हो, मैले विद्रोहको आगो सल्काएकै हो

हो, हरेक टोलबस्तीमा
सचेतनाको राँको जलाएकै हो
राष्ट्रप्रेमी नागरिकलाई मैले
यो आन्दोलनमा बोलाएकै हो ।

तिमी सक्छौ आऊ मलाई नेल लगाऊ
आऊ मेरा विचारमा प्रतिबन्ध लगाऊ
आऊ मेरो स्वाधीन स्क्वाडलाई दमन गरेर भगाऊ ।

तर ख्याल गर ६००० वडाबाट
मजस्तै कयौँ वीर युवाहरू
किसान र मजदुरहरू उठिरहेका छन्
हो, हेर त श्रमजीवी वर्गको
लामो लस्कर, लाखौँलाख
राष्ट्रियताका निम्ति आफैँ जुटिरहेका छन् ।

मैले तिमीले जस्तो
सत्ताको लोलुपतामा मान्छेको टाउको काटिनँ
हेर मैले तिमीले जस्तो
क्रान्तिकारीको लासैलासको
आफैँ मात्रै सत्तामा पुग्ने भ¥याङ बनाइनँ
टुलुटुलु हेरेर यो राष्ट्रियता बेचिँदा
सार्वभौमसत्ता बेचिँदा
मौन समर्थन कहिल्यै जनाइनँ ।

त्यसैले
तिमी क्रान्तिकारी ? वा म ?
तिमीले चिहानकै सहिदसँग सोध्नुपर्छ ।
मेरो मृत्युको रचना तिमीले गर्दैमा के भो र ?
म त युगौँयुग बाँचेर अनि यो क्रान्ति अघि बढ्छ ।

हो, मैले त्यही अमर विद्रोहको मशाल बालेकै हो
आऊ, मेरो झुटमुटको भिडन्तको मुचुल्का उठाऊ
महलमा बसेर मेरो क्रान्तिकारी साथीको लासमाथिी
सहिदका रगतले सिञ्चित त्यही
दलाल संसदीय व्यवस्थाको
उच्च रूपमा अधिनायकवाद बनेर उदाऊ ।
मेरो मशालको स्क्वाड तिम्रो दरबारनेर पुगेको छ
घन र हथौडा बोकेर तिम्रा ठूला पर्खाल तोड्दै
लाखौँको तिम्रो बेडमै
धारिलो हँसिया समातेर श्रमजीवी हातहरूले
तिम्रा घाँटीहरू रेट्नेछन् ।
हो, त्यतिबेला
तिम्रो धोकाबाट सहिद ग्रहण गर्न बाध्य चिहानबाट
मसँगै आएर क्रान्तिकारी साथी भेट्नेछन् ।
मीठो वर्गीय प्रेम र विजयको सङ्गीत सारङ्गीमा रेट्नेछन् ।
हो, एक दिन
तिम्रा घाँटी रेट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :