राजकुमार चेपाङको हत्या सैनिकको बर्बर यातनाकै कारण भएको निष्कर्ष

चितवन राष्ट्रिय निकुञ्ज हत्या प्रकरण

काठमाडौँ : मानवअधिकार तथा शान्ति समाज केन्द्रीय टोलीले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका नेपाली सेनाका अधिकारीको यातनापछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको परिवार र सरोकारवालासँग छलफल गरी राजकुमारको हत्या सैनिकको बर्बर यातनाकै कारण भएको निष्कर्ष निकालेको छ । समाजले दोषी सिपाहीको नाम सेनाले अझसम्म सार्वजनिक गर्न नदिएकाले उक्त घटना राणाशासन शैलीको रहेको भन्दै भत्र्सना पनि गरेको छ ।

चितवनस्थित मृतक राजकुमार चेपाङको घरमा शनिबार पुगेको शान्ति समाजको केन्द्रीय अनुगमन टोलीले मृतक राजकुमारका बाबुआमा, श्रीमती र अन्य सरोकारवालासँग उक्त घटनाको विवरण लिएको छ ।

शान्ति समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, केन्द्रीय सचिव बाबुहरि अचार्य र श्यामसुन्दर पराजुली, मानवअधिकार सञ्जाल चितवनका संयोजक राजेन्द्र पौड्यल, सञ्जालका विभागीय संयोजक कमल ढुङ्गानालगायत अधिकारकर्मी मृतकको घर पुगेर घटनाबारे जानकारी लिई छलफल गर्दा उक्त निष्कर्ष निकालेको समाचारमा जनाइएको छ ।

साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमारसहित पाँचजनालाई निकुञ्जको सुरक्षामा खटिएका सैनिक जवानले क्रूरतापूर्वक यातना दिएका थिए । यातनाबाट गम्भीर घाइते भएका राजकुमारको स्वास्थ्य अवस्था जटिल बन्दै गएएपछि साउन ७ गते उनलाई उपचारका लागि भरतपुर अस्पताल पु¥याइएको र उपचारकै क्रममा सोही राती उनको मृत्यु भएको थियो ।

अधिकारकर्मी संस्था शान्ति समाजको टोलीले मृतकका आफन्तका साथै घटनामा राजकुमारसँगै यातनाबाट घाइते भएका सन्तोष चेपाङसँग पनि भेटघाट गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष खनालले मृतकको घरपरिवार, घाइते, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालसँगको भेटघाटमा राजकुमारलाई सेनाले बर्बर यातना दिएर हत्या गरेको बताएको प्राप्त समाचारमा जनाइएको छ ।

घुँगी खोज्न पुगेका चेपाङ समुदायका युवालाई चरम यातना दिएर हत्या गर्ने कार्य घोर अमानवीय र ढुङ्गेयुगजस्तै रहेको उनको भनाइ छ । लोकतान्त्रिक भनिएको व्यवस्थामा पनि अझै सेनाको दबदबा रहनु निकै गम्भीर विषय रहेको उनले बतएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :