कोरोना र बन्दाबन्दीले शैक्षिक क्षेत्रमा पारेको असर विषयमा अन्तरक्रिया


काठमाडौँ : अखिल (क्रान्तिकारी) दाङले कोरोना भाइरसका कारण बन्दाबन्दीले विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रमा पारेको असरविषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

मङ्गलबार सम्पन्न अन्तरक्रियाका वक्ताहरुले बन्दाबन्दीको समयमा शैक्षिक संस्थाहरु सञ्चालन नभएकाले कुनै पनि बहानामा शैक्षिक शुल्क नलिन प्याब्सन र एनप्याब्सनलाई विशेष आग्रह गरे । बन्दाबन्दी र कोरोना भाइरसले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले विद्यार्थीबाट कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन आग्रह गरेका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् सङ्गठनका राप्ती क्षेत्रीय समन्वय समिति संयोजक दीपक बिष्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अनिल केसीले सञ्चालन गरेको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रीतिमा चौधरी, अनेरास्ववियु दाङ जिल्ला संयोजक जङ्ग रोका, नेविसङ्घ दाङ जिल्ला कार्यवाहक सभापति टोपबहादुर बुढाथोकी, नेपाल शिक्षक महासङ्घ दाङ जिल्ला अध्यक्ष अमरबहादुर खड्का, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङ जिल्ला सचिव खगेश्वर पौडेल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) ५ नं प्रदेश सदस्य नरेश आचार्य, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सचिव खुमन, अखिल (क्रान्तिकारी) दाङ जिल्ला सहसचिव शरद, जेम्स स्कुलका प्रिन्सिपल विष्णु दाहाललगायत अतिथि थिए ।

कार्यक्रमका सहभागी प्याब्सन र एनप्याब्सनका प्रतिनिधिले निजी शैक्षिक संस्थाहरु धराशायी बन्दै गएको, राज्यले कुनै चासो नदिएको, आफूहरु अप्ठ्यारो परिस्थितिमा रहेको बताएका थिए । शैक्षिक सत्र सुरु गर्ने अर्थात् संस्था सञ्चालन गर्ने विषयमा देशैभरि कोरोना भाइरस महामारीको स्थिति हेरेर मात्र भदौ १ गतेबाट भर्ना लिने र कक्षा सञ्चालन गर्ने विषयमा सबैले सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :