अमेरिकाविरुद्ध मुद्दा लड्दै चिनियाँ टिकटक

स्थापनाको छोटै समयमा लोकप्रिय बन्दै गएको चिनियाँ कम्पनी बाइट डान्सको टिकटक एप अमेरिकी सरकारविरुद्ध अदालतमा जाने भएको समाचार प्राप्त भएको छ ।
युवा र किशोर–किशोरीहरूमा लोकप्रिय बन्दै गएको भिडियो सेयरिङ एप टिकटकले प्रयोगकर्ताका डाटाहरू चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप अमेरिकाले लगाएको थियो । टिकटकले अमेरिकी सरकारविरुद्ध अगस्ट ६ को कार्यकारी आदेशविरुद्ध मुद्दा दिन लागेको बताइएको छ । उक्त आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाणिज्य मन्त्रालयलाई ४५ दिनभित्र अमेरिकामा बाइट डान्स कम्पनीसँग भइरहेका कारोबार तथा लगानीको विवरण पेस गर्नुपर्ने उल्लेख छ । यस्तो आदेश अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी कानुनविपरीत रहेको टिकटकको दाबी छ ।
छोटो भिडियो सेयर गरिने एप टिकटक र उसको निर्माता कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतमा मुद्दा हाल्न लागेको जानकारी रोयटर्सले दिएको हो । अगस्ट २४ अर्थात् भोलि टिकटकले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनको आदेशविरुद्ध अदालतमा मुद्दा दिने अन्तिम तयारी गरेको रोयटर्सले जनाएको हो । अमेरिका र चीनबीच व्यापारयुद्ध जारी छ ।
सन् २०२० को अगस्ट ११ तारिखमा अमेरिकी राष्ट्रपति ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए । ट्रम्पको आदेशपछि बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट, ओरेकललगायत कम्पनीसँग छलफल अगाडि बढाइरहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । टिकटक खरिद प्रक्रियामा बाइट डान्सका अमेरिकी लगानीकर्तासमेत सामेल हुने बताइएको छ । टिकटकले आफूलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौती भएको भनेर ह्वाइट हाउसले लगाएको आरोपविरुद्ध पनि मुद्दा दिने समाचारमा जनाइएको छ । अमेरिकाले चीनले विकास गरेको विच्याटलाई पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यी घटनाले अमेरिका र चीनबीचको व्यापारयुद्ध निकै चर्किएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :