झूट्टा मुद्दा

कविता

कन्चटमा थोत्रा बन्दुकहरू तेस्र्याउँदै
गिरफ्तार गरी
हाम्रा हातमा हत्कडी भिराएर
तिम्रा कालकठोरीमा थुन्दै
लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू ।

समानताको गीत गाउने हाम्रा ओठहरू
वैज्ञानिक समाजवाद ल्याउने हाम्रा सुन्दर सपनाहरू
सर्वहारा वर्गको मुक्तिका लागि
ऋघि बढिरहने हाम्रा रक्तिम पाइलाहरूमा
प्रतिबन्ध लगाउँदै
गिरफ्तार गरी
लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू ।

परिवर्तनको माग गर्ने प्रगतिशील विचारलाई कैदी बनाएर
सत्ता र शक्तिको आडमा
सत्ता टिकाउनैका लागि
लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू ।
राष्ट्रघात र जनघातका विरुद्ध
शिक्षा, स्वास्थ्य, रोजगारका निम्ति
विद्रोह, विद्रोह, विद्रोह बोलिरहने
नौजवान युवा–विद्यार्थीलाई गिरफ्तार गरी
लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू ।

तर सुन ए शासक, तानाशाहहरू !
अड्डा, अदालत र प्रशासनले खारेज गरिदिन्छ तिम्रा झूट्टा मुद्दाहरू
फेरि पनि गिरफ्तार गरी
दसौँपटकसम्म अड्डासार गर्दै
लगाउन त लगाउँछौ झूट्टा मुद्दाहरू
क्रान्तिले कुल्चिदिन्छ तिम्रा झूट्टा मुद्दाहरू
जनअदालतले खारेज गरिदिन्छ तिम्रा झूट्टा मुद्दाहरू ।

(लेखक अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :