कोरोना त्रास र निषेधाज्ञाका कारण रक्तदाता शून्य, रगत नपाउँदा बिरामीहरूको जीवन जोखिममा

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणको महामारीबाट उत्पन्न त्रास र लकडाउन तथा निषेधाज्ञाका कारण देशभर रगतको अभाव भएको छ । रक्तदाताहरूले रगत दिन नपाउँदा देशभर रगतको अभाव भएको र रगत अत्यावश्यक रहेका दुर्घटनामा परेका, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला रोगका बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरूको जीवन जोखिममा पर्दै गएको सम्बन्धित निकायले जनाएका छन् ।
बिरामीका लागि रक्त सङ्कलन र वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान हुन नसक्दा देशभर रगतको अभाव भएको जनाएको छ । सोसाइटीले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा न्यून मात्रामा रगत मौज्दात रहेको भन्दै रगत दान गर्न दाताहरूलाई अनुरोध गरेको छ ।
शनिबार रगत दान गर्न तयार गरिएका क्याम्पहरू निषेधाज्ञा र बन्दाबन्दीका कारण स्थगित भएको केन्द्रीय रक्तसञ्चार सेवाले जनाएको छ । रोगीका आफन्तहरू रगत लिन केन्द्रमा आए पनि रगत आपूर्ति गर्न नसकिएको सेवाले जनाएको छ ।
रगतको अभाव देशभर नै भएको छ । काठमाडौँ, पोखरा, धरान, विराटनगर, चितवनदेखि देशभरका अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूमा रगतको चरम अभाव भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने सुरक्षित ढङ्गले रक्तदान गर्दा–गराउँदा कोरोना भाइरस सङ्क्रमण नहुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :