सत्ताले खोजेको प्रतिरोधात्मक कारबाही

एउटा भनाइ छ– सर्पले आधा निलिसकेको भ्यागुतोले पनि आफू अघिल्तिरबाट उडिरहेको सिकार जिब्राले तान्छ रे । मृत्युको मुखमा पुगिसकेकालाई पनि क्षणभङ्गुर जीवनप्रति त्यत्रो अगाधा माया, आस्था र विश्वास ! यो भनाइ नेपालमा बहाल दलाल पुँजीवादका भरियाहरूमा दुरुस्तै मिल्ने देखिन्छ ।

केपी वली सरकार राष्ट्रघात, जनघात, भ्रष्टाचार, महँगी, बेथिथि, असङ्गति र गुट सङ्घर्षले विघटनको मुखमा पुगिसकेको छ तर पनि देश र जनताका लागि अहोरात्र खटिरहेका क्रान्तिकारीहरूको सिकार गरिरहेको छ । २७ महिना लामो जेल बसाइपछि सत्ता–आरोप झूट साबित गर्दै कानुनी ढङ्गले नै रिहा भएका नेकपाका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालिएको छ भने सिंहदरबार र बालुवाटारबाटै सुराकीहरू पठाएर देशभर गिरफ्तारी, झूट्टा मुद्दा बढाएर जेल र हिरासत भर्ने र क्रान्तिकारीहरूका पक्षमा रहेको मैदान खाली गराई आफ्नो दुष्ट शासन लम्ब्याइरहने सत्ताखेल अझ तीव्र रूपले अघि बढाइएको छ । गिरफ्तार गरी जेल र हिरासत राखिएका, एउटा भूगोल र जिम्मेवारीको नेतृत्वका क्रान्तिकारीहरूलाई अर्को भूगोलमा पुर्याउने, आफूले लगाएको आरोप असत्य साबित भएर न्यायालयले रिहा गरिसकेपछि पनि दुनियाँ हँसाउने गरी अदालतपरिसरबाटै दर्जनौँपटक गिरफ्तार गरी देशका विभिन्न जिल्ला, हिरासत र जेलहरूमा घुमाउने राणाकालीन, पञ्चायतकालीन र शाहीकालीन भद्दा र मिति सकिएको बासी शैली दोहो¥याएर सरकारले कथित लोकतन्त्रमाथि नै मजाक गरिरहेको छ । अझ लाजमर्दो कुरा त के छ भने बिरामी भेट्न औषधी लिएर हिँडेका, कोरोना सन्त्रास, बाढीपहिरोको विनास रोकथामका लागि छलफल गरिरहेका, सहायता गरिरहेका नेकपाका नेता र कार्यकर्ताहरूलाई घेरा हालेर लखेटीलखेटी गिरफ्तार गरी दुनियाँसामु नक्कली हतियार भिराएर तस्बिर सार्वजनिक गर्ने र षड्यन्त्रपूर्वक झूट्टा मुद्दा लगाउने शाहीकालीन शैली अँगालेर केपी वली सरकारले जनताका आँखाको कसिङ्गर बन्ने काम गरिरहेको छ । उसको यो शैली राणाहरूले, पञ्च शासकहरूले, हिजो संसदीय व्यवस्थाले र शाही शासकले प्रयोग गरेर बदनाम भएको र असफल भएको शैली हो । हिजोका शासकहरूको त्यो शैली सफल हुन्थ्यो भने केपी वली, पुष्पकमल दाहाल वा रामबहादुर थापाहरू आज शासक बन्न पाउने थिएनन् । आजसम्म जेलमै हुने थिए वा कतै चपरीमुनि पुगिसकेका हुन्थे । हिजै असफल भएको शैलीलाई कलाविहीन र भद्दा तरिकाले दोहो¥याएर जेल बसेर निस्किएका क्रान्तिकारीहरूको हत्यासम्म गर्ने र जनताका बीचमा काम गरिरहेका क्रान्तिकारीहरूलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर फसाउने षड्यन्त्र गर्ने तर श्रीमतीको हत्या गरेको प्रमाणित भई सर्वस्वसहित जन्मकैद भोगिरहेका अपराधीलाई सजाय मिनाहा गरी जेलमुक्त गर्ने शैली देश विखण्डन गर्ने अभियानमा लागेका सीके राउतहरूलाई माला लगाउने र देश र जनताको मुक्तिका लागि हिँडेको नेकपामाथि प्रतिबन्ध लगाउनेजस्तै भद्दा कार्यक्रम हो भनेर बुझ्दा अन्यथा हुने देखिँदैन ।

राज्यसत्तासँग सन्तुष्ट हुन नसकेपछि विद्रोह गर्नु जनताको अधिकार हो । यो विश्वव्यापी मान्यता हो । आज शासनसत्तामा रहेका र आफूलाई लोकतन्त्रवादी, अझ समाजवादीसम्म भन्नेहरूले यो नबुझेको कुरो होइन । अझ आफूलाई विद्रोह र युद्धबाटै आएको दाबी गर्ने केपी वली र पुष्पकमल दाहाल–रामबहादुरहरूले त हिजो आफूहरूले आततायी सत्ताका विरुद्ध गरेको विद्रोहको एकरत्ति ख्याल राख्नुपर्ने हो नि ! लाग्छ, उनीहरूले हिजोका सबै घटनालाई भुलेर विगतका विद्रोहहरूलाई सत्तामा पुग्ने, शासन गर्ने र विद्रोहीहरूलाई दबाउने यन्त्रका रूपमा परिणत गरिसकेका छन् । अन्यथा देश लुट्ने एनसेलमाथि कारबाही गरेको जिम्मेवारी लिएकै आरोपमा सुदर्शन र माइलाहरूले यति लामो समयसम्म जेलमा सडिरहनुपर्ने थिएन र मणिसुन्दरहरूले देश र जनताका पक्षमा बोलेको ‘अपराध’ मा मारिनुपर्ने थिएन । राज्यले यसरी स्वेच्छाचारी गतिविधि गरिरहँदा पनि अझ उक्साउने, समर्थन गर्ने, नदेखेको जस्तो गर्ने, मौन बस्नेहरूलाई कठैबरा भन्नुशिवाय अरू के भन्न सकिन्छ र !

मुलुकको यही अवस्थालाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘साम्राज्यवादसँग सहायक र क्रान्तिकारीविरुद्ध प्रमुख प्रहार गर्ने नीति लिने राज्यसँग जस्तालाई त्यस्तैको तरिकाद्वारा जबाफ दिनुको विकल्प हामीसँग रहँदैन । दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो ।’ सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :