वली–दाहाल समूहबीचको मतभिन्नता नमेटिने गरी गहिरिँदै

पूर्वसहमतिबाट पनि पछि हटे वली र दाहाल

काठमाडौँ : पार्टीलाई विभाजनबाट रोक्ने र असहमतिहरू टुङ्ग्याउने भन्दै गरिएका सबै प्रयास र छलफलहरू असफल बन्दै गएपछि सरकारी नेकपाभित्रको विवाद मिल्नै नसकिने गरी बढ्दै र गहिरिँदै गएको पाइएको छ । द्वितीय अध्यक्ष पुष्पकमल दाहाल पक्षका मानिस धमाधम चोरिन र बिक्री हुन थालेपछि पहिला अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी वली छिट्टै महाधिवेशन बोलाउने पहिलाको सहमतिबाट पनि पछि हटेको स्रोतहरूले बताएका छन् । वली र दाहालबीच आइतबार भएको तीन घन्टा लामो छलफलमा पनि वली टसमट नभएपछि र अझै उग्र रूपमा प्रस्तुत हुँदै अझै ढिट बनेपछि दाहाल–नेपाल समूहबीच वलीले पार्टी विभाजन नै खोजेको विषयमा छलफल भएको स्रोतहरूको दाबी छ ।

यसअघि साउन १३ गतेको स्थायी समिति बैठकका लागि सदस्यहरू जम्मा भइसकेपछि वलीले एकल निर्णय सुनाउँदै स्थायी समिति बैठक स्थगन गरेका थिए भने द्वितीय अध्यक्ष दाहालले आफ्नो एकल अध्यक्षतामा आफ्नो समूहका बहुमत सदस्यहरूसहित बैठक राखेपछि दुवै अध्यक्षबीच बोलचाल नै बन्द भएको थियो । बोलचाल नै बन्द भएपछि नराम्रो सन्देश जाने भएकाले बाटो फुकाउन आइतबार छलफल भए पनि वली झन्झन् जिद्दी बन्दै गएको निष्कर्ष दाहाल–नेपाल पक्षको छ । एक्लाएक्लै हुने संवादमा विश्वसनीयता घट्दै गएपछि आइतबारको छलफलमा दाहालले आफू पक्षका नेता झलनाथ खनाललाई र वलीले आफ्ना विश्वासपात्र सुवास नेम्बाङलाई साक्षी राखेर छलफल गरेका थिए तर कुनै निष्कर्ष ननिस्किएपछि दाहाल पक्ष निराश र आक्रोशित बन्दै बाहिरिएको थियो । साउन १३ को दाहालपक्षीय स्थायी समितिको बहुमतको बैठकले वलीको कार्यशैलीको तीव्र निन्दा गर्दै वलीसँग वार्ता र संवाद गरी सहमति कायम गराउने जिम्मा दाहाललाई दिएको थियो । वलीको ढिटका अगाडि दाहालको केही नलागेपछि दुवै नेताहरूबीच केही दिन बोलचाल नै बन्द भएको थियो । आइतबार भने संवादहीनताको अवस्था अन्त्य भएको छ ।

वली–दाहाल वार्तामा दुवै पक्ष आआफ्ना अडानमा बसेकाले नयाँ सहमति नबनेको बताइएको छ । दाहाल पनि वलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्नुपर्ने पहिलाको अडान फेर्दै दुईमध्ये एक पद छाडेर निकास दिन आग्रह गर्ने अवस्थामा झरेका थिए तर वलीले पहिलाको भन्दा कडा प्रतिवाद गर्दै दाहालको प्रस्ताव ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ ।

वलीसँग बालुवाटारमा छलफल गरेर फर्किएका दाहालले आफ्नो समूहका नेताहरूसँग आफू निराश बनेर फर्किएको बताएका छन् भने वलीले आफ्नो समूहलाई आफू अझै उत्साहित भएको बताएको स्रोतले जनाएको छ । वलीले एक्लै स्थगन गरेको स्थायी समिति बैठक अब कहिले बस्छ र निकास निकाल्छ भन्नेमा झनै द्विविधा बढेको छ । सचिवालयसमेत राख्न नमानेका वली वामदेवको गुट परिवर्तनपछि सचिवालय बोलाउनसम्म सहमत हुनसक्ने आँकलन गरिएको छ । वली–दाहाल विवाद बढिरहेको समयमा एक सय ५२ जना केन्द्रीय समिति सदस्यले केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाए पनि वली पक्षले त्यसलाई तिरस्कार गर्दै आएको छ । स्मरणीय छ, यतिबेलासम्म केन्द्रीय समिति र स्थायी समितिमा दाहाल–नेपाल–खनाल पक्षको बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :