जेल र हिरासतमा फैलियो कोरोना

काठमाडौँ : नेपालका जेल र प्रहरीका हिरासतहरू कोरोना जीवाणुका ‘हब स्पट’ बन्न थालेका छन् ।
काठमाडौँको महिला केन्द्रीय कारागारमा १ सयभन्दा बढी कैदीबन्दी र बन्दीहरूमा कोरोना जीवाणुसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कारागार प्रशासनले भने उनीहरूलाई सिटामोल खुवाएर राखेको छ । कारागारमा सयौँजना समूहमा बस्ने भएकाले एकजना मात्र सङ्क्रमित भएमा महामारीकै रूप लिनसक्छ । सम्भावित सङ्क्रमितलाई अझसम्म पीसीआर परीक्षण गराएर सङ्क्रमितलाई एकान्तमा राख्ने, उपचार गर्ने र सङ्क्रमण नभएकालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षित राख्न आवश्यक हुन्छ । उनीहरूको तुरुन्त पीसीआर जाँच गर्न मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले माग गरेका छन् ।
उता सिराहा जिल्लाको लाहान इप्रकामा रहेका ७ जना थुनुवालाई पनि कोरोना सङ्क्रमण भएको छ । कारागार ऐनअनुसार प्रत्येकका लागि २ मिटर चौडाइ र ३ मिटर लम्बाइ भएको स्थान उपलब्ध गराउनुपर्छ । त्यो न्यूनतम् मापदण्ड पनि पु¥याइएको छैन । त्यसैगरी स्वास्थ्य मापदण्डअनुसार एक व्यक्ति र अर्को व्यक्तिबीच न्यूनतम् २ मिटर दूरी कायम भएको हुनुपर्छ । तर एउटै कोठामा २० देखि २५ जनासम्म थुनुवा राख्ने गरिएको छ ।
जेलहरूमा क्षमताभन्दा ३ गुणा बढी बन्दी र कैदी राखिएको छ । थुनुवा, कैदी र बन्दीलाई मास्क, सेनिटाइजर र साबुनको व्यवस्था छैन । नुहाउने र लुगा धुने पानीको अभाव छ । तर सरकारको त्यतातिर पटक्कै ध्यान गएको छैन । सरकार जबाफदेही र जिम्मेवार नहुँदा जेल र हिरासतहरू कोरोना जीवाणु महामारीको हब स्पट बन्दै गएका छन् । उनीहरूको जीवन जोखिममा परेको छ ।
यस्तै चितवनको भरतपुर जिप्रका, रौतहटको गौर जिप्रका, पर्साको वीरगन्ज जिप्रका, बाराको कलैया जिप्रका, सुनसरीको इनरुवा जिप्रका, बाँकेको नेपालगन्ज जिप्रकाका थुनुवामा पनि कोरोना सङ्क्रमण देखिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :