सरकारी पार्टीको कार्यदल : हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौँ : विभाजनको मुखैमा पुगेको सरकारी नेकपाभित्रको किचलो थामथुम पार्न केपी वली, पुष्पकमल दाहाल र माधव नेपालका दुईदुईजना विश्वासपात्र राखेर गठन गरिएको कार्यदलको प्रतिवेदन हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुने सरकारी पार्टीकै नेताहरूले बताएका छन् । सकेसम्म शुक्रबार साँझसम्म र नभ्याए शनिबार दुई अध्यक्षलाई बुझाउने भनिएको उक्त प्रतिवेदन भागबन्डा र स्वार्थहरूबीचको टक्करका कारण विवादित बनेको सार्वजनिक भइसकेको छ ।

विवादकै बीच पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्री वलीले द्वितीय अध्यक्ष दाहाल र नेपाललाई कुनै वास्तै नगरी धमाधम राजनीतिक नियुक्ति गरेपछि वलीको बानी कसै गरे पनि नसुध्रिने भयो भन्दै दाहाल र नेपाल आक्रोशित बनेको स्रोतको भनाइ छ ।

समाचार स्रोतका अनुसार कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन, केही मुख्यमन्त्री परिवर्तन, राजनीतिक नियुक्तिमा भागबन्डाका कुराहरू टिपेर तयार पारेको टालटुले प्रतिवेदन बुझाउन लागेकाले यो हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुन लागेको हो । विवादको जडका रूपमा रहेको केपी वलीको हठी स्वभाव र जिद्दी कार्यशैली परिवर्तन गर्ने, वलीले दुवै पद त्याग गर्नेलगायत विषयमा कार्यदल प्रवेश नै नगरेको स्रोत बताउँछ ।

यसअघि त्रिशङ्कु कार्यदलका सदस्यहरू तीन नेताका कठपुतली भएकाले उनीहरूका बीचमा गम्भीर विवाद हुँदा कार्यदलले केही पनि ठोस सुझाव दिन नसक्ने सार्वजनिक भएको थियो ।

एक साताअघि सरकारी पार्टीभित्रको विवादको समाधानका लागि सुझाव दिन भन्दै कार्यदल गठन गरिए पनि त्यसको कार्यविधि र समयसीमा तोकिएको थिएन । कार्यदल घोषणा हुनासाथ पार्टीभित्रैका नेताहरू नेपाल, झलनाथ खनाललगायतले यसको औचित्य माग गर्दै दाहाललाई गम्भीर प्रश्नहरू राखेका थिए । कार्यदल गठन भएपछि पनि वलीले आफ्नो समूहका मानिसलाई भटाभट राजनीतिक नियुक्ति दिएको भन्दै दाहाल र नेपाल आक्रोशित बनेपछि दचहालले बिहीबार वलीलाई नियुक्तिहरू सच्याउन सुझाव दिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :