गरी दुईजनाको मृत्यु भएको हो ।

यसैबीच राजनीतिक दलका नेता र सरकारी मन्त्रीहरू कोरोनाको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न ठाउँमा मन्त्री र नेताहरूको सुरक्षामा रहने सुरक्षाकर्मीहरूमा सङ्क्रमण भेटिएपछि नेताहरूका वरिपरि कोरोना घुमिरहेको पाइएको छ । यसअघि सरकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना प्रहरीमा सङ्क्रमण भेटिएको थियो थियो भने आज नेकपाका महासचिव विष्णु पौडेलको पीएसओमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । पीएसओमा कोरोना देखिएपछि सरकारी नेकपाका महासचिव पौडेल आजैदेखि आइसोलेसनमा बसेका छन् । यसअघि प्रदेश ५, प्रदेश ६ र प्रदेश २ मा पनि मन्त्री र सांसदमा कोरोना सङ्क्रमण देखिइसकेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर फैलिएको र यो देशका विभिन्न ठाउँमा समुदायमा फैलिइसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । पर्साको वीरगन्ज, बाँकेको नेपालगन्ज, काठमाडौँ उपत्यका, नुवाकोटलगायत क्षेत्रहरूमा समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :