कोरोना भाइरसले सङ्कटग्रस्त बन्दै नेपाल

काठमाडौँ : चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसले पृथ्वीमा मानवसभ्यतालाई ठूलो चुनौती दिइरहेको बेला नेपाल पनि यसबाट अछुतो रहेन । नेपालको छिमेकी जिल्ला चीन कोरोनाले कहालिइरहेको बेला नेपाल एलो जोनमै थियो तर अमेरिका, युरोप, अफ्रिकासहित विश्व भ्रमण गरेर नेपाल आइपुग्ने बेलासम्म नेपाल कोरोनाबाट लगभग मुक्तजस्तै थियो ।

कोरोनाले विश्व भ्रमण गरेको करिब ४ महिनासम्म नेपालका सन्दर्भमा आवश्यक तयारी र सङ्क्रमण फैलिन नदिन प्रभावकारी कदम चाल्न सकिने पर्याप्त समय थियो । तर कोरोना रोकथाम र नियत्रणका लागि बनाइएको सरकारी संयन्त्रले नै स्वास्थ्य सामग्रीमा समेत कमिसन र भ्रष्टाचार गरेर आफ्नो दलाल चरित्र प्रदर्शन गर्यो । सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक प्रभावकारी कदम चाल्न नसक्दा नेपालमा कोरोना सङ्क्रमण भित्रियो र बिस्तारै यसको ग्राफ उकालो चढिरहेको छ । यो विवरण तयार पार्दासम्म कोरोना सङ्क्रमणबाट नेपालमा २१ हजार ९ जना सङ्क्रमित भइसकेका छन् भने ५८ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा जनसम्पर्कका काममा बढिरहने प्रहरी र स्वास्थ्यकर्मी पनि धेरै सङ्क्रमित छन् । कोरोनाले बाँकेको नेपालगन्ज, पर्साको वीरगन्ज, मोरङको विराटनगरमा बलियोसँग जरा गाडिसकेको छ भने यता काठमाडाैँमा पनि समुदायमा कोरोना फैलिएको भन्दै पीसीआर परीक्षणको दायरा फराकिलो पार्न विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले भनेका छन्– कोरोनाले विकराल रूप लियो भने अस्पतालहरूका शैया खाली नहु नसक्ने र देश अमेरिका, ब्राजिल, वुहान र इटलीजस्तै बन्नेछ ।

सरकारले कोरोना रोकथामका लागि करोडौँ रकम खर्च गरेको भए पनि त्यस्तो रकम र सेवासुविधा आधारभूत वर्गले भन्दा जनप्रतिनिधि, उनका नजिकका मान्छे पावर र पैसावालाले मात्रै उपभोग गरेका जनगुनासोहरू दर्जनौँ आएका छन् । सरकारले दूरगामी योजना नबनाईकन गैरजिम्मेवार अभिव्यक्ति दिने र लापरबाही तरिकाले काम गरेकै कारण कोरोना छोटो समयमै देशका ७७ वटै जिल्ला मात्र पुगेको छैन, यसले भविष्यमा निम्त्याउन सक्ने खतराले मानिसलाई तर्साएको छ ।

कोरोना रोकथामकै लागि चैत ११ गतेदेखि लगाइएको लकडाउन उचित मापदण्डबिना नै खोलिएपछि स्थानीयकरण भएको कोरोनाले विभिन्न रूपका लक्षणहरू देखाउन थालेको छ । सरकारले अर्थतन्त्र जोगाउने भन्दै लकडाउन खुला त गरेको छ तर यसको रोकथामका लागि चालिएका कदमहरू प्रभावकारी छैनन् । मानिसहरूको भीडभाड हुने स्थानहरू बन्द गरिएको भए पनि अहिलेको अवस्थामा परीक्षणको दायरा बढाउन नसक्दा र समुदायमा परीक्षण नगर्दा कोरोना भित्रभित्रै भुसको आगोसरि फैलिने र यसले निकै ठूलो सङ्कट निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :