ललितलाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध सङ्घर्ष सुरु गर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष ललित घलानलाई प्रहरीले मनहरी ३ स्थित आफ्नै घरबाट साउन २२ गते बेलुका राजनीतिक आस्थाकै आधारमा बिनाकारण गिरफ्तार गरेको भन्दै घटनाको घोर भत्र्सना गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी पासाङद्वारा जारी विज्ञप्तिमा ललितलाई बिनासर्त तत्काल रिहा नगरिए प्रतिरोध सङ्घर्ष सुरु गर्ने चेतावनी दिइएको छ ।

पासाङको विज्ञप्तिमा भनिएको छ, ‘महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष क. ललित घलानलाई मनहरी ३ स्थित आफ्नै घरबाट मिति २०७७ साउन २२ गते बेलुका ६ बजे राजनीतिक आस्थाकै आधारमा बिनाकारण गिरफ्तार गरिएको घटनाप्रति घोर भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोरोना महामारी र प्राकृतिक विपत्का बेला बाढीपहिरोले जनतामा धनजन र मानवीय क्षतिलाई राहत र व्यवस्थापन गर्नुपर्ने समयमा बिनाकारण हाम्रा नेता–कार्यकर्ता गिरफ्तार गरी दलालहरूले आफ्नो सक्रियता छ भन्ने भ्रम जनतामा उत्पन्न गरेकोप्रति मानवअधिकार, बुद्धिजीवी, पत्रकार, कानुनव्यवसायीहरू र आमजनसमुदायलाई सचेत हुन अनुरोध गर्दछौँ । दलाल सत्ताका सेवक प्रहरीहरूले दिन–प्रतिदिन गिरफ्तारी बढाउँदै जाने हो भने हाम्रो पार्टी जनताको साथमा रही रक्षाका निम्ति प्रतिरोध सङ्घर्षतर्फ जान बाध्य हुने चेतावनी दिन चाहन्छौँ । गिरफ्तार गरिएका क. ललितलाई अविलम्ब रिहाइको माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :