नेकपाको पहलमा कालीकोटमा पुल निर्माण


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमा भत्किएको पुल निर्माण गरेको छ ।

गत साउन १३ गतेको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका हुन् ।

गत साउन १३ गते अविरल वर्षासँगै फुगाडमा आएको बाढीले कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचाल झरना गाउँपालिका जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि रास्कोट नगरपालिका, पचाल झरना गाउँपालिका, पलाँता गाउँपालिका हुँदै बाजुरासम्म जाने स्थानीय बासिन्दालाई खोलो तर्न समस्या परेको थियो ।

खोलाआसपासका मानिसहरूले फलामे रडले मान्छे तारेको तीन सय र भारी तारेको ५ सय रुपैयाँसम्म लिने गरेको र ज्यानै जोखिममा राखेर खोलो तर्नुपर्ने बाध्यता थियो । नेकपाका कार्यकर्ताले पुलका फलामका डन्डी र ढुङ्गा प्रयोग गरी कच्ची पुल निर्माण गरेर खोला तर्न सजिलो पारेका हुन् ।

नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीको नेतृत्वमा जिल्ला सेक्रेटरी मनिला ऐडी ‘रणदीप’, जनवर्गीय सङ्गठनका प्रमुखहरूलगायत नेता तथा कार्यकर्ताहरूको जनश्रमदानमा नागरिकको सहजताका लागि पुल निर्माण गरेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :