सरकारी रकममा कर्मचारी र उनका नातागोताको हालीमुहाली

काठमाडौँ : गाउँगाउँमा सिहंदरबारको नारा दिएर जनताबाट भोट बटुलेका जनप्रतिनिधिहरु एकपछि अर्को भ्रष्टाचार, अनियमितता र घुसखोरी गरेको घट्ना देशैभरी भइरहेका छन् । ठाउँठाउँमा डोजरे जनप्रतिनिधिहरुको हर्कतका कारण गाउँमा विकास होइन उल्टो बिनाश भइरहेको छ । उदेक लाग्दो कुरो त के छ भने सत्ताधारी पार्टीकै नेताकार्यकर्ताहरु यस्ता अनियमितता र भ्रष्टचारका घटनाहरुमा संलग्न भइरहेका छन् ।

यसैबीच पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका नेताकार्यकर्ताको हालीमुहाली भएको उक्त गाउँपालिकामा माओवादी केन्द्रका कार्यकर्ता झक्कु सुवेदी अध्यक्ष र निर्मला बिष्ट उपाध्यक्ष छन् । सोही गाउँपालिकामा सरकारी रकम अनियमितता गरेको खबर सार्वजनिक भएपछि कारवाहीबाट बच्न रातारात गाउँपालिका कार्यालयमा गएर कागजपत्र मिलाउँदै गरेका लेखापाल र उनका अन्य तीनजना आफन्तलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाई विकास र अर्का भतिजा भीमसेन केसीलाई प्रहरीले बिहीबार राति ९ बजे गाउँपालिकाका कार्यालयबाटै पक्राउ गरेको हो । कार्यालयभित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीय जनताले बाहिरबाट ताला लगाई प्रहरीलाई खबर गरेका थिए ।

समाचारमा जनाइअनुसार आर्थिक वर्ष २०७६ र ०७७ को २४ लाख ९२ हजार तीन सय ७२ रुपैयाँ रकम लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए । विनाकुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि यसबारेमा समाचार सार्वजनिक भएको थियो । त्यसपछि उनीहरुले आफ्नो व्यक्तिगत खातामा जम्मा भएको सरकारी रकम झिकेर फेरी गाउँपालिकाको कार्यालयको खातामा जम्मा गरिदिएका थिए । तर त्यसैबारेमा जिल्ला प्रशासनले कार्यालय रुकुम पश्चिमले छानबिन शुरु गरेपछि उनीहरु आत्तिएर रातारात गाउँपालिका कार्यालयमा बसी कागजपत्र मिलाउने कार्यमा संलग्न रहेको बताइएको छ । यस्तै रुकुममा राजनैतिक शक्ति र सत्ताको आडमा यस्ताखाले विभिन्न खालका भ्रष्टाचारहरु अरु ठाउँमा पनि भएपनि बाहिर सार्वजनिक नभएको स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :