बीसीलगायतको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा लिखित जबाफ माग

काठमाडौँ : गतसाता चितवनबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी, रामलाल विश्वकर्मा र हुकुमबहादुर खड्कासहितलाई गिरफ्तार गर्नुको कारणबारे सर्वोच्च अदालतले लिखित जबाफ माग गरेको छ ।

शुक्रबार सर्वोच्च अदालतमा भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनउपर भएको बहसमा न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले उनीहरूलाई बन्दी बनाउनुको कारणको लिखित जबाफ माग गरेको हो । बन्दीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, सन्तोष कोइराला र चिरञ्जीवी ढकालले बहस गरेका थिए ।

केही दिनपहिले पूर्वीचितवनबाटै गिरफ्तार गरिएका नेकपाका राम सेढाईंलाई भने बन्दीसहित उपस्थित गराउन अदालतले आदेश दिएको छ ।

गत सोमबार साँझ चितवनको राप्ती नगरपालिकाबाट नेकपाका चिवतन जिल्ला इन्चार्ज लालबहादुर बीसी ‘शार्दूल’, दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विक, नेकपाका ब्युरो सदस्य हुकुम र स्थानीय २ जनासहितलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

बीसीसहित नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गरेपछि नारायणी ब्युरो इन्चार्ज शीतलले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :