भारतमा विमान दुर्घटना, पाइलटसहित १७ जना मरे

काठमाडौँ : भारतको केरला राज्यमा शुक्रबार साँझ एयर इन्डियाको विमान दुर्घटना हुँदा दुईजना चालक दलका सदस्यसहित १७ जनाको मृत्यु भएको छ । चालक दलका ६ सदस्यसहित दुबईबाट १८४ जना यात्रु लिएर आएको एयर इन्डिया एक्सप्रेसको ब्ह्द्य १३४४ बोइङ विमान दुर्घटना हुँदा १७ जना मारिएका हुन् । विमानमा १० बालबालिका पनि थिए ।

उक्त विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ नेपाली समयअनुसार ७ः४५ बजे दुर्घटना हुँदा १५ यात्रुका साथै दुई पाइलटको पनि मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा १७३ जना घाइते भएका छन् । त्यसमध्ये २५ यात्रुको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

भीषण पानी परिरहेको अवस्थामा अवतरणका क्रममा रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । दुर्घटनापछि विमान दुई टुक्रा भएको छ । दुई टुक्रा भए पनि विमानमा आगो भने नलागेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :