फाइनान्सलाई ब्याज र किस्ता नउठाउन नेकपाको आदेश


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लास्थित विभिन्न बैङ्क र वित्तीय संस्थालाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ ।

जिल्ला इन्चार्ज नवीन र सक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशनलाई अटेर गरेर एनआरएन भन्ने माइक्रो फाइनान्सले जनताबाट १८ देखि २५ प्रतिशतसम्म ब्याज असुलेको भन्दै उक्त फाइनान्सलाई गाउँबाट फिर्ता पठाइएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको निर्देशनलाई अटेर गरेर आज मिति ०७७।०४।२० गतेका दिन एनआरएन भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले मङ्गलसेन नपा १४ कालागाउँमा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पूर्ण जनताको सहभागितामा चेतावनीसहित पैसा उठाउन नदिई फिर्ता पठाइएको छ । अहिले माइक्रोफाइनान्स र वित्तीय संस्थाका नाममा जनताबाट १८ देखि २५ प्रतिशतसम्म ब्याज असुल्ने र विभिन्न सेवाशुल्कका नाममा गाउँका अशिक्षित र सोझासीधा जनतालाई लुटिरहेका छन् । यस्ता सम्पुर्ण गतिविधि रोक्न र जनता नसताउन हाम्रो पार्टीले पटकपटक भन्दै आएको छ । अझै पुनः यस्ता गतिविधि रोक्न सचेत गराउँछौँ ।’

साथै विज्ञप्तिमा आफ्नो पार्टीको आदेश अटेर गर्दै गए पार्टी आवश्यक जनकारबाही गर्न बाध्य हुने कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :