देश कोरोनाले अस्तव्यस्त, सरकारको ध्यान भने नेकपातिर

काठमाडौँ : कोरोना रोकथाम र नियन्त्रणमा उदासीन र असफल रहेको सरकार प्रभावकारी नीतिनियम निर्माण तथा कार्यान्वयनका पक्षमा असफल देखिएको छ । सरकारको कदम प्रभावकारी नभएकै कारण खरायो गतिमा कोरोना सङ्क्रमण फैलिरहेको छ भने सरकार कछुवा गतिमा पछिपछि हिँडिरहेको छ ।

तर केपी वली नेतृत्वको सरकार भने कोरोनासँगभन्दा विप्लव नेतृत्वको नेकपासँग डराएको छ । नेकपाले लिएको राजनीतिक आस्था र राजनीतिक–वैचारिक कार्यदिशासँग डराएको सरकार नेकपालाई दमन गरेरै सक्ने बाटोमा लागिरहेको छ ।

यसैबीच सरकारले नेकपाका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, घरहरूमा खानतलासी गर्ने, झूट्टा मुद्दा लगाउने कार्य जारी राखेको छ । नेकपाका विभिन्न तहका नेता–कार्यकर्ताहरूलाई विभिन्न झूट्टा मुद्दामा फसाएर सक्ने उद्देश्य लिएको सरकारले जेल र हिरासतमा रहेका नेकपाका नेता–कार्यकर्ताहरूको घरहरूमा पनि पक्राउ पुर्जी जारी गरिरहेको छ ।

सरकारले हाल नख्खु कारागारमा रहेका नेकपाका सचिवालय सदस्य तथा तत्कालीन मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली सुदर्शनको रुकुमस्थित घरमा अहिलेसम्म ४ वटा पक्राउ पुर्जी पठाइसकेको छ । हालै मात्र नेकपाका केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ को म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यारुककोटमा रहेको घरमा पक्राउ पुर्जी टाँस गरेको छ । म्याग्दी जिल्ला अदालतद्वारा जारी उक्त पुर्जीमा सार्वजनिक भौतिक संरचना विनास गरेको मुद्दा लगाइएको छ ।

यस्तै नेकपाका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ को सल्यान ढाकाढममा रहेको घरमा पनि हालै पक्राउ पुर्जी टाँस गरिएको छ । प्रहरीले पटकपटक पक्राउ पुर्जी पठाउने र दुःख दिने गरेको उनको परिवारका सदस्यहरुले बताएका छन् । यसैगरी नेकपा प्युठानका पूर्वइन्चार्ज चिन्तामणि घिमिरेको बाँकेस्थित घरमा पनि प्रहरीले पक्राउ पुर्जी टाँसेको घिमिरेको परिवारका सदस्यले जनाएका छन् । यसरी कयौँको घरमा सरकारले पुर्जी टाँसेर आतङ्कित पार्ने प्रयत्न गरिरहेको छ ।

कोरोना महामारी र बाढीपहिरोले प्रभावित जनतालाई राहत, उद्धार तथा व्यपस्थापनका क्षेत्रमा सरकार उदासीन देखिएको छ तर फरक राजनीतिक आस्थाका आधारमा देशमा भैरहेको बेथिति, हत्या, हिंसा र भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गरेको विद्रोही नेकपाका नेता–कार्यकर्तालाई सरकारले खुला राजनीतिक गतिविधिमा समेत प्रतिबन्ध लगाएर आफ्नो फासिवादी चरित्र उदाङ्गो पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :