बर्मन बुढा : कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा

२०७७ साल साउन ६ गते बीपीको र ७ गते पुष्पलाल स्मृति जयन्ती थियो । ६ गते बेलुका मलाई एउटा जरुरी खबर आयो, ‘बर्मन दाइलाई आज फेरि पाटन अस्पताल लगिएको छ । उहाँ अब जीवनको अन्तिम घडीमा हुनुहुन्छ ।’ त्यसको करिब ३/४ दिनअगाडि छोरीले खबर सुनाएकी थिइन्, ‘बर्मन पागो सिकिस्त हुनुहुन्छ । मागो र दिदीहरू सबै रोइरहनुभएको छ । उपचारमा कार्यरत डाक्टरहरूको भनाइअनुसार क्यान्सर उहाँको कलेजोमा पुगेको छ । उहाँमा जन्डिस (पहेँले रोग) देखापरेको छ । यो क्यान्सरको अन्तिम अवस्था हो रे ।’ ७ गते बिहानै मलाई पार्टी केन्द्रीय कार्यालयबाट खबर आयो, ‘क. बर्मन बुढाको देहान्त भयो रे ! सम्भव छ भने एउटा श्रद्धाञ्जली तथा समवेदना सन्देश पठाउनुस ।’ म मुस्किलले फोन लाग्ने ठाउँमा थिएँ । मसँग अरू केही थिएन । त्यो खबरले म एकछिन स्तब्ध भएँ । भावुक भएँ । दुई थोपा आँसुले उहाँलाई मौन श्रद्धाञ्जली दिएँ । अनि सम्झिएँ विगत र वर्तमानलाई । सम्झिएँ थबाङलाई र उहाँसँगका औपचारिक–अनौपचारिक सहकार्यहरू, उहाँको जीवन्त इतिहासका कुराहरू, अनि सम्झिएँ कम्युनिस्ट आन्दोलन, रोल्पा जिल्ला पार्टी, पार्टी टुटफुटका बक्रचित्रहरू, उहाँको सङ्घर्षशील जीवन, सहयोद्धा, सहकर्मी दौँतरी र सादा जीवनशैली, अनि सम्झिएँ कम्युनिस्ट आन्दोलनका पुराना समकालीन नेताहरू । त्यसपछि हतारमा एउटा कापीको पानामा छोटो समवेदनापत्र लेखेँ र वक्तव्यमार्फत प्रतिबन्धित अज्ञात स्थानबाट हावाको सहाराबाट भावपूर्ण श्रद्धाञ्जली पठाएँ । परिवारजनमा समवेदना प्रकट गरेँ । संयोग पनि कस्तो ! नेकपाका संस्थापक नेता पुष्पलालकै स्मृति दिवसकै दिन पारेर उहाँले संसारबाट बिदा लिनुभयो ।

वंशनाताले मेरो सहोदर दाइ, गाउँले नाताले एक अग्रज, थबाङका सन्दर्भमा एक जिउँदो इतिहास, पार्टी र राजनीतिमा एक असल अभिभावक गुमाएको गहिरो महसुस गरेँ । यसले मलाई गम्भीर पनि बनायो । ‘…मान्छे कहिल्यै नमरे हुन्थ्यो, सधैँभरि सँगै रहन पाए हुन्थ्यो’ भन्ने सबै मानव जातिको चाहना हो । सायद परिवारजनमा पनि यही हुनु स्वाभाविक हो तर यथार्थ बिल्कुल उल्टो छ । एक दिन सबैले सारा छोडेर जाने जैविक नियम हामी सबैले बेहोर्नैपर्छ । बरु बाँचुन्जेल कसले के–कति राम्रो काम गर्यो, मानवीय भलाइका लागि केके काम गरेर गयो ? भन्ने पक्ष उसबाट सिक्ने कुरा मुख्य हो ।

जीवनको अन्तिम घडीमा बर्मन दाइलाई एक थुँगा पूmल अर्पण गर्न र अन्तिम सलाम भन्न पाइनँ । सायद बर्मन दाइ जीवित रहनुभएको भए यो प्रतिकूलता सजिलै बुझ्न सक्नुहुन्थ्यो होला तर आज उहाँ माझमा हुनुहुन्न । ढिलै भए पनि म उहाँलाई शब्दश्रद्धाका रूपमा भए पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारमा समवेदना र धैर्यधारणको कामना गर्दछु ।

सबैलाई थाहा छ, कम्युनिस्ट नामको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको पनि अठार महिना भयो । क्रान्तिको खातिर प्रतिक्रान्तिका विरुद्ध खडा भएका सहयोद्धा साथीहरू आज सयौँको सङ्ख्यामा जेल र हिरासतमा छन् । हजारौँ हामी नेता र कार्यकर्ताहरू नचाहेर पनि भूमिगत हुन बाध्य छौँ । जनताका बीचमा कम्युनिस्ट विचारको प्रचारसम्म गर्न दिइएको छैन जसका कारण हाम्रो पार्टीले बर्मन दाइको पार्थिव शरीरमा कम्युनिस्ट झन्डा ओढाउन पाएनौँ । यसको फाइदा पतीत र कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट खोलमा देखापरेका साम्राज्यवादी दलालहरूले उठाए । ‘कलङ्कित दलालहरूको बिटुलो हातबाट झन्डा ओड्नु पर्दा बर्मन दाइको निश्छल शरीरमा दाग लाग्ने हो कि’ भन्ने स्थिति आयो । ‘स्वर्ग’ मा खबर पठाएर वा फोन, इमेल गरेर हुने भए म त्यो ‘पतीतहरूका हातले छोएको झन्डालाई रछ्यानमा फालिदेऊ’ भन्ने थिएँ ।

विक्रम संवत् १९८७ मा थबाङ ५ मा जन्मनुभएका बर्मन बुढामगर ९० वर्षको उमेरमा क्यान्सरको रोगबाट ग्रसित हुनुभयो । केही समयअगाडि पाटन अस्पतालमा आन्द्राको क्यान्सरको अप्रेसन गर्नुभएको थियो । अन्तिममा क्यान्सर कलेजोमा सङ्क्रमण भएपछि त्यसैको कारणले उहाँको देहान्त भयो । शारीरिक हिसाबले फूर्तिला बर्मन बुढा विगत केही वर्षयता बिस्तारै अस्वस्थ हुँदै आउनुभएको थियो । कहिले आँखाको, कहिले ढाडको र कहिले पेटको रोगले सताउँदै आएको थियो । अन्तिममा आन्द्राको क्यान्सरसँग उहाँले हार खानुभयो । थबाङ र ललितपुरस्थित उहाँकी छोरीको घरमा सजिलैसँग जहिले पनि भेट हुन सकिने बर्मन दाइसँग विगत डेढ वर्ष प्रतिबन्धपछि भेट हुन पाएको थिएन । नत्र विगतमा मेरो उहाँसँग स्थानीय र राष्ट्रिय राजनीतिका विषयमा निकै छलफल भैरहेको हुन्थ्यो ।

उहाँका ३ श्रीमतीबाट ३ छोरा, ३ छोरीहरूमा पहिली छोरीको निधन भएको छ । पहिली श्रीमतीसँग उहिल्यै सम्बन्धविच्छेद भएको थियो । दोस्री श्रीमतीको पनि पाठेघरको क्यान्सरबाट पहिले नै मृत्यु भएको थियो । तेस्री श्रीमती अहिले पनि हुनुहुन्छ । उहाँका ३ दिदीबहिनी र ३ दाजुभाइ गरी ६ भाइबैनामा जेठी दिदीपछि बाआमाका दोस्रो सन्तान र ३ भाइमा जेठो छोरो हुनुहुन्थ्यो । उहाँ युवा अवस्थामा आउँदासम्म भेडी गोठालो, गाउँमा द्विपक्षीय सङ्घर्षपछि गाउँले राजनीतिमा आउनुभयो । बिस्तारै गाउँको द्विपक्षीय सङ्घर्षले कम्युनिस्ट विचारतिर तान्यो र जेलभित्रै कम्युनिस्ट विचार अँगाल्दै गाउँमा कम्युनिस्ट विचार प्रवेश गराउँदै २०१४/१५ सालपछि मुखियाली (तालुकदारी) जिम्मा समालेपछि निरन्तर २०४६ को बहुदलीय व्यवस्था आउँदासम्म पनि मुखियाली कार्यभार समाल्दै आउनुभयो । उहाँ रोल्पा जिल्लाको उत्तरी भेगमा अन्य मौजाका मुखियाहरूले समेत मान्ने सर्वमान्य मुखिया अर्थात् मुखियाहरूको पनि मुखियाका रूपमा स्थापित हुनुहुन्थ्यो । पद र प्रतिस्ठाको लोभ पटक्कै नभएका बर्मन बुढा २०१८ पछि पञ्चायती व्यवस्था आएपछिका स्थानीय चुनावहरूमा सुरुसुरुमा आफैँ भाग लिनुभएन । अरूले प्रधानपञ्च बन्ने प्रस्ताव राख्दा पनि नमानेर अरूलाई नै अगाडि सार्नुभएको भनेर सोध्दा ‘पार्टीकै नीति र सल्लाहमा यसो गरेको’ बताउनुहुन्थ्यो । पञ्चायत कालभरिमा उहाँ दुई अवधि मात्र निर्विरोध प्रधानपञ्च हुनुभएको थियो । किन अरू बेला हुनुभएन भनेर सोध्दा ‘सुरुमा पार्टी नीतिअनुसार नउठेको, दोस्रोमा साथीहरूले प्रेसर गर्नुभयो । मैले निर्विरोध भएमा हुन्छ भनी स्वीकारेँ । पछि नयाँ पुस्तालाई तिमीहरूले गर भनेर छाडिदिएँ’ भन्ने उहाँको भनाइ थियो । २०३९ पछि उहाँले युवा पुस्तालाई सहयोग गर्दै आउनुभयो ।

उहाँको स्वभाव सरल, सरस, मिलनसार, कहिल्यै नरिसाउने र निडर थियो । पदप्रतिष्ठामा कहिल्यै लोभलालच नगर्ने सादा जीवनशैलीको त एक नमुना नै हुनुहुन्थ्यो । उहाँको आमचरित्र राजनीतिकभन्दा पनि सामाजिक चरित्र (Mass Character) को थियो । विचारमा अडिग, कहिल्यै कम्युनिस्ट विचारबाट दायाँ–बायाँ नगर्ने तर कम्युनिस्ट आन्दोलनमा बेला–बेलामा आउने उतार–चडावले कहिलेकहीँ केही अलमल र द्विविधा आए पनि छलफल र यथार्थ बुझेपछि युवा पुस्तालाई सहयोग गरेर जाने उहाँको स्वभाव थियो ।

बर्मन बुढालाई सम्झँदा यससँग अनिवार्य रूपमा थबाङ जोडिएर आउँछ । थबाङको इतिहास निर्माणमा उहाँको महत्वपूर्ण योगदान छ । थबाङको इतिहास निर्माण, त्यहाँको द्विपक्षीय सङ्घर्ष, थबाङमा कम्युनिस्ट राजनीतिको बीजरोपण, समाज सुधार र विकास, वर्गसङ्घर्ष, रोल्पा जिल्लाको कम्युनिस्ट पार्टीको इतिहास, २०४८ सालको संसदीय निर्वाचनमा विरोधी काङ्ग्रेस–पञ्चहरूको अफवाहहरूको भण्डाफोर, जनचेतनाको प्रचारप्रसार र विकासमा उहाँको सक्रिय भूमिका र योगदान रहेको छ ।

नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र दस वर्षको जनयुद्धको इतिहाससँग थबाङ अनिवार्य जोडिएर आउने विषय बनेको छ । सकारात्मक वा नकारात्मक रूपमा थबाङ राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित छ । २००६ सालमा भारतमा स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी २००७ सालमा राणा शासन अन्त्य भएर प्रजातन्त्र आयो भनिए पनि २ वर्ष नहुँदै २००८ सालमा फेरि पार्टीमाथि प्रतिबन्ध लाग्यो । यही प्रतिबन्धित अवस्थामा थबाङमा कम्युनिस्ट बीजरोपण गर्ने काममा थबाङका दुई पात्रहरूको नाम अगाडि आउँछ । तीमध्ये बर्मन युवा पुस्ताका र कृष्ण झाँक्री पुरानो पुस्ताका हुनुहुन्थ्यो । २०१०/११ तिरबाट थबाङका मुखिया कृष्ण झाँक्रीको विपक्षमा उभिएर युवा बर्मन बुढाले कृष्ण मुखियाको अत्याचारको विरोधमा विद्रोह गरेपछि थबाङको स्थानीय भाषामा ‘नयाँ शेर र पुराना शेर’ का बीचको झगडाले द्विपक्षीय सङ्घर्षको रूप लिन पुग्यो । नयाँ शेरको नेतृत्व बर्मन बुढाले र पुरानो शेरको नेतृत्व कृष्ण झाँक्रीले गरे । सुरुमा दुवै पक्ष कम्युनिस्ट भएर द्विपक्षीय रूपमा तालुकदारीको छिनाझपटीजस्तो देखिए पनि सार पक्षचाहिँ अन्याय र अत्याचारका विरुद्ध विद्रोह थियो । पछि कृष्ण मुखियाको अत्याचारको अन्त्य र मुखियालीबाट हात धुने काम दुवै सँगैसँगैजसो भयो । यसपछि युवा बर्मन बुढा थबाङ मौजाको मुखिया बने । बर्मन मुखिया बनेपछि र कृष्ण झाँक्रीको मृत्युपछि कृष्ण पक्षकाले बर्मन बुढालाई कम्युनिस्टको आरोप लगाएर जब प्रशासनसँग मिलेर थबाङमाथि दमन र कम्युनिस्टहरूमाथि दुःख दिने काम सुरु भयो त्यसपछि भने थबाङको द्विपक्षीय सङ्घर्षले वर्गसङ्घर्षको रूप लिन पुग्यो । यसरी हेर्दा थबाङमा अघोषित रूपले कम्युनिस्टको बीजरोपण गर्नेमा कृष्ण झाँक्री र बर्मन बुढाको भूमिका प्रधान रहेको छ । उहाँहरूले यो बीज प्युठान जेलबाट लिएर रोप्नुभयो । यसको अङ्कुरण २०१२ सालमा पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि २०१३ असारमा अङ्कुरित भयो । यो पार्टी सेल कमिटी र किसान सङ्गठनका रूपमा देखाप¥यो । यसका संस्थापकहरूमध्ये एकजना बर्मन बुढा आफैँ हुनुहुन्थ्यो । त्यही अङ्कुरबाट विकसित हुँदै पछि यही नै २०३७ सालमा रोल्पा जिल्लाको पार्टीको पहिलो जिल्ला समितिका रूपमा विकास भयो । अहिले थबाङको पार्टी समिति रोल्पा जिल्ला, जनयुद्ध र प्रचण्डको विचलनपछि एकीकृत जनक्रान्तिको क्रान्तिकारी धारमा उभिएको छ । यसरी एकीकृत जनक्रान्तिको जग जनयुद्ध थियो भने जनयुद्धको केन्द्र रोल्पा थियो र रोल्पा जिल्ला पार्टीको जग वा न्युक्लियस थबाङ थियो । स्मरणीय छ, नेकपाको आठौँ महाधिवेशन थबाङमा भएको थियो भने त्यही महाधिवेशनबाट एकीकृत जनक्रान्तिको सिद्धान्त प्रक्षेपण भएको छ ।

यसरी २०१३ सालमा थबाङमा अङ्कुरित पार्टी समिति करिब २३ वर्षपछि थबाङमै रोल्पा जिल्ला पार्टी (डीओसी) का रूपमा विकास भयो । आखिर त्यसैको विकासले २०४७/४८ सालको चुनावी सङ्घर्ष, २०५०–५२ सम्मको ग्रामीण वर्गसङ्घर्ष, २०५२ फागुन १ पछिको जनयुद्ध, २०६२/६३ पछिको शान्तिपूर्ण १० वर्ष र भीषण दुई लाइन सङ्घर्ष पार गर्दै एकीकृत जनक्रान्तिसम्मको यात्रामा रोल्पा जिल्लाको क्रान्तिकारी आन्दोलनमा योगदान र यसको जग निर्माण गर्ने, हौसला दिने, अभिभावकत्व गर्ने काममा क. बर्मन बुढाको योगदानलाई महत्वपूर्ण र अविच्छिन्न योगदानका रूपमा हेर्न सकिन्छ । २०६९ पछि प्रचण्डको विचलनवादी धारबाट विद्रोह गरी नेकपा ड्यास माओवादी बनेपछि सातौँ महाधिवेशनपछिको केन्द्रीय समितिमा उहाँ हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार पनि हुनुभएको थियो ।

समकालीन कम्युनिस्ट नेताहरूको सन्दर्भ कोट्ट्याउने हो भने उमेर र वर्षको हिसाबले मोहनविक्रम सिंह र मोहन वैद्य ‘किरण’ हरू बर्मनभन्दा कयौँ वर्षले कान्छा भएर पनि जाति, समुदाय र स्थानविशेष तथा शिक्षादीक्षा, उत्पादन सम्बन्ध र सामाजिक–सांस्कृतिक सम्बन्धको प्रभाव, अवसर आदिका कारणले उनीहरू राजनीतिक क्षेत्रमा अगाडि पर्नुका साथै नेतृत्व तहसम्म पुग्न सके तर बर्मन बुढा भने त्यो थबाङको कुवाभन्दा बाहिर निस्कन सक्नुभएन । परिणाम राष्ट्रिय व्यक्तित्व र स्थानीय व्यक्तित्वमा अन्तर भयो । फेरि पनि विचार र निष्ठामा दायाँबायाँ गर्नुभएन । उहाँ अहिलेसम्म पनि कम्युनिस्ट निष्ठाप्रति धीर र अडिग रहँदै आउनुभयो । समकालीन नेता र व्यक्तित्वका कारण २०४८ सालसम्म दुवै एमबीबाट प्रभावित भए पनि २०४२ पछिको मशाल पार्टीको विभाजन हुँदा यसले केही प्रभाव पार्यो । केही समय यो विभाजनले कुन ठीक र कुन बेठीक भन्नेमा उहाँमा केही अलमलको अवस्था आए पनि पछि निरन्तर छलफल र गाउँको वातावरणले फेरि उहाँले सही ट्र्याक पकड्नुभयो । अन्तिममा उहाँ मोहनविक्रमको लाइन गलत भएको निष्कर्षमा पुग्नुभयो । २०४८ सालमा रोल्पा क्षेत्र नं. १ बाट संसद्को उम्मेदवारका रूपमा उहाँलाई पार्टीले अगाडि सार्यो । विगत ३० वर्षदेखि पञ्चायत कालभरि माननीय/रापंस र पटकपटक मन्त्री खाएका बालाराम घर्तीलाई पराजित गर्दै रोल्पा १ बाट विजयी हुनुभयो । उहाँ संयुक्त जनमोर्चाका तर्फबाट जित्ने ९ जना सांसदमध्ये एकजना हुनुहुन्थ्यो । आफ्नो जीवनभरि कहिल्यै कोट, पाइन्ट र सुरुवाल नलगाउने बर्मन बुढाले संसद्मा पनि कहिल्यै कोट, पाइन्ट वा सुरुवाल लगाउनुभएन, बरु आफ्नै स्थानीय पोसाक, कमिज र छड्के बेरेर छुट्टै पहिचान कायम गर्नुभयो ।

यसै क्रममा एकपटक सांसदहरूको बङ्गलादेश भ्रमण दलमा उहाँ पनि पर्नुभयो । तर उहाँलाई भ्रमणमा जानलाई अनिवार्य राष्ट्रिय पोसाक वा कोट–पाइन्ट लाउने निर्देशन दिइयो तर उहाँले त्यो इन्कार गर्नुभयो र आफ्नै ड्रेसमा जान पाउने भए जाने नत्र भ्रमणमै नजाने भनी अड्डी लिएपछि अन्त्यमा आफ्नै ड्रेसमा नै जान पाउनुभयो । दोस्रो घटना २०३७ सालको जनमतसङ्ग्रहमा पूरै मत बहुदललाई दिएकोमा र रोल्पा जिल्ला पञ्चायतको निर्णयअनुसार दाङ घोराहीदेखि सदरमुकाम लिबाङसम्म जिल्लाका ५१ वटै पञ्चायतले श्रमदानमा घोडेटो बाटो खन्ने योजनालाई थबाङले बहिष्कार गरी खन्न नगएको निहुँमा उहाँलाई २०३७ देखि २०३९ सम्म २७ महिना शान्तिसुरक्षामा जेलमा राखियो । २०३८ सालमा उहाँको विषयलाई लिएर राष्ट्रिय पञ्चायत चुनावमा थबाङले शून्य मत दियो । यो कारण २०३८ कात्तिकमा भएको थबाङको सैन्य अप्रेसनमा एक दर्जन साथीहरूलाई जेल र मसहित दर्जन साथीहरू राज्य विप्लवलगायत दर्जनौँ झूट्टा मुद्दामा भूमिगत भयौँ । यही मुद्दामा थबाङ्गीहरूले राजाको विरोध, पञ्चायतको विरोध गरेर चुनाव बहिष्कार गरेको आरोप विरोधीहरूले राजाकहाँ पुर्याएकाले राजाले थबाङ्गीहरूको प्रत्यक्ष विचार बु¤ने विचार गरेपछि २०४० तिर राजा वीरेन्द्रको मध्यपश्चिमको भ्रमणका क्रममा थबाङबाट राजाको दर्शनभेटमा जाने खबर आयो । थबाङका तर्फबाट प्रतिनिधिमण्डलका रूपमा बर्मन बुढा, धर्मबहादुर रोका र दिलकुमार बुढा ३ जनालाई पठायौँ । त्यसबेला पनि उहाँहरूले स्थानीय थबाङ्गी पोसाकमा राजालाई सार्वजनिक रूपमै भेट्नुभयो । त्यति बेला राजाको दर्शनभेटमा नेपाली पोसाक अनिवार्य गरिन्थ्यो । त्यो दर्शनभेटमा अरूलाई ३–५ मिनेट कुरा सुन्ने राजाले र शिर झुकाएर बोल्नुपर्ने नियममा उहाँहरू ३ जनाले शिर ठाडो पारेर आमनेसामने आधा घन्टा समय दिएर प्रश्न–उत्तरको शैलीमा कुरा गरेको देख्दा प्रत्यक्षदर्शी र टीभीहरूमा देख्नेहरूले दुईटा प्रतिक्रिया दिए । एकथरिले भने, ‘कस्ता मूर्खहरू, राजाको अगाडि पनि शिर ठाडो पारेर हाँस्दै, आफ्नो पाखे पोसाकमा कुरा गर्छन् ।’ अर्काथरीले भने, ‘कस्ता साहसी हुन्, राजाको अगाडि पनि आºनै पोसाकमा, निर्धक्क, शिर ठाडो पारेर हाँसी–हाँसी कुरा गर्छन् । राजा पनि कस्ता राजा π विरोध गर्नेहरूको आधा घन्टा समय दिएर कुरा सुन्छन् । भक्तहरूको ३/४ मिनेट मात्र सुन्छन् । त्यो पनि झुकेर जानुपर्ने πππ’ यो टोलीको पनि नेतृत्व बर्मन बुढाले नै गरेका थिए । यसरी बर्मन बुढा एक निडर, साहसी जननेता थिए ।

कुनै बेला थबाङमा ठूलठूला सङ्घर्षहरू हुँदै आएको छ । सुरुमा सङ्घर्षशील दुवै पक्ष कम्युनिस्ट नै थिए । तर कृष्ण झाँक्रीको मृत्युपछि कृष्ण पक्षको नेतृत्व गर्ने रामकुमार बुढाले प्रशासनको सहारा लिन पुगेपछि यो सङ्घर्षले अर्कै मोड लिन पुगेको देखिन्छ । २०३६ पछि हामी नयाँ युवा पुस्ताहरूको उदयपछि यो सङ्घर्षलाई किनारा लगायौँ । पहिलो पुराना दुवै पक्षका पुस्ताको नेतृत्व करिब अन्त्य भइसकेको र नयाँ फ्रेस युवा पुस्ता नेतृत्वमा आएको अवस्था र दोस्रो पार्टी कमिटी सुदृढ भई शत्रु र मित्र शक्तिको पहिचान गर्ने कम्युनिस्ट विधि र प्रणालीको विकासले रूपान्तरण र नयाँ युगको गति र मागलाई पकड्ने आवश्यकताको बोध आदि कारणले थबाङमा प्रत्यक्ष द्विपक्षीय र दुई वर्गीय सङ्घर्षको सापेक्षिक रूपले अन्त्य गरिएको अवस्था थियो । यो हाम्रो वर्गसचेतना र सचेतन पक्षको परिणाम थियो जसको कारण २०३८ पछि थबाङमा पहिलेको स्थिति दोहोरिएन । सायद यसैको कारण थबाङमा पार्टीको नीति लागू गर्दा एकरूपता र एकमतले गर्ने जुन स्थिति बनेको थियो त्यो कारणले पनि थबाङ र रोल्पा जनयुद्धको एउटा केन्द्र बन्न आइपुग्यो । क्रान्तिकारी आन्दोलनका क्रममा रोल्पा र थबाङका सकारात्मक ऐतिहासिक घटनाक्रमहरू यसैका परिणाम हुन् । समकालीन अवस्थामा थबाङको वर्गसङ्घर्षमा ३ जना हस्तीहरू थिए– बर्मन बुढा, धर्मबहादुर रोका र पुनबहादुर रोका । तीमध्ये बर्मन जननेताजस्तो साना केटाकेटीदेखि बुढाबूढीसम्म मिल्न र खेल्नसक्ने, धर्मबहादुर रोका बुद्धिजीवी, कूटनीतिज्ञ र विचारकजस्तो र पुनबहादुर रोका फौजी कमान्डरजस्तो । गल्ती गर्नेलाई पहिले झापड दिएर मात्र कुरा गर्ने स्वभावका थिए । यी तीन हस्तीहरूले एक पुस्ताको थबाङको वर्गसङ्घर्षलाई पार गरेका थिए । यसपछि दोस्रो पुस्ता र हामी तेस्रो, चौथो युवा पुस्तटाको उदयले थबाङलाई निरन्तर क्रान्तिकारी दिशामा अग्रसर बनाउँदै आउने काम भयो । पछिल्लो समयमा प्रचण्डको नवसंशोधनवादको उदयले थबाङमा प्रचण्डपथीय माओवादी धमिरा पस्यो । यो पछिल्लो एकीकृत जनक्रान्तिकालको चुनौतीका रूपमा देखापरेको छ जोसँग अहिलेको युवापङ्क्ति जुधिरहेको छ ।

आज त्यो व्यक्तित्व नेपाली कम्युनिस्ट आन्दोलनका एक अविराम हस्ती बर्मन बुढा हाम्रोमाझ रहनुभएन । उहाँले आन्दोलनलाई थबाङ र थबाङी जनतालाई नासोका रूपमा छोडेर जानुभएको छ । वैचारिक हिसाबले थबाङमा कम्युनिस्टको बीज रोप्ने र हुर्काउने काम गरिदिनुभयो जसले पछि रोल्पाको कम्युनिस्ट पार्टी जन्मायो । यसले जनयुद्ध जन्मायो । उहाँले निरन्तर सङ्घर्षमा कहिल्यै नथाक्ने र हरेक अप्ठ्याराहरूमा पनि नआत्तिने, दायाँबायाँ नगर्ने धैर्य, साङ्गठनिक रूपले पद, प्रतिष्ठा, लोभ–लालच र अभिमान नगर्ने शिक्षा दिएर जानुभएको छ । खुला–स्पष्ट र मिजासिलो, मिलनसार जनशैली, सादा जीवन, निडर, अडिग स्वभाव हामीले उहाँबाट सिक्नुपर्ने र कहिल्यै बिर्सन नहुने शिक्षा हुन् ।

अन्त्यमा आदरणीय दाजु बर्मन बुढा, तपाईंलाई मेरो अन्तिम सलाम ! थबाङले तपाईंको बाटो पछ्याइरहनेछ । क्रान्ति सम्पन्न नहुँदासम्म कहिल्यै थाक्नेछैन । थबाङको आशा, लक्ष्यविरुद्ध जाने गलत प्रवृत्तिसँग निरन्तर र अविराम सङ्घर्ष जारी राख्नेछ । युवा पुस्ताहरूले थबाङलाई कहिल्यै ढल्न दिने छैनन् । अल बिदा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :