केपी वलीले फेरि भने– रामको जन्मभूमि माडी नै हो, भव्य मन्दिर बनाउनुस् र माडीको नाउँ पनि अयोध्यापुरी राख्नुस्

काठमाडौँ : रामायण महाकाव्यका दरबारिया पात्र रामको जन्मभूमि नेपालमै भएको र भारतले नक्कली अयोध्या निर्माण गरी नेपालको संस्कृतिमाथि हस्तक्षेप भएको अभिव्यक्ति दिएर अत्यन्त विवादित बनेका प्रधानमन्त्री केपी वलीले फेरि पनि उही भनाइ दोहोर्याएका छन् ।

प्रतिनिधिमण्डल लिएर आफूलाई भेट्न आएका चितवनको माडी नगरपालिकाका प्रतिनिधिहरूलाई उनले रामको जन्मभूमि नेपाल नै भएको ठोकुवाका साथ अध्योध्याधामको मास्टर प्लान बनाउन पनि निर्देशन दिएका हुन् । वलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका प्रतिनिधि शनिबार साँझ बालुवाटार पुगेका थिए । वलीले उक्त समयमा राम जन्मभूमिसम्बन्धी अभिव्यक्ति दोहो¥याएका हुन् ।

सस्तो लोकप्रियताका लागि अयोध्याबारे विवादास्पद भनाइ राखेको भन्दै सर्वत्र आलोचना खेपिरहेका वलीको यो अभिव्यक्तिले उनलाई फेरि विवादमा तान्ने त्यस क्षेत्रका जानकारहरू बताउँछन् ।

प्रधानमन्त्री वलीले प्रतिनिधिहरूसँग राम जन्मभूमिबारे व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको दोहो¥याएका थिए । समाचार स्रोतका अनुसार ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भव्य मन्दिर बनाउनुस्’, माडीका जनप्रतिनिधिलाई वलीले भनेका थिए, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रूपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

प्रधानमन्त्री वलीले अर्को वर्ष अर्थात् २०७८ सालको दसैँमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन पनि निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले अनलाइन खबरलाई बताएका हुन् ।

प्रधानमन्त्री वलीले माडी नगरपालिकाको नाम परिवर्तन गरेर अयोध्यापुरी राख्नसमेत निर्देशन दिएका थिए । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :