कोरोना सङ्क्रमणबाट भारतका अर्का मन्त्री पनि मरे

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमणबाट भारतमा एक मन्त्रीको ज्यान गएको छ । भारतको उत्तरप्रदेशका सैनिक कल्याण, होमगार्ड र नागरिक सुरक्षामन्त्री चेतन चौहानको मृत्यु भएको हो ।

पूर्वभारतीय क्रिकेटरसमेत रहेका ७२ वर्षीय चौहानको कोरोनाका कारण मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

मन्त्री चौहानलाई १९ जुलाईमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुरुग्राम मेदान्त अस्पतालमा उपचार हुँदै आएको थियो । उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि केही दिनदेखि चौहानलाई कृत्रिम श्वासप्रश्वासको व्यवस्था गरी राखिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री चौहानको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । मोदीले चौहानलाई शानदार क्रिकेटरका रूपमा स्मरण गर्दै पछि मेहनती राजनेता बनेको बताएका छन् ।

यसअघि पनि भारतमा एकजनामन्त्रीको कोरोनाकै कारण मृत्यु भैसकेको छ । कोरोना सङ्क्र्रमणका कारण भारतको उत्तरप्रदेशकी प्रविधि शिक्षामन्त्री कमलारानी वरुणको मृत्यु भइसकेको छ ।

यस्तै भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पनि स्वास्थ्य अवस्था निकै गम्भीर छ । उनलाई कोमामा राखिएको छ ।

कोरोना भाइरस सङ्क्रमण हुनेमा विश्वमा तेस्रो नम्बरमा रहेको भारतमा यो विवरण तयार पार्दासम्म ५१ हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने साढे २६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । निको हुनेको सङ्ख्या भने १९ लाख २० हजारको सेरोफेरोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :