कुलमानको पदावधि २६ दिन बाँकी, उनीपछि विद्युत् प्राधिकरणमा को आउला ?

काठमाडाैँ : नेपाल विद्युत् प्राधिकरणमा केही सुधारात्मक काम गरेर राम्रो छवि बनाएका कुलमान घिसिङको कार्यकारीनिर्देशकको समयावधि सकिन २६ दिनजति बाँकी रहँदा अब उनीपछि को आउला र कस्तो काम गर्ला भन्ने चर्चा चुलिएको छ ।

विद्युत् माफियाहरूको चक्करमा परेर दिनको २० घन्टासम्म लोडसेडिङ खेपेका उपभोक्तलाई लोडसेडिङमुक्त गराउने प्रयास गरेर वाहवाही कमाएका कुलमानको समयावधि भदौ २९ गते सकिन लागेपछि अब कस्तो मान्छे आउला वा उनैको पुनरावृत्ति होला भनेर चर्चा चुलिएको हो ।

सअघि एउटा कर्मचारीको कामका बारेमा जनस्तरबाटै यति धेरै सकारात्मक चर्चा भएको पाइएको थिएन । जनतामारा व्यवस्था र सरकार भएको समयमा पनि एउटा कर्मारीले सरकारको इज्जत ढाकिदिन सक्दो रहेछ भन्ने उदाहरण बनेका थिए कुलमान । कुलमानलाई देखाएर धेरै मन्त्री र सरकारहरूको लाज ढाकिएको थियो । विद्युत् माफियाको चलखेलका कारण अब पनि त्यो लाज ढाकिएला कि उदाङ्गै होला, सबैतिर चासोको विषय बनेको छ ।

विद्युत् माफिया सरकार, मन्त्री र कर्मचारीहरूको चङ्गुलमा परेर थन्क्याइएका कर्मचारी कुलमान २०७३ साल भदौ २९ गते कार्यकारीनिर्देशक भएर विद्युत् प्राधिकरणमा आएका थिए । उनको ४ बर्से कार्यकालमा उनले राम्रै स्याबासी पनि पाए । त्यसैले उनको पुनः माग पनि बढेको छ तर प्राधिकरणमा अर्को माफिया घुसाएर फेरि मुलुकलाई अन्धकारतिर धकेलिन्छ कि भन्ने चिन्ता पनि कतिपयले गरेका छन् ।

स्रोतका अनुसार पहिले विद्युत्मा कृत्रिम कारण बनाई लोडसेडिङ गरेर कुस्त नाफा कुम्ल्याउन पल्केकाहरू पनि कुलमानलाई हटाएर आफू वा आफ्ना मान्छेहरू छिराउन प्रयास गरिरहेका छन् । कार्यकारीनिर्देशक हत्याउन कतिपयले प्रधानमन्त्री केपी वलीसम्म पहुँच पुर्याउन थालेको वा उनीनजिकका पात्रहरूलाई फकाइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार सरकारले पुनः जिम्मेवारी दिए आफू प्राधिकरण हाँक्न कुलमान पनि इच्छुक छन् ।

स्रोतका अनुसार विद्युत् प्राधिकरणको कार्यकारीनिर्देशक बन्नका लागि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली पनि लागेका छन् । प्राधिकरणमा विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह, प्राधिकरणका पूर्वकार्यकारीनिर्देशक मुकेश काफ्लेदेखि पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाट र उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसमेत लाम लागेको समाचार स्रोत बताउँछ । यी सबैको छवि विगतदेखि नै धुमिल रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :